जाजरकोटमा ‘मालिका’ छायांकन गर्दै रेखा «

जाजरकोटमा ‘मालिका’ छायांकन गर्दै रेखा

 अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको चलचित्र ‘मालिका’ को काम हिजोआज धमाधम भैरहेको छ । चलचित्रको छायांकन जाजरकोट खलंगास्थित जाजरकोट दरबारसहितका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुमा भैरहेको छ ।
जिल्लाको स्थानीय भेषभूषा र संस्कृति झल्किने मेलाको दृश्यसहित दुई सय ४८ वर्षअघि निर्माण गरिएको जाजरकोट दरबारको प्रांगणमा ‘मालिका’ को गीत छायांकन गरिएको चलचित्र निर्मातासमेत रहेकी नायिका रेखाले बताइन् । जाजरकोट र गोरखा राज्यको सम्बन्ध तथा नेपाल एकीकरणको सन्दर्भ झल्काउने ऐतिहासिक जाजरकोट दरबारमा चलचित्र छायांकन गरिएको हो । जाजरकोटकी १५ वर्षीया कमला वलीलाई रेखाले चलचित्रको मुख्य पात्र बनाएकी छन् । अभिनय कला नसिकेकी भेरी नगरपालिका १ की कमलालाई तीन हप्ता अभिनय सिकाएर फिल्ममा प्रवेश गराइएको हो । ग्रामीण परिवेशकी किशोरीको कथा जीवन्त बनाउन कमलालाई मुख्य पात्र छनोट गरिएको अभिनेत्री रेखाले बताइन् । चलचित्रमा रेखा आफैं पनि अभिनय गर्दैछिन् ।
जीवन रूपान्तरण तथा सकारात्मक सोचका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषयवस्तु महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ । सामाजिक चेतना र छोरीहरूका लागि स्वर्णिम नेपालको राष्ट्रिय संकल्प बोकेको ‘मालिका’ फिल्मले हिमाल, पहाड र तराईका जनतालाई एकताको सूत्रमा बाँध्ने भाव बोकेका गीत राखिएको छ । चलचित्रका अन्य दृश्य जाजरकोटका विभिन्न स्थान, नेपालगन्ज र काठमाडौंमा छायांकन गरिने निर्माताको भनाइ छ । जाजरकोटमा पहिलो पटक ठूलो पर्दाको फिल्म छायांकन गरिएको हो । जाजरकोटकै कलाकार, जाजरकोटकै विषयवस्तु र जाजरकोटमै सुटिङ भइरहेको ‘मालिका’ फिल्म व्यावसायिक मात्र नभई सामाजिक जागरणमा केन्द्रित रहेको नायिका रेखाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्