बूढीगण्डकी प्रतिस्पर्धाकै आधारमा बनाउँछौ : अर्थमन्त्री «

बूढीगण्डकी प्रतिस्पर्धाकै आधारमा बनाउँछौ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना प्रतिस्पर्धाको आधारमै निर्माण गर्ने बताएका छन् ।
आर्थिक वर्ष ०७५/७६ को बजेटपछि बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले बूढीगण्डकी आयोजना प्रतिस्पर्धाको आधारमा बनाउने बताए । “टेबल टेनिजस्तो बूढीगण्डकी कहिले यता कहिले उता भइरहेको छ, यसबारे मोडालिटी बनाइरहेका छौं ।” उनले भने, “बूढीगण्डकी र अन्य ठूलाठूला आयोजना प्रतिस्पर्धामार्फत अघि बढाएर लगानीसमेत आकर्षण गर्छौं ।”
एक वर्षअघि चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिइएको बूढीगण्डकी आयोजना ६ महिनाअघि तत्कालीन सरकारले त्यो समझदारी खारेज गरेर स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । हालै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जारी गरेको स्वेतपत्रसहितको मार्गचित्रमा समेत खुल्ला प्रतिस्पर्धामार्फत आयोजना अघि बढाउने उल्लेख छ ।
कार्यक्रममा लामो समयदेखि पश्चिमसेती आयोजना अघि बढ्न नसकेको जानकारी दिँदै अब स्वदेशी लगानीमा निर्माण गरिने जानकारी दिए । उनले ठूला आयोजनाको निर्माणअघि बढाउनका लागि लगानी बोर्डको ऐन संशोधन गरेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन लागिएको र जलविद्युत्, खानीलगायतका स्वीकृतिका लागि प्रक्रिया सहजीकरण गर्न एकद्वार प्रणाली लागू गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्