Logo

इन्टरनेटमा चीनतर्फको विकल्प तयार

नेपाल टेलिकमले इन्टरनेट ब्यान्डविथमा भारतसँगको निर्भरता घटाउन अघि सारेको विकल्पको सबै तयारी पूरा भएको छ । उत्तरी छिमेकी चीनबाट पहिलोपटक ल्याउन लागिएको इन्टरनेट ब्यान्डविथका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइ परीक्षणको कामसमेत सम्पन्न भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यसबाट परनिर्भरताको अन्त्यसँगै उपभक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नसमेत सहज भएको छ ।
केरुङ नाकाबाट ल्याइने इन्टरनेट ब्यान्डविथका लागि हाल दुवै देशले आफ्नातर्फबाट प्रावधिक काम पूरा गरी परीक्षण्समेत सफल भएको जनाइएको छ । यससँगै चालू महिना (डिसेम्बर)भित्रै चीनको इन्टरनेट उपभोक्तालाइ दिइसक्ने टेलिकमको तयारी छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले चीनबाट ल्याइन लागेको इन्टरनेटका लागि परीक्षण सफल भइ अब व्यावसायिक सेवा सुचारुका लागि अन्तिम सम्झौता हुने चरणमा रहेको जानकारी दिएका छन । “हाम्रो तर्फबाट सवै काम सकिएको छ, सेवा शुभारम्भका लागि चाइना टेलिकम ग्लोबललाई अनुरोध गरेका छौं,” उनले भने । टेलिकमले चाइना टेलिकम ग्लोवलसँग इन्टरनेट ब्यान्डविथ खरिद गरी इन्टरनेट सेवालाई वहुपक्षीय मार्गमा लैजान लागेको हो । नेपालमा इन्टरनेट व्याण्डविथ पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार नेपाल–चीन इन्टरनेट कनेक्टिभिटी सञ्चालनमा ल्याउन लागिएको छ । नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि २०७३ पुसमा सम्झौता भएको थियो । टेलिकमले केरुङ नाकाबाट टेरेस्टोरियल केबलमार्फत इन्टरनेट ल्याउनेछ ।
टेलिकमले अहिले विराटनगर, जोगवनी, रक्सौल र सुनौली नाका हुँदै भारतबाट इन्टरनेट ब्यान्डविथ ल्याइरहेको छ भने उत्तरी छिमेकीबाट पनि पहिलोपटक ल्याइएको हो । दूरसञ्चार र प्रविधिका क्षेत्रमा भएका पछिल्ला विकाससँगै अबको व्यवसाय डाटामार्फत नै अघि बढ्ने भएकाले इन्टरनेटमै लगानी विस्तार तथा सेवामा गुणस्तरीयता कायम गर्नुको विकल्प नभएको टेलिकमले जनाएको छ । “विश्वव्यापी रूपमा पनि डाटाको माग बढेको छ, नेपाली उपभोक्ताले पनि डाटामा नयाँ सेवा खोजेका छन्,” सहप्रवक्ता अधिकारी भने, “हामीले इन्टनेटमा के के नयाँ सेवा थप्न सकिन्छ भनेर अध्ययन गरेका छौं, ‘डाटा सेन्ट्रिक’ हुने कम्पनीको अबको रणनीति हो ।” पछिल्लो पटक टेलिकमले मोबाइलमार्फत लाइभ टिभी र मुभी तथा विभिन्न विधाका भिडियो तथा रेडियो सुन्न सकिने एउटै मोवाइल एप्स ‘वाउटाइम’ ल्याएको छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १ सय ३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकताअनुसार थप्दै जाने योजना छ । त्यसैगरी विभिन्न विधाका फिल्म, म्युजिक भिडियो तथा टिभी शोहरू पनि हेर्न सकिने टेलिकमले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकाल इन्टरनेट ब्यान्डविथमा एउटै देशसँग भन्दा विकल्प तयार गर्दा कम्पनी र ग्राहक दुवैका लागि फाइदाजनक हुने बताउँछन् । यसबाट एकातर्फ शुल्कमा प्रतिस्पर्धा हुने र अर्कातर्फ सेवामा गुणस्तरियता कायम हुने उनको भनाइ छ । चीनबाट ल्याउन लागिएको इन्टरनेटले कम्पनीलाई एकातर्फको मार्गमा समस्या भएको अवस्थामा पनि अर्काे मार्गबाट व्यान्डविथलाई निरन्तरता दिन सकिन्छ । नेपालबाट ब्यान्डविथमा मात्रै वार्षिक करिब ३ अर्ब रुपैयाँ बाहिरिने गरको छ । जसमध्ये अप्टिकल फाइबरबाट २ अर्ब तथा सेटलाइटबाट १ अर्ब रुपैयाँ बाहिरिने गरेको तथ्यांक छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार १ करोड ६३ लाख १६ हजार इन्टरनेट प्रयोगकर्तामध्ये ८६ लाख ग्राहक नेपाल टेलिकमका मात्रै छन् । टेलिकमले एडिएसएल, जीपीआरएस, थ्रिजी, फोरजी, सिडीएमए, इभिडिओ, वाइम्याक्समार्फत इन्टरनेट सेवा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्