जग्गा बाँझो राखेवापत ५० हजार राजस्व «

जग्गा बाँझो राखेवापत ५० हजार राजस्व

चितवनको रत्ननगर नगरपालिकामा चालू आव ०७४/७५ मा आम्दानीको तुलनामा खर्च निकै कम भएको छ । चालू वर्षमा ८२ प्रतिशत आम्दानी भएकोमा ५८ प्रतिशतमात्रै खर्च भएको तथ्यांकले देखाएको छ । रत्ननगर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार चालू आवमा ७४ लाख २६ हजार बजेट अनुमान गरिएकोमा जेठ ५ गतेसम्म ६१ करोड २६ लाख रुपैयाँ आम्दानी भएको छ ।
जसमा ७ करोड ११ लाख आन्तरिक आय अनुमानित गरिएकोमा ४ करोड २ लाखमात्रै आम्दानी भएको छ । वित्तीय सामान्यीकरण र सशर्त अनुदानमा सबै रकम प्राप्त भएको छ भने सामाजिक सुरक्षातर्फ ६ करोड ५५ लाख आम्दानी भएको नगरपालिकाले जनाएको छ । यसैगरी चालू आवमा शशर्ततर्फ १८ करोड ६९ लाख अनुमान गरिएकोमा १५ करोड ४८ लाखमात्रै खर्च भएको छ । प्रशासनिकतर्फ ४ करोड ५१ लाख, पुँजीगततर्फ १६ करोड ७० लाख खर्च भएको छ । जसमा ३४ करोड ३१ लाख खर्च हुने अनुमान गरिएको थियो । यो तथ्यांकअनुसार पुँजीगत खर्च निकै कम भएको छ । अनुमान गरिएअनुसार ५८ प्रतिशत अर्थात् ४३ करोड ४७ लाखमात्रै खर्च भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जनप्रतिनिधि निर्वाचित भएपछिको बोर्ड बैठकले गरेको निर्णयअनुसार बाँझो जग्गा राख्नेलाई कारवाही स्वरुप ५० हजार रुपैयाँ राजस्व संकलन गरिएको बताए । एक बिघा जग्गा बाँझो राख्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । “कृषि र जग्गा बाँझो राख्दा खाद्यबाली र अन्नबालीका लागि अरुको भर पर्नुपरेको छ,” नगर प्रमुख वनले भने, “यसलाई नियन्त्रण गर्न एक वर्षको अवधिमा ठूलै सफलता हासिल गरेका छौ ।”
चालू वर्षको वैशाखसम्म नगरमा सञ्चालित योजनामध्ये ८० प्रतिशत सम्पन्न भइसकेको नगरप्रमुख वनले बताए । बाँकी योजना जेठ महिनाभित्रै सम्पन्न गर्ने उनको दाबी छ । एक वर्षको अवधिमा सार्वजनिक जग्गा संरक्षण अभियान सञ्चालन गरेपछि ६० बिघा जग्गा संरक्षण भइसकेको नगरपालिकाले जनाएको छ । नगरभित्र करिब २ सय बिघा सार्वजनिक जग्गा रहेको अनुमान छ । जनप्रतिनिधिहरूको बाँकी ४ वर्षको समयमा गुरुयोजना बनाएर समृद्ध नगर बनाउने सो अवसरमा नगरप्रमुख वनले प्रतिबद्धता जनाए । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले पर्यटन र औद्योगिक सूचना केन्द्र स्थापना गर्न नगरपालिकाको ध्यानाकर्षण गराए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सुकुम्वासी समस्या समाधानमा ध्यान दिन नगरपालिकालाई आग्रह गरे । एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटाले प्रविधिमैत्री नगर बनाउने नगरपालिकाले लक्ष्य लिएकोमा प्रशंसा गर्दै नगरपालिकालाई वाईफाई जोन बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्