स्थान विवादले समानान्तर स्वास्थ्यचौकी

बागलुङ-स्थान छनोटका विषयमा स्थानीयबीच सहमति हुन नसके पछि जिल्लाको काँठेखाला गाउँपालिका–३ धम्जामा समानान्तर दुईवटा स्वास्थ्य चौकी भवन बन्ने भएका छन् । स्वास्थ्य चौकी भवन निर्माण कहाँ बनाउने भन्ने विषयमा स्थानीयको लामो समयको विवादलाई समाधान गर्न समानान्तर दुईवटा भवन बनाउन लागिएको हो ।
धम्जामा स्थास्थ्यचौकी भवन निर्माणका लागि २०७१ साल मंसिर ५ गते स्वास्थ्य सेवा विभागले स्वीकृति प्रदान गरेको थियो । कहाँ बनाउने भन्ने विषयमा स्थानीयबीच विवाद भएपछि हालसम्म काम अगाडि बढ्न सकेको छैन । स्थानीयको स्थान विवादका कारण लामो समयदेखि काम अगाडि बढ्न नसकेको स्वास्थ्य चौकी भवन निर्माणका लागि दुवै पक्षलाई मान्य हुने गरी दुईवटा समानान्तर भवन निर्माण गरेर विवादको समाधान खोज्न लागिएको प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले बताए । हाल स्वास्थ्यचौकी रहेको स्थानमा स्वास्थ्य विभागबाट स्वीकृत भवन र स्थानीयको मागअनुसार सायाकटेरामा बहुउद्देश्यीय भवन बनाएर स्वास्थ्य इकाई स्थापना गर्ने गरी समस्याको समाधान गर्न लागिएको उनको भनाइ छ ।
स्थानीयको स्थान विवादका कारण लामो समयदेखि काम अगाडि बढ्न नसकेको स्वास्थ्य चौकी भवन निर्माणका लागि दुवै पक्षलाई मान्य हुने गरी दुईवटा समानान्तर भवन निर्माण गरेर विवादको समाधान खोज्न लागिएको छ ।
–इन्द्रलाल सापकोटा
सांसद, प्रदेशसभा
बहुउद्देश्यीय भवन बनाइने
स्वास्थ्य इकाई स्थापनाका लागि स्वास्थ्य सेवा विभागबाट स्वीकृति आइसकेकाले भवनको विवाद समाधान गर्न प्रदेश सरकारले आगामी बजेटमा बहुउद्देश्यीय भवनका लागि बजेटको व्यवस्था गर्ने तयारी गरिरहेको छ । “एउटै वडामा दुई वटा स्वास्थ्य चौकी भवन बनाउन अलि कठिन छ,” साापकोटाले भने, “बहुउद्देश्यीय भवन बनाएर स्वास्थ्य इकाईलाई प्रयोग गर्न दिने विकल्प रोजेका छौं ।” प्रदेशसभाको आर्थिक वर्ष ०७५/७६ को बजेटले भवनलाई सम्बोधन गर्ने भएकाले आगामी साउनपछि दुवै भवन समानान्तर रूपमा बन्ने र समस्याको समाधान हुने सापकोटाको विश्वास छ ।
टेन्डर भए पनि काम हुन सकेन
स्थानीयको विवादका कारण टेण्डर भएर पनि काम अगाडि बढ्न नसकेको स्वास्थ्य चौकीको समस्या समाधानका लागि गाउँपालिका तहबाट पहल गरिए पनि समस्या समाधान हुन सकेको थिएन् । “हामीले धेरै प्रयास गरेका हौं तर विवाद सुल्झाउन सकिएन,” गाउँपालिका अध्यक्ष अमर थापाले भने, “प्रदेश सरकार वा केन्द्र सरकारलाई समस्याको समाधान खोज्न भनिएको छ स्वास्थ्य इकाई स्थापना र भवन निर्माणको विषय सम्बोधन भए विवाद सुल्झिन्छ ।” स्वास्थ्य इकाईका लागि विभागबाट स्वीकृत भइसकेको र कर्मचारीको व्यवस्थापन गाउँपालिकाले गर्ने भएकाले भवनको विषयमा उपल्लो तहका सरकारले सम्बोधन गरी दिए समस्या समाधान हुने थापाले बताए ।
डिभिजन कार्यालय बागलुङले टेन्डर प्रक्रियाबाट भवन बनाउने जिम्मा ठेकेदार कम्पनीलाई दिइसकेको भए पनि कहाँ बनाउने भन्ने विषयमा विवाद भएपछि भवन निर्माणको काम स्थगित गरिएको छ । हाल स्वास्थ्यचौकी रहेको धम्जा देउराली छेउमा रहेकाले स्थान परिवर्तन गर्नुपर्ने एकथरिको माग रहेको छ भने साविककै ठाउँमा नयाँ भवन निर्माण गर्नुपर्ने अर्कोथरीको मागका कारण तीन वर्षदेखि भवन निर्माणको काम सुरु हुन सकेको छैन । “निर्माणस्थलको विवादका कारण निर्माण कम्पनीले काम अगाडि बढाउन सकेको छैन,” भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर तेजेन्द्र पौडेलले भने, “सँगै सुरु भएका जिल्लाका अन्य स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भइसक्दासमेत धम्जाको काम सुरु गर्न सकिएको छैन ।”
डिभिजन कार्यालयले निर्माण कम्पनीलाई भवन निर्माणस्थल देखाउन नसक्दा बजेटभन्दा माथि गएर कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था आउन सक्ने पौडेलले बताए । धम्जा देउरालीमा रहेको स्वास्थ्यचौकी सर्वसाधारणको पहुँचमा नरहेको भन्दै स्थानीयले सायाकटेरामा भवन निर्माणका लागि ४ रोपनी जग्गासमेत स्वास्थ्य चौकीको नाममा खरिद गरिसकेका छन् । प्रदेश सरकारले व्यवस्था गरेको बजेटका आधारमा दुवै भवन बनेपछि धम्जा देउरालीमा स्वास्थ्यचौकी भवन र सायाकटेरामा स्वास्थ्य इकाई स्थापना हुनेछ ।
–त्रिलोचन रिजाल