व्यापार घाटा कम गर्ने विषयमा छलफल «

व्यापार घाटा कम गर्ने विषयमा छलफल

वाणिज्य मन्त्रालयले मुलुकको व्यापार घाटाको अवस्थाबारे मुख्यसचिव लोकदर्शन रोग्मीलाई जानकारी गराएको छ । पछिल्लो समय मुलुकको व्यापार घाटा भयावह अवस्थामा पुगेपछि यसलाई कसरी कम गर्ने भन्ने विषयमा मन्त्रालयले मुख्यसचिवसँग छलफल गरेको हो ।
वाणिज्य सचिव चन्द्र घिमिरेले मुख्यसचिव रेग्मलीलाई मुलुकको व्यापार घाटाका बारेमा जानकारी गराएका थिए । उनले व्यापार घाटा कम गर्न स्वेत पेपर जारी गर्ने, निर्यातमा अनुदान प्याकेज तर्जुमा गर्ने, निकासी पैठारी नियन्त्रण ऐन २०१३ लाई संशोधन गर्ने, नेपालको पारवाहनका सम्बन्धमा कोलकत्ता, हल्दिया, विषाखापट्टममा रहेका समस्यालाई सम्बोधन गर्ने विषयमा प्रस्तात गरेका थिए ।
यस्तै एकीकृत व्यापार रणनीति (एनटीआईएस)ले पहिचान गरेका अदुवा, अलैंली, पश्मिना, कफीलगायतका वस्तको भ्यालु एडिसनका लागि विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीले व्यापार घाटा कम गर्न प्रस्तुत गरिएको प्रस्तुतिलाई परिमार्जन गरी कार्ययोजना बनाएर आगामी बैठकमा प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
चौधौं योजनामा कुल गार्हस्थ्य उत्पादनमा व्यापार घाटाको अनुपात ३० प्रतिशतमा अर्थात् ७ खर्ब ८० अर्बमा झार्ने भनिए पनि गत वर्ष ९ खर्ब १२ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७४÷७५ मा व्यापार घाटा ९ खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय आयात बढ्दै गए पनि सोहीअनुसार निर्यात नबढ्दा मुलुकको व्यापार घाटा चुलिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्