तनहुँका प्रदेशसभा सदस्यका उम्मेदवार भन्छन्— «

तनहुँका प्रदेशसभा सदस्यका उम्मेदवार भन्छन्—

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा प्रदेशसभातर्फ चार क्षेत्र छन् । प्रदेशसभामा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म चुनावी मैदानमा छन् । जिल्लामा कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तनहुँ क्षेत्र नं. १ ‘क’ मा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र वाम गठबन्धनका तर्फबाट रामबहादुर गुरुङ तथा १ ‘ख’ मा कांग्रेसका तर्फबाट रघुनाथ पौडेल र वाम गठबन्धनका तर्फबाट हरिबहादुर चुमानबीच प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ । त्यस्तै क्षेत्र नं. २ ‘क’ मा कांग्रेसका तर्फबाट प्रदीप पौडेल र वाम गठबन्धनका तर्फबाट आशा कोइराला तथा २ ‘ख’ मा कांग्रेसका तर्फबाट धु्रव वाग्ले र वाम गठबन्धनका तर्फबाट किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । यही सन्दर्भमा उनीहरूका चुनावी एजेन्डाका बारेमा कारोबारकर्मी कृष्ण न्यौपानेले गरेको कुराकानीको सार :

प्रत्येक घरमा खानेपानी पुर्याउछु


गोविन्द भट्टराई
प्रदेशसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
तनहुँ क्षेत्र नं. १ ‘क’
नेपाली कांग्रेसले बनाएको विकासका एजेन्डा कार्यान्वयन गर्नका लागि म उम्मेदवार बनेको हुँ । नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र र त्यहीअन्तर्गत गरिने काम नै मेरा मुख्य एजेन्डा हुन् । त्यसबाहेक मेरा केही व्यक्तिगत एजेन्डा पनि छन् । प्रत्येक घरमा खानेपानी पु¥याउने मेरो लक्ष्य छ । किनभने म लामो समयदेखि यही अभियानमा छु । खानेपानीको अभियन्ताका रूपमा मेरो परिचय स्थापित भएको छ । मेरो व्यक्तिगत पहलमा तनहँ क्षेत्र नम्बर १ मा झन्डै सवा अर्बको खानेपानी योजना अहिले सञ्चालन भइरहेको छ । त्यसबाहेक जीर्ण बिजुलीको पोल विस्थापित गरी नयाँ पोल राख्ने पनि मेरो एजेन्डा हो । किसानहरू अहिले व्यावसायिक छैनन् । धान, मकै र कोदो लगाउने अहिलेको प्रचलनको सट्टा कुन जमिनमा कुन खेती हुन्छ भन्ने परीक्षण गरेर त्यसैअनुसार खेती लगाउन प्रोत्साहन गर्ने, प्रमाणपत्र दिने, मोटरबाटोले नजोडेका गाउँहरूलाई मोटरबाटोले जोड्ने, हरेक विद्यालयमा १० लाखदेखि ३० लाखसम्मको आधुनिक पुस्तकालय स्थापना गर्ने, ई–लाइब्रेरीको स्थापना गर्ने, स्वास्थ्यचौकी र अस्पतालहरूमा पनि हेल्थ लाइब्ररीको स्थापना गर्ने मेरो प्राथमिकताका क्षेत्रहरू हुन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार पनि मैले प्राथमिकतामा राखेको छु ।दमौली बजारमा राम्रो अस्पतालको आवश्यकता छ, यसैलाई शय्या थप गरेर हुन्छ कि नयाँ बनाएर हुन्छ, त्यसतर्फ लागिपर्छु । सामुदायिक विद्यालयको पढाइलाई सुधार तथा सहरीकरण हुँदै गएका गाउँहरूको व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो । भानु नगरपालिकाको डुम्रे–भन्सार साना सहरी आयोजनाअन्तर्गत १ लाख जनता बस्न मिल्ने गरी नमुना सहर बनाउने कार्यक्रम आएको छ । उक्त ठाउँमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्यालय आदि सबैको व्यवस्थापन गर्नुपर्ने हुन्छ । डुम्रे भन्सारलाई लक्षित गरी मेरै पहलमा हालै मात्र ७० करोडको डुम्रे भन्सार साना सहरी खानेपानी आयोजना सुरु भएको छ । त्यसलाई पूर्णता पनि दिनुपरेको छ । उक्त ठाउँमा सम्पन्न सहरले प्राप्त गर्ने सबै सुविधा दिलाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छु ।

औद्योगिक र शैक्षिक केन्द्रका रूपमा विकास गर्नेछु


हरिबहादुर चुमान
प्रदेशसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन
तनहुँ क्षेत्र नं. १ ‘ख’ 
सडक, विद्युतीकरण र खानेपानीजस्ता विकासका पूर्वाधार व्यवस्थित गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ । अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधानलाई मैले प्राथमिकतामा राखेको छु । छिम्केश्वरी, व्यास गुफा, छाब्दी, आँधीमूल, अकला र छिपछिपे लेकको घण्टाचुलीलाई अन्तर्राष्ट्रिय पवित्र धार्मिक स्थल र पर्यटकीय केन्द्रको छवि बनाउन थालेको देवघाट र बन्दिपुरसँग जोडेर एउटै मालामा उन्ने गरी प्राकृतिक, ऐतिहासिक र धार्मिक पर्यटकीय केन्द्रहरूको विकास गर्ने तथा व्यवस्थित गर्ने योजना प्रस्तुत गर्दै आएको छु । कृषि उत्पादनको आधुनिकीकरण र व्यवसायीकरणका साथै आँबुखैरेनी गाउँपालिकामा एउटा औद्योगिक क्षेत्रको निर्माण गर्ने उद्घोष गरेको छु । आँबुखैरेनी, बन्दिपुर र व्यासलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नुका साथै हस्पिटलको सहर बनिरहेको भरतपुर महानगरको प्रभाव र पहुँचलाई कम्तीमा पनि आँबुखैरेनीसम्म विस्तार गर्ने योजना बनाएको छु । हजारौं युवालाई रोजगारी दिन सकिने र वृद्धवृद्धाहरूको सम्मान र व्यवस्थापन गर्दै आत्मनिर्भर र समृद्ध तनहुँ निर्माण गर्न सकिनेमा विश्वस्त र प्रतिबद्ध छु ।

समृद्ध प्रदेश बनाउन लागिपर्नेछु


प्रदीप पौडेल
प्रदेशसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
तनहुँ क्षेत्र नंं. २ ‘क’ 

प्रदेशको समग्र विकासका लागि नै म उम्मेदवार बनेको हुँ । हाम्रो क्षेत्र विकासका दृष्टिकोणले पछाडि परेको छ । आर्थिक समृद्धि, रोजगारीको अवसर सिर्जनालगायत अहिलेका ज्लवन्त समस्या हुन् । म लामो समय विद्यार्थी आन्दोलन र राष्ट्रिय राजनीतिमा समेत संलग्न भएका कारण यी समस्या समाधानका लागि बढी योगदान गर्न सक्छु भन्ने लागेको छ । सार्वजनिक पदमा नबस्दासमेत यो क्षेत्रमा मैले केही काम गरेको छु । त्यो कुरा यहाँका जनतालाई प्रस्ट रूपमा थाहा छ ।यो अथाह सम्भावना भएको क्षेत्र हो । त्यो सम्भावनालाई प्रयोगमा ल्याउनका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने सोच बनाएको छु । समग्र ४ नम्बर प्रदेशकै केन्द्रका रूपमा यो क्षेत्र विकास हुन सक्छ । ४ नम्बर प्रदेशमा क्षमताअनुसारको विद्युत् उत्पादन गरेर समृद्ध बनाउने, त्रिवेणी नाकाबाट भारत र कोरलाबाट चीनलाई सहज ढंगबाट यातायात सञ्जालले जोड्ने तथा उत्पादित वस्तु भारत र चीनको बजारमा समेत पु¥याउने योजना छ । त्यसैगरी पोखराको फेवातालजस्तै मादी नदीलाई थुनेर ताल बनाउन पहल गर्ने, लेकसाइडजस्तै दमौलीलाई पनि पर्यटकीय स्थल बनाउन पहल गर्ने, विदेश गएका युवालाई फर्काउने वातावरण बनाउने तथा उनीहरूलाई यहीँ रोजगारी दिने वातावरण तयार गर्ने योजनाका साथ म यस क्षेत्रमा लागिपरेको छु ।

युवालाई रोजगार, महिलालाई आत्मनिर्भर बनाउछु


आशा कोइराला
प्रदेशसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन
तनहुँ क्षेत्र नंं. २ ‘क’

 समग्र महिलाको प्रतिनिधित्व गर्दै मैले यस क्षेत्रमा उम्मेदवारी दिएको हुँ । अन्य पार्टीबाट तनहँुमा महिला उम्मेदवार हुनुहुन्न । वर्तमान सरकारमा महिला तथा बालबालिका मन्त्री भएर समेत मैले यस ठाउँको विकासका लागिसमेत काम गरेको छु । यस प्रदेशअन्तर्गतका रणनीतिक महत्वका सडकहरू मापदण्डअनुरूप निर्माण गरी कालोपत्रे गर्ने तथा मुख्य–मुख्य ठाउँहरूमा मोटरेवबल पुल निर्माण गर्ने योजना बनाएको छु ।
चार नम्बर प्रदेशको राजधानी पोखराबाट मन्त्रालय र विभागका केन्द्रहरूलाई यस क्षेत्रमा पनि विस्तार गराउन पहल गर्नेछु । सेती नदीलाई आधार मानी आउने नदीमा जलाधार क्षेत्रको संरक्षण गरी कृषि, मत्स्यपालन तथा पर्यटनलाई व्यवस्थित गर्ने, उत्पीडित महिलाहरूको संरक्षण र आममहिलालाई आत्मनिर्भर बनाउन बहुआयामिक महिला पुनःस्थापना केन्द्र स्थापना गर्ने, बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक विकासका लागि प्रत्येक टोलमा पूर्वप्राथमिक शिशु स्यहार केन्द्र स्थापना गर्ने मेरा प्राथमिकताहरू हुन् । त्यस्तै, युवाहरूलाई स्वदेशमा रोजगारी सिर्जना गर्न ठूला उद्योगहरू स्थापनामा विशेष पहल गर्नेछु । पर्यटनको विकासका लागि धार्मिक, ऐतिहासिक स्थल तथा विभिन्न जातजातिको सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गरी यसको विकास, सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार विकास र आवश्यक शिक्षक दरबन्दी सिर्जना गरी शैक्षिक गुणस्तर वृद्धि गर्दै व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिनेछु ।

विकासको उज्यालो छर्नेछु

धु्रव वाग्ले
प्रदेशसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
तनहुँ क्षेत्र नंं. २ ‘ख’

यतिबेला हामी इतिहासको विभिन्न समयमा नेपाली कांग्रेसको नेतृत्वमा भएका आन्दोलन र त्यसका उपलब्धिलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजाने महत्वपूर्ण घडीमा छौं । संविधानको पूर्ण कार्यान्वयनसँगसँगै लोकतन्त्र, दिगो शान्ति, विकास र समृद्धिको बाटोमा अग्रसर भइरहेको अवस्थामा औद्योगिक क्रान्ति, कृषि क्रान्ति, पर्यटन, ऊर्जाको दु्रततर विकासको नेतृत्व अभियानमा हामी छौं । यो सबै कांग्रेसकै नेतृत्वमा हामी पूरा गर्छाैं ।
चुनावी अभियानमा हिँड्दै गर्दा साविक क्षेत्र नम्बर ३ का जनताले धेरै पटक एमालेलाई रोजियो, तर विकास भएन भन्नुभएको छ । अझै पनि यो क्षेत्रमा बिजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्यको समस्या छ । यसैलाई मध्यनजर गर्दै यो क्षेत्रमा विकासको उज्यालो छर्नका लागि म उम्मेदवार बनेको हुँ । प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको भिमादलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने, सञ्चार सुविधाको पहुँच नभएको ठाउँमा सञ्चार सुविधा पुर्याउने, तनहुँ जलविद्युत् आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने, गडगडीघाटमा तनहुँ र नवलपरासी जोड्ने मोटरेबल पुल निर्माण गर्ने, कृषिमा प्रविधिको प्रयोग गरी व्यवसायीकरण गर्नेलगायतलाई मैले प्राथमिकतामा राखेको छु । त्यस्तै दुभुङ, ऋषिङ, मिर्छुलुङ, रहु र काहुँलाई पर्यटकीय बस्तीका रूपमा विकास गर्ने, ऐतिहासिक धरोहरहरूको संरक्षण गर्दै संग्रहालय निर्माण गर्ने तथा विभिन्न जातजातिका धर्म–संस्कृतिहरूलाई संरक्षण गर्न सांस्कृतिक प्रतिष्ठानको निर्माण गर्ने योजना पनि छ । तराईदेखि हिमाली क्षेत्र जोड्नका लागि नवलपरासीको कावासोतीदेखि तनहुँको खैरेनीटारसम्म राजमार्गको विकास गर्ने, तराई, पहाड र हिमाल जोड्ने राजमार्ग निर्माण गर्ने, आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने, बिदेसिएका यस भेगका युवा, दलित, महिलालाई लक्षित गरी कृषि, पशुपालन, तरकारी खेतीजस्ता पेसाहरूमा संलग्न गराउन युवा रोजगार बैंक स्थापना गरी सहुलियत दरमा ऋण, सीप र तालिमको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता मैले जाहेर गरेको छु । 

सडक, कृषि, जलविद्युत् र पर्यटन प्राथमिकतामा


किरण गुरुङ
प्रदेशसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन
तनहुँ क्षेत्र नंं. २ ‘ख’

म तनहँ क्षेत्र नम्बर २ ‘ख’ को उम्मेदवारसँगसँगै प्रदेशको मुख्यमन्त्रीको दाबेदारसमेत हुँ । ४ नम्बर प्रदेशको संयोजक भएर पार्टीको जिम्मेवारी सम्हालेका कारण मुख्यमन्त्रीमा मेरो दाबी अस्वाभाविक होइन । चुनावपछि मैले गर्ने कामका योजनाहरू २५ बुँदामा सार्वजनिक गरेको छु । म सडक, कृषि, जलविद्युत्, शिक्षा, पर्यटन, संस्कृति, सिँचाइ, खानेपानी, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।
नेकपा एमालेका तर्फबाट विष्णु पौडेल जलस्रोतमन्त्री हुँदा तनहँु जलविद्युत् आयोजनालाई पहिलो पटक योजनामा पार्न मैले दबाब दिएको हुँ । त्यसकारण पनि त्यसलाई समयमै सम्पन्न गराउन मेरो भूमिका रहनेछ । सडक आयोजनाअन्तर्गत ऋङ्ग पथ, भीमकाली मार्ग, भीम भैरव मार्ग, कृष्ण मार्ग र भिमाद–साभुङ–डेढगाउँ–दलदले मोटर मार्गको विस्तार तथा कालोपत्रे गर्ने, झापुटार–चालिसे मोटर मार्गलाई विस्तार र कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा राखेको छु । कालीगण्डकी करिडोरको विभिन्न ठाउँमा मोटरेबल पुल निर्माण गर्ने, बुलिङटार जोड्ने गडगडीघाटमा मोटरेबल पुल निर्माण गर्ने र सबै प्रमुख मार्गहरूलाई तिब्बतको कोरलादेखि नेपाल–भारत सीमाको भैंसालोटन मार्गसँग जोड्ने प्राथमिकतामा राखेको छु । भिमाद नगरपालिकालाई बृहत् पोखरा मेट्रोसिटीको सञ्जालसँग जोड्ने तथा हरियाली र सफा सहरका रूपमा विकास गर्ने, रिसिङ र घिरिङ गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाका रूपमा विकास गर्ने, भिमादलाई स्याङ्जा, पाल्पा र नवलपुरको व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, तनहँ को पहिचानजन्य लोकसंस्कृतिहरू कौरा, लाखे, सोरठी, चुट्का, रत्यौली, झ्याउरे, सालैजो आदिको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न जातजातिको धार्मिक तथा सांस्कृतिक संग्रहालय निर्माण गर्ने, धार्मिक महत्वका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च आदिको संरक्षण गर्ने मेरो योजनामा रहेका छन् । विभिन्न ठाउँमा सुविधासम्पन्न प्राविधिक शिक्षालय र उच्च शिक्षा अध्ययन गर्ने कलेजहरूको स्थापना गर्ने, सबै गाउँमा शुद्ध खाने पानी र घरघरमा विद्युत् पुर्याउने, आवश्यक ठाउँमा रंगशाला तथा कर्भडहलको निर्माण गर्ने, सबै टारमा सिँचाइको व्यवस्था गर्ने तथा उपयुक्त ठाउँमा सघन बस्ती आवास कार्यक्रम सञ्चालन गरी बजारको विकास गर्ने योजना छ ।

पर्यटनका माध्यमबाट समृद्ध प्रदेश बनाउछु

रघुनाथ पौडेल
प्रदेशसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
तनहुँ क्षेत्र नं. १ ‘ख’ 

 

 

नेपाली कांग्रेसको संगठन निर्माणका अभियानमा २०३२ सालदेखि म पार्टीमा क्रियाशील छु । २०५३ सालदेखि २०६७ सालसम्म त मैले नेपाली कांग्रेसको जिल्ला पार्टी सभापति भएर काम गरें । जिल्लाका सबै ठाउँको समस्या र समाधानको उपायका बारेमा म जानकार छु । तनहुँ क्षेत्र नम्बर १ ‘ख’ शिक्षा, पर्यटन, धार्मिक विकास र साहित्यमा प्रबल सम्भावना बोकेको क्षेत्र हो । धार्मिक क्षेत्र देवघाट, तनहुँकै अग्लो छिम्केश्वरी माईको मन्दिर, छाब्दीवाराही मन्दिर, बन्दिपुरको पर्यटन प्रवद्र्धन, मादी–सेती नदीमा जलयात्राको विकासलगायत कंयौ सम्भावना बोकेको यो क्षेत्रको समानुपातिक विकास र समृद्धिको अभियानमा मेरो भूमिका रहनेछ । यसैगरी ग्रामीण भेगहरू रहेको केशवटार, कोटा, बैदी, छिपछिपे, देउराली, धरमपानी आदिलाई विकासको अभियानमा टेवा पुर्याई देवघाट, आँबुखैरेनी, सत्रसय, डुम्रे, व्यास–१ लाई सहरीकरणको माध्यमबाट थप सुदृढ गराउने प्रयत्न मेरो रहनेछ ।छिम्केश्वरी, जुन महाभारत पर्वत श्रृंखलाकै अग्लो स्थान हो र महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो, त्यसको पूर्वाधार विकास र प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण हामी तयार गर्छौं । अर्काे पहाडकी रानी बन्दिपुरमा पनि थप पर्यटक भित्रयाउनका लागि गर्न सकिने काम हामी गर्छौं । प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने र दमौलीदेखि छाब्दी जोड्ने मोटरबाटोलाई एक वर्षभित्र कालोपत्रे गरेर विकास गर्ने योजना छ । सेतीनदीमा याफ्टिङको सम्भावना छ तर विभिन्न बाधाहरू छन्, त्यसलाई हटाएर पर्यटकको गन्तव्य बनाउने प्रयास गर्नेछु । बन्दिपुर प्याराग्लाइडिङका हिसाबले पोखराभन्दा बढी सम्भावना युक्त ठाउँ छ । पोखरामा छोटो समय मात्र प्याराग्लाइडिङ हुन्छ, तर बन्दिपुरमा केही समय आकाशमा कावा खाँदै घुम्न पाइने अवस्था छ । यी सबैको विकास, प्रचार–प्रसार गरी हामी पर्यटन विकास गर्नेछौं ।

सडक, खानेपानी र पर्यटनलाई प्राथमिकता दिनेछु


रामबहादुर गुरुङ
प्रदेशसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन
तनहुँ क्षेत्र नं. १ ‘क’

२०७० सालमा संविधानसभा निर्वाचनमा प्राविधिक कारणले हार बेहोरे पनि जिल्लाको विकासका लागि केही गर्नुपर्छ भन्ने संकल्पसहित यो पटक प्रदेशसभातर्फ उम्मेदवार बनेको छु ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खानेपानी, पर्यटन विकास, भू–उपयोगिता, सहकारी, औद्योगिक विकास, भाषा, धर्म र संस्कृति, युवा खेलकुद तथा रोजगार, सामाजिक सुरक्षा, आर्थिक समृद्धि र उज्यालो अभियानलाई मैले मुख्य प्राथमिकतामा राखेको छु । आगामी पाँच वर्षभित्रमा यस प्रदेशका जनतालाई दक्षिण एसियाकै सबैभन्दा शुद्ध, स्वच्छ, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खानेपानी उपलब्ध गराउने प्रतिबद्धता मैले चुनावी अभियानका क्रममा व्यक्त गरेको छु ।
उत्पादनअनुसार प्रत्येक गाउँ र वडालाई कृषिको पकेट क्षेत्र बनाउने, कृषि उत्पादनको बजारीकरण र व्यापारीकरणमा जोड दिने योजना छ । दमौली अस्पताललाई १ सय शय्याको अत्याधुनिक सुविधासम्पन्न बनाउने, ग्रामीण सडकको विस्तार, कालोपत्रे र मोटरेबल पुलको निर्माणलाई प्राथमिकतामा राखेको छु । भू–उपयोगसम्बन्धी नीति लागू गरी खेतीयोग्य जमिनको प्लटिङमा रोक लगाउने, कृषि उत्पादनसँग किसान र श्रमलाई जोडी श्रमको उच्च सम्मान गर्दै कृषि उत्पादनलाई सार्वजानिक र राज्यको बिक्री–वितरण केन्द्र निर्धारण गरी किसानको उत्पादनलाई पूर्ण संरक्षण गर्ने योजनासमेत छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्