बन्दिपुरमा बन्ने भ्युटावरको डिपिआर तयार

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा बन्ने भ्युटावरको डिपिआर तयार भएको छ । बन्दिपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउने उद्धेश्य सहित रानीवन क्षेत्रमा भ्युटावर बनाउन लागिएको हो ।
भ्युटावरको डिपिआर (विस्तृत सम्भाव्यता अध्ययन) भइसकेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । ‘बन्दिपुर आफैमा एउटा भ्युटावर हो,’ उनले भने, ‘तर सुविधासम्पन्न होटल सहितको भ्युटावरको निर्माण प्रक्रिया अघि बढेको छ ।’ डुम्रे भन्सार साना शहरी आयोजनाले भ्युटावरको डिपिआर तयार गरिसकेको र बजेट आउने बित्तिकै निर्माणको काम थाल्ने तयारी गरिएको छ । करिब १२ करोडको लागतमा भ्युटावर बन्नेछ ।
वैशाखदेखि श्रावणसम्म कम पर्यटक आउने बन्दिपुरमा असोज÷कार्तिकदेखि पर्यटकको बाक्लो चहलपहल हुने गर्दछ । जाडोयाम सुरु हुने बेलामा बन्दिपुरमा विदेशी पर्यटकको बढि चाप रहन्छ ।
बन्दिपुर घुम्न आएका मध्ये अधिकांश पर्यटकले बन्दिपुरमा बास बस्ने गरेका छन् । बन्दिपुरमा पिकनिकको लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् । ‘पिकनिकका लागि आउने विद्यार्थी बाहेक अन्य सबैले बन्दिपुरमा एक रात भनेपनि बिताउने गरेका छन्,’ पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ्गले भने, ‘बन्दिपुर सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ ।’
बन्दिपुरमा ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड ईन, बन्दिपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेल लगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलहरुमा एकै पटक १ हजार ३ सय देखि १ हजार ४ सय पर्यटकले रात बिताउन सक्नेछन् ।
बन्दिपुर पर्यटक धान्न नसक्ने अवस्थामा पुग्यो
गाउँपालिकाका अध्यक्ष थापाले बन्दिपुर पर्यटक धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँछन् । ‘बन्दिपुरमै यसको विकल्प खोजी भइसकेको छ,’ उनले भने, ‘बन्दिपुर जस्तै अर्को बन्दिपुर बनाउने योजनामा लागेको छु ।’ थापाका अनुसार नयाँ वर्षमा पर्यटकको चापका कारण धेरैले होटल पाएनन्, जसका कारण उनीहरु बन्दिपुरबाट यत्तिकै फकिर्नुप¥यो । ‘पर्यटकलाई यहाँ राख्ने वातावरण बनाउन अर्को बन्दिपुरको कल्पना मैले गरेको छु,’ उनले भने, ‘अहिलेको बन्दिपुर भन्दा पनि प्राचिन तरिकाको अर्को विकल्प बनाउने योजनामा छु ।’