Logo

समयमा काम नगर्ने ठेकेदार अधिकारी प्रजिअको कार्यकक्षमा

दमौली-विभिन्न ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तनहुँस्थित मना निर्माण सेवाका सञ्चालक महेन्द्र अधिकारी प्रमुख जिल्ला अधिकारीकै सामु नाटकीय रूपमा देखापरेका छन् । उनले ठेक्का लिएका तनहुँ, गोरखालगायतका जिल्लामा सञ्चालनमा रहेका झोलुंगे पुल, सडक पुल, सडक, भवन निर्माणलगायतका काम अलपत्र छ । आइतबार निर्माण व्यवसायी संघ तनहुँले व्यवसायीलाई धरपकड नगर्न माग गर्दै प्रजिअमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदा काम समयमा पूरा नगरेर बदनाम कमाएका ठेकेदार अधिकारी पनि उपस्थित थिए ।
अधिकारीले ठेक्का लिएका तनहुँका ३ वटा योजनामा ढिलाइ भएको छ । स्वच्छन्द–मना जेभीले ठेक्का लिएको दमौलीस्थित महिला तथा बालबालिका कार्यालय भवन, श्रृंगपथ सडक र चुँदीखोला पुल निर्धारित मितिमा सम्पन्न हुन सकेको छैन । यसैगरी मनाले ज्वाइन्ट भेन्चर(जेभी)मा ठेक्का लिएको पाल्पा–स्याङजा र गुल्मी जोड्ने नेपालमा नै पहिलोपटक निर्माणाधीन ट्रिज (तीन जिल्ला जोड्ने पुल) पनि अलपत्र छ । साविकको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले बनाउँदै गरेको उक्त ट्रिजको कार्य प्रगति सन्तोषजनक नरहेको विभागले जनाएको छ ।
यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिको मुलुपानीखेतफाँट र गोरखा नगरपालिका–१३ सिम्लेफाँट जोड्ने पक्की पुल पनि अलपत्र छ । पुलको कार्यप्रगति लक्षित समयमा नभएपछि स्थानीय उपभोक्ता समूहले पाँच महिनाअघि लिखित उजुरी गरेको डोलिडारको पुल शाखाले जनाएको छ । उक्त पुलको असार मसान्तसम्म ४ वटै पिल्लर निर्माण गरेर सक्नुपर्नेमा दुईवटा पनि पूरा भएको छैन । स्वच्छन्दलगायत अन्य दुई कम्पनीको जेभी रहेको मनासँग पक्की पुल बनाउने अनुभव नै नभए पनि पहुँचको आधारमा ठेक्का हाता पारेको थियो । अधिकारीको कम्पनीले पुल निर्माणमा खटिएका मजदुरलाई पैसा नदिने र स्थानीय होटलमा खाए बसेको पैसासमेत तिरेको छैन । सिम्लेफाँटका स्थानीयले गोरखा जिल्ला प्रशासन कार्यालयमा अधिकारीविरुद्ध काममा ढिलासुस्ती गरेको भन्दै उजुरी पनि गरेका छन् । अधिकारी कांग्रेस नेता रामचन्द्र पौडेलका आफन्त हुन् । पुल शाखाले मना कम्पनीले जेभीमा लिएका कामको कार्यप्रगति लक्ष्यअनुसार नरहेको जनाएको छ । उनले जेभीमा कागजात मिलाउँदै आएको स्वच्छन्द निर्माण कम्पनीका मालिक पनि कांग्रेस नेता जयराम लामिछाने हुन् । स्वच्छन्दले मनासँग जेभीमा गरेका कामको फिल्ड अनुगमन नगर्दा काममा ढिलासुस्ती हुने गरेको हो ।
संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समयमा प्रहरी प्रशासनले निर्माण कार्यमा ढिलाइ गरेको, गुणस्तरयुक्त कार्य नगरेको आधार देखाई पक्राउ गर्ने कार्य गरेकोले उक्त कार्य रोक्न माग गरेको हो । सरकारले काममा ढिलाइ गर्ने व्यवसायीको सूची तयार गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि तनहुँबाट समेत काम नगर्ने व्यवसायीको विवरण गृह मन्त्रालय पठाइएको छ ।
ज्ञापनपत्रमा निर्माण व्यवसायीलाई पक्राउ गर्ने कार्य भइरहेको र उक्त कार्य नेपालको संविधान, सार्वजनिक खरिद ऐन, नियमावली करार ऐन, निर्माण व्यवसायी ऐन र मौलिक हकसम्बन्धी कानुनविपरीत भइरहेकाले विधि, कानुन र प्रत्रिया सम्मत अध्ययन अनुसन्धान गर्न माग गरिएको छ । भौतिक पूर्वाधारसँग सम्बन्धित निर्माण आयोजनाहरू समयमै सम्पन्न नभएका कारण भएको क्षति र त्यसको संवेदनशिलतामा आफूहरू गम्भीर भएको बताउँदै ज्ञापनपत्रमा निर्माणका काममा आफूहरूको मात्रै लापरबाही नभई सरकारी पक्षको पनि दोष रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार आयोजनाहरूको समयावधि लम्बिनु र समयमै सम्पन्न नहुनुको पछाडिका कारणसमेत खुलाएर बुझाइएको ज्ञापनपत्रमा ती समस्याको स्थायी समाधान नभएसम्म निर्माणको काम छिटो सक्न कठिनाइ हुने देखिएको ज्ञापनपत्रमा जनाइएको छ ।

किन रोकियो सडक विस्तार ?
व्यास नगरपालिकाले पृथ्वीराजमार्गको नगर क्षेत्रभित्र अतिक्रमित संरचना हटाउने सूचना निकालेको ६१ दिन पूरा भएको छ । व्यास नगरपालिकाले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरेर राजमार्गको केन्द्रविन्दुबाट ७५ फिटभित्रका सबै संरचना हटाउन अनुरोध गरेको थियो ।
तर ६१ दिन बित्दासमेत नगरपालिकाले आफ्नै सूचना कार्यान्वयनमा ध्यान दिएको छैन । सूचना जारी गरिसकेपछि नगरपालिकाले वैशाख २१ गते शुक्रबार नगरपालिकाकै सभाहलमा सरोकारवालाको भेला राखेर सूचना बारेसमेत जानकारी गराएको थियो । उक्त भेलामा सरोकारवाला सर्वसाधारण राजमार्गमा अतिक्रमित संरचना हटाउन सहमत भएका थिए ।
नगर कार्यपालिकाको २०७४ चैत २२ गतेको बोर्ड बैठकको निर्णयअनुसार नगर क्षेत्रभित्र पृथ्वीराजमार्गमा पर्ने वडा नम्बर १२, १, २, ३, ४ र ५ मा पृथ्वीराजमार्गको केन्द्रविन्दुबाट दायाँबायाँ दुवैतर्फ ७५ फिट भित्र निर्माण गरिएका संरचना हटाउने निर्णय भएको थियो ।
सार्वजनिक सडक ऐन २०३१ को दफा १९ मा सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउने, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्ने वा भत्काउने, किला, लठ्ठा तगारो आदि गाड्ने वा हाल्ने वा घर, टहरो वा छाप्रो बनाउने वा सडक सीमा क्षेत्रभित्रको जग्गा आवादी गर्न वा त्यस्तै अन्य कुनै कार्य गर्न नहुने उल्लेख गरिएको छ ।
नगर प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले सडक डिभिजनले समेत सूचना निकालेको कारण नगरपालिकाले केही समयका लागि सडक विस्तार स्थगित गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्