निजी क्षेत्रको मिश्रित प्रतिक्रिया «

निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

 संघीय सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७५/७६ माथि मकवानपुरका सरोकारवालाले मिश्रित प्रतिक्रिया दिएका छन् । मकवानपुरका उद्योगी व्यवसायी र त्यससँग जानकारले बजेट समग्रमा राम्रो भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले साना व्यवसायीलाई पनि यो बजेटले सम्बोधन भन्दै खुसी व्यक्त गरे । बजेटले करको क्षेत्रमा धेरै ठूलो परिवर्तन गरेको भन्दै केही सुधार हुने आशा व्यक्त गरे । यस अघिका सरकारले बजेट निर्माण गर्दा ठूला व्यवसायीलाई मात्र मध्यनजर गर्ने गरेको स्मरण गर्दै उनले यसपटक साना व्यवसायीमा पनि केही खुसी ल्याएको बताए । व्यवसायीको नजरबाट हेर्दा बजेट निकै राम्रो रहेको उनको भनाइ थियो । युवाहरुलाई व्यवसायमा उत्प्रेरणा दिन शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने व्यवस्था गरिनु सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सरकारले बेरोजगार युवालाई रोजगारी दिन खोज्नु सरकारात्मक भएको प्रतिक्रिया दिए । शिक्षा, स्वास्थ्य क्षेत्रको सेवा शुल्क खारेज गर्नुका साथै पर्यटन तथा कृषिको क्षेत्रमा ठूलो रकम छुट्याइनु सकारात्मक भएको कटुवालको भनाइ थियो । सन् २०२० लाई भिजिट नेपाल वर्षका रूपमा घोषणा गर्नुले पनि नेपालको समग्र आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ । हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणका लागि बजेटले कुनै सम्बोधन नगरेकोमा भने कटुवालले असन्तुष्टि जनाए ।
उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने उद्योगीको लागि बजेटले कुनै सम्बोधन नगरेको आरोप लगाए । “विदेशी सामान आयातमा कर वृद्धि गरेर स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न खोजेको जस्तो देखिन्छ तर, स्वदेशी उद्योगका लागि कुनै त्यस्तो कार्यक्रम पनि ल्याएको छैन,” उनले भने । कम्युनिस्ट पार्टीले आफ्नो चुनावी घोषणापत्रमा भनेजस्तो औद्योगीकरणको कुरा बजेटले नसमेटेको अर्यालको भनाइ छ । औद्योगिक सुरक्षा, औद्योगिक प्रवद्र्धनको कुरा पनि बजेटमा नआएको अर्यालको टिप्पणी छ । “औद्योगिक क्षेत्र विस्तार गर्ने भनेर बजेटमा भनिएको छ, तर, कहाँ कति बजेटमा औद्योगिक क्षेत्र खोल्ने भनेर उल्लेख गरेको पाइँदैन ।” अर्यालले भने । कर तथा उद्योगदर्तामा एकद्वार नीति ल्याइए पनि समग्रमा उद्योगीको लागि यो बजेट सन्तोषजनक नभएको उनको भनाइ छ ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले भने समग्रमा बजेट राम्रो भएको प्रतिक्रिया दिए । सवारी साधनको कर बढाएर यसअघि भित्रिएका सवारीको सुरक्षा गरेको उनको टिप्पणी छ । विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गरिने भनिएको प्रति उनले प्रचारबाजी मात्रै हो कि भन्ने आशंका व्यक्त गरे । यसअघि बनाउने भनिएको सुरुङमार्गको काम नै थालनी नभएको अवस्थामा अन्य स्थानमा पनि सुरुङमार्ग बनाउँछु भन्नु अलिक महत्वाकांक्षी भएको उनको टिप्पणी छ । अन्य कुरामा बजेट यथार्थपरक रहेको र कार्यान्वयन पक्ष पनि सबल हुनुपर्नेमा श्रेष्ठको जोड छ ।
मकवानपुर बहुमुखी क्याम्पसका अर्थशास्त्र तथा वाणिज्य संकाय स्नाकोत्तर विभाग प्रमुख प्राध्यापक भोजराज ढकालले अन्य वर्षको भन्दा यो वर्षको बजेट उत्कृष्ट भएको प्रतिक्रिया दिए । बजेट घोषणासँगै कार्यान्वयनका उपायहरु पनि समेटिएकाले केही आशा सिर्जना गरेको उनको भनाइ छ । देशको आर्थिक तथा सामाजिक उन्नतिको दिशा बजेटले पहिल्याएको उनको दाबी छ । देशमा संक्रमणकालको अझै अन्त्य नभइसकेको भन्दै ढकालले बजेटको सफल कार्यान्वयनको लागि सरकार र कर्मचारी प्रशासन मिलेर काम गर्नुपर्नेमा जोड दिए । बजेटले युवा, कृषि, पर्यटन, खेल, सामजिक सुरक्षाको विषयलाई उत्कष्ट ढंगले समेटेको ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्