व्यापारी र उपमहानगरको दबाबले ६ लेन सडक निर्माण रोकियो «

व्यापारी र उपमहानगरको दबाबले ६ लेन सडक निर्माण रोकियो

व्यापारिक मार्गको रूपमा निर्माण भइरहेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण विवादका कारण रोकिएको छ । इटहरी उपमहानगरपालिका र केही ठूला व्यापारीको असहयोगका कारण व्यापारिक मार्ग विस्तार कार्य रोकिएको हो ।
इटहरीको मुख्य चोक क्षेत्रका सडक सीमाभित्रका भवन खाली गर्न अटेर गर्दै व्यापारी र उपमहानगरपालिकाले सडक आयोजनालाई निर्माणकार्य रोक्न पत्र पठाएपछि निर्माणकार्य रोकिएको हो । मुख्य बजार क्षेत्रका केही ठूला व्यापारीका भवनहरू भत्कने भएपछि व्यापारीको प्रलोभनमा परी इटहरी उपमहनगरपालिकाले सडकको चौडाइ नै घटाएर सडक बनाउन भन्दै दबाब दिएको छ ।
इटहरी उपमहानगरपालिकाभित्रको मुख्य चोक क्षेत्रमा सडक केन्द्रको दुवैतर्फ २५/२५ मिटर कायम गर्दै सडक विस्तार गर्नुपर्ने भए पनि व्यापारी र उपमहानगरपालिकाले १५/१५ मिटरमात्र कायम गर्न माग गरेका छन् । सडक निर्माणका लागि ठेक्का लागेर काम सुरु गर्नुपर्ने अवस्थामा उपमहानगरपालिकाले सडकको चौडाइ नै कम गरी निर्माण गर्न पत्र पठाएपछि काम नै रोकिएको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका प्रमुख विनोद मौवारले जानकारी दिए ।
आयोजनाले इटहरी उत्तरतर्फको आँपगाछिदेखि तरहराको जंगल क्षेत्रसम्म ८२ फिट नै कायम गरी निर्माण गरेको थियो । अहिले भने इटहरी चोकतर्फ निर्माण सुरु गर्न सडकको दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने भवन खाली गर्न आग्रह गरे पनि व्यापारीले विरोध गर्दै आएका छन् ।
उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बसी वैशाख ११ गते मुख्य चोक क्षेत्रमा सडकको दुवैतर्फ १५/१५ मिटरभन्दा बाहिर गएर निर्माणकार्य रोक्ने निर्णय गरेको छ । त्यसैको पत्र सडक आयोजना, सडक विभाग र सम्बन्धित मन्त्रालयलाई पठाउने निर्णय पनि गरेको छ । सडकबाट दायाँबायाँ २५/२५ मिटर कायम गर्दा धेरै भवन भत्कने व्यापारी र उपमहानगरपालिको भनाइ छ । इटहरीको मुख्य चोकमा गोरखा डिपार्टमेन्टल स्टोरलगायतका ठूला व्यापारिक भवन रहेका छन् ।
उपमहानगरपालिकाले पत्र पठाएपछि सडक निर्माण अन्योल बनेको आयोजना प्रमुख मौवारले बताए । देशकै महत्वपूर्ण सडक आयोजनामा पर्ने निर्माणमा यस किसिमको निर्णयले ठूलो असर पु¥याउने सडक आयोजना प्रमुख मौवार बताउँछन् । १० मिटर कम गर्न सडकको डिजाइन नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, “दीर्घकालीन महत्वको आयोजनालाई यसरी डिजाइन नै परिर्वतन गर्ने कुरा हतार हुन्छ पछि फुर्सदमा पछुताउनु पर्छ ।” इटहरीदेखि तरहरासम्म सडक बनाउन स्वच्छन्द कान्छाराम सैलुङ जेभीले ठेक्का लिएको छ ।
यता, इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले व्यापारीको तीव्र दबाब आएपछि निर्णय गरिएको बताए । उनले भने, “व्यापारीहरू भवन भत्किने भयो भन्दै डेलिगेनस आउनुभयो, विराटनगरमा ५५ फिटमात्र कायम छ यहाँ पनि त्यही गर्नुपर्छ भन्नुभयो, ल हुन्छ भन्दै निर्णय गरेको हो ।” मेयर चौधरीले सर्वपक्षीय निर्णय गरेको तर कार्यपालिकाको बैठकबाट निर्णय भने नगराएको बताए । चोकका धेरै भवन भत्किने भएपछि यस्तो गरिएको उनले सुनाए । १५/१५ मिटर कायम गर्न भनेको तर कामै रोक्न भने नभनेको उनले बताए ।
यता प्रदेश सांसदसमेत रहेका उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतले धेरै व्यापारिक भवन भत्किने भएपछि कम क्षति गर्न १५ मिटर माग गरिएको बताए । विराटनगर बजार क्षेत्रमा ५५ फिटमात्र कायम गरिएको भन्दै उनले भने, “इटहरीको बजार क्षेत्रमा पनि ५५ फिट कायम गर्नुपर्छ ।” कहीँ बढी कहीँ कम गर्न नहुने अध्यक्ष बस्नेतले बताए । परियोजनाको अनुसार इटहरी बजार क्षेत्रमा व्यापारिक मार्ग विस्तारको काम हुँदा ५० देखि ६० घरको अघिल्लो भाग भत्किने छन् । ती भवनहरू सडक अतिक्रमण गरी बनाइएका हुन् ।
विराटनगरदेखि इटहरी हुँदै धरानसम्म तिन खालको सडक सीमा व्यवस्था गरिएको छ । राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ ले सडकको केन्द्रबाट २५/२५ गज कायम गरेको थियो । तर, बस्ती विस्तारको क्रममा स्थानीयले सडकको जग्गा मिचेर घर निर्माण गरेका थिए । त्यस्तै २०३४ सालतिर राजपत्रमा सूचना गरी रानी–धरान सडक केन्द्रबाट दायाँ र बाँया २५/२५ मिटर कायम गरिएको थियो ।
तर विराटनगर र सुनसरीको दुहवी नगरपालिकामा भने सडक सीमा कम गरिएको छ । क्याबिनेट बैठकबाट विराटनगरको बजार क्षेत्रमा दायाँबायाँ १५/१५ मिटर र दुहवीमा १७/१७ मिटर कायम गरिएको थियो । अहिले सडक आयोजनाले विराटनगरमा १५ मिटरमा नै सडक निर्माणको काम गरेको छ ।
दक्षिणतर्फ भारत र उत्तरतर्फ चीनसँगको सीमासम्म जोड्ने यो सडक आयोजनालाई देशकै आर्थिक समृद्धिको मार्गको रूपमा लिने गरिएको छ । २०७० सालबाट विराटनगरदेखि इटहरी हुँदै धरानसम्म २ लेनको सडकलाई ४९ किमि ६ लेनको रूपमा विकास गर्न थालिएको थियो । ५ वर्षभित्र सम्पन्न गर्ने गरी थालिएको यो परियोजनाको काम निकै सुस्त गतिमा विस्तार हुँदै आएको छ ।
विवेक भट्टराई 

प्रतिक्रिया दिनुहोस्