उपभोक्ता समितिमार्फत धमाधम सडक निर्माण «

उपभोक्ता समितिमार्फत धमाधम सडक निर्माण

आर्थिक वर्ष सकिन लाग्दा धनकुटाको महालक्ष्मी नगरपालिकामा सडक निर्माणले तीव्रता पाएको छ । एक महिना यतामात्र महालक्ष्मीका विभिन्न वडा जोड्ने आधा दर्जन सडक निर्माणका लागि विभिन्न खण्डको सझौता सकेर धमाधम काम भइरहेको छ ।
वैशाख महिनामा मात्रै ३३ किमि लम्बाइका विभिन्न आधा दर्जन सडक निर्माणका लागि नगरपालिका र उन्नति परियोजनाबीच सम्झौता सकेर काम भइरहेको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले जानकारी दिए । जीतपुर–आन्दु्रंग दोभाने जोड्ने १२ किमि सडकमा विभिन्न खण्ड गरेर काम अघि बढेको छ । त्यस्तै जितपुर छुम्लिंग, लाटेभञ्ज्याङ सडकमा पनि माटो कटिंग, ग्राभेल, मोड सुधार र नाला निर्माणको काम भइरहेको छ । निगले–गुराँस डाँडा ३ किमि तथा आहाल डाँडा, मारेकटहरे ४ किमिका साथै धर्मदेवी, लेगुवा झरना २ सम्मको सडकको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
“थालिएका सबै सडकको एक महिनामा ६० प्रतिशतभन्दा बढी काम सकिएको छ,” उनले भने, “हरेक १ किमिभित्र डोजर स्काभेटर, केकर, लोडरजस्ता हेवी इक्युपमेन्ट र मनग्गे मजदुर परिचालन गरिएको छ ।” आगामी एक महिनामा बाँकी ४० प्रतिशत काम पूरा गर्ने उनको दाबी छ । सात मिटर चौडा सडकका ठाउँ ठाउँमा ग्याबिन जाली भर्ने, ग्राभेल गर्ने र नाली बनाउने काम धमाधम भइरहेको छ । एकदेखि तीन किमि लम्बाइका छोटो दूरीका अन्य केही सडक पनि सम्झौताको पाइपलाइनमा छन् । सबै काम उपभोक्ता समितिमार्फत गरिएकाले समय सीमाभित्रै सकिनेमा आफू विश्वस्त रहेको उनले सुनाए ।
उन्नति परियोजनाको पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत निर्माणाधीन कतिपय सडकमा प्रतिकिमि ५० लाख रुपैयाँ लागत स्टिमेट छ । अनुगमनलाई प्रभावकारी बनाइएकोे सडकको परिमाण गुणस्तर र राम्रो भएको नगरप्रमुख नेपालको दाबी छ । सडक आयोजनाको काम गुणस्तरीय बनाउन र समयमै पूरा गर्न दिनरात नभनी लागिपरेको महालक्ष्मी–२ का वडाध्यक्ष ध्रुवराज रायले बताए । उनले भने, “बरु सुत्दैनौ, क्वालिटी र क्वान्टिटीमा तलमाथि हुन दिन्नौ ।” निर्माणाधीन सडकको काम पूरा भएपछि महालक्ष्मीका हरेक वडाका केन्द्रसम्म यात्रु बस सञ्चालन गर्न सकिने रायको दाबी छ । सडक निर्माण पूरा भए महालक्ष्मीमा करिब २५ हजार स्थानीय लाभान्वित हुनेछन् ।

 –विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्