सडकमा आएको बजेट फिर्ता जाने «

सडकमा आएको बजेट फिर्ता जाने

ठेकेदारको लापरबाहीका कारण जिल्लामा आएको रकम फिर्ता जाने भएको छ ।
डेनमार्क सरकारको लगानीमा इलामका पाँचवटा सडकमा विनियोजन भएको रकम सम्झौता अवधिमा पनि काम नसकिने भएपछि रकम फिर्ता जाने भएको हो ।
उन्नति समावेशी वृद्धि कार्यक्रमबाट लगानी भएका जिल्लाका आठवटा सडकमध्ये तीनवटा सडकको मात्रै काम सन्तोषजनक रहेको बताइएको छ । बाँकी पाँचवटा सडकको काम आधा पनि भएका छैनन् । पाँचवटा सडकको असार १५ सम्मको म्याद दिइएको छ, तर सडक आयोजना पूरा नहुने निश्चितजस्तै देखिन्छ । उपभोक्ता समितिमार्फत निर्माण थालिएको कामले समेत गति लिन सकेको छैन ।
उन्नति कार्यक्रममार्फत कृषि उत्पादनलाई बजारसम्म पुराउन सडकमा लगानी गरिएको हो । रकम लगानी नभएपछि बजेट फिर्ता जाने भएको छ । अझ डेनिस सरकारले लगानी गरेको ठाउँमा नेपाल सरकारले लगानी नगर्ने सम्झौता भएकाले पूरा नभएका सडक झन अलपत्र हुने भएका छन् । स्थानीय तहले समेत ती सडकमा लगानी नगर्ने बताएका छन् । असार १५ पछि ती सडक स्थानीय तहलाई जिम्मा लगाइने छ । तर, इलामका स्थानीय तहका प्रमुखहरूले अस्तव्यस्त पारिएका सडक जिम्मा नलिने बताइसकेका छन् ।
दुई वर्षअघि सम्झौता भएको बहुप्रतीक्षित फिक्कल नयाँबजार सडक आधा पनि निर्माण भएको छैन । सडक नबन्दा माइजोगमाई गाउँपालिकाको केन्द्रलाई मेची राजमार्गको फिक्कल जोड्ने योजना अपूरो हुने भएको छ । १९ किमि दूरीको फिक्कल नयाँबजार सडक १४ करोड ४६ लाख ३४ हजार रुपैयाँमा नागार्जुन निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । सडकमा अहिलेसम्म ३१ प्रतिशतमात्रै खर्च भएको छ । सडकको कल्भर्ट, नाली, ग्याबिन पर्खाल, सबग्रेड र बेस लगाउने काम पूरा भएको छैन । सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राईले बताए ।
पाँच किमि दूरीको बरबोटे माझगाउँ कट्टेबुङ सडकको पनि हविगत उस्तै छ । डेनिस सरकारकै लगानीमा निर्माण भइरहेको सडक निर्माणको काम आधा पनि हुन सकेको छैन । दुई करोड ९२ लाख ४१ हजार रुपैयाँ लगानी भएको सडक निर्माणको काम ३६ प्रतिशत हाराहारीमात्रै भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सो सडकमा पनि नाली निर्माण र कल्भर्टको काम पूरा हुन सकेको छैन । सडकमा ग्याबिन पर्खाल र ग्राभेल लगाउन सुरु गरिएको छैन ।
नेपालटार र पुवामझुवा सडक निर्माणको काम आधामात्रै भएको छ । अबको ४० दिनमा सडक पूरा हुने छाँट छैन । नागार्जुन विष्णु जेभीलाई निर्माणको जिम्मा दिइएको सडकको ग्याबिन लगाउने र कल्भर्ट बनाउने काम पूरा भएको छैन । सडकमा ग्राभेल लगाउन थालिएकै छैन । तीन करोड ७९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको सडक पनि ठेकेदारको लापरबाहीकै कारण अघि नबढेको हो ।
जीतपुर बजार साङरुम्बा–इन्टेक सडकको पनि आधा काममात्रै भएको छ । पाँच किमि दूरीको यो सडकलाई पनि असार १५ सम्ममा पूरा गर्ने म्याद दिइएको छ । तर तोकिएको अवधिमा काम सम्पन्न हुने सम्भावना छैन । दुई करोड ८९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको सडकको आधाजति मात्रै काम पूरा भएको प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगाना बताउँछन् । विरुवा भगवती जेभीले ठेक्का पाएको सडकमा अहिलेसम्म २३ प्रतिशत रकममात्रै खर्च भएको छ ।
जिल्ला प्राविधिक कार्यालय इलामले समयमा काम नसक्ने ठेकेदार र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
जिल्ला प्राविधिक कार्यालय इलामका प्रमुख ढुंगानाले छलफल गरेर ती निर्माण कम्पनीलाई काम नदिने र ठेकेदारलाई समेत कालोसूचीमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

 –टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्