असार पहिलो साता घरजग्गा मेला हुने «

असार पहिलो साता घरजग्गा मेला हुने

आगामी असार १ गतेदेखि काठमाडौंमा घरजग्गा मेला हुने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको कडाइका कारण घरजग्गाको कारोबार क्रमशः सिथिल बनिरहेका बेला नेपाल जग्गा तथा आवस विकास संघले असार १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा घरजग्गा मेला गर्ने भएको हो । संघले घरजग्गा मेला गर्न लागेको यो सातौं पटक हो ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलामा उपभोक्ताहरूले सुलभ मूल्यमा घरघडेरी रोज्न पाउने बताएको छ । मेलामा घरजग्गा व्यवसायीहरूले स्टल राख्ने छन् । वैज्ञानिक र व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा जोड दिने संघले जनाएको छ । मेलामा उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आफ्नो नवीनतम् उत्पादन उपभोक्ता माझ पु¥याउने तथा उपभोक्ताहरूले नेपाली रियल इस्टेट व्यवसायको यथार्थ तथावास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्ने संघका अध्यक्ष इच्छाराज तामाङले बताए ।
यस सातौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले आ–आफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शन गर्नेछन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरू सहभागी हुनेछन् । यस मेलामा विद्युतीय सरसामानहरू, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरूले आ–आफ्ना उत्पादनहरू प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवासमेत उपलब्ध गराउने छन् ।
यस मेलाबाट एकातर्फ योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेन्टहरू खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरूले सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेन्टहरू बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्