पूर्वलडाकुका संरचना नष्ट «

पूर्वलडाकुका संरचना नष्ट

माई नगरपालिका–४ दानाबारीमा निर्मित विप्लव–सिर्जन स्मृति ब्रिगेड सहायक शिविरका संरचना नष्ट हुने अवस्थामा पुगेको छ । शान्ति प्रक्रियाका क्रममा तत्कालीन नेकपा माओवादी लडाकुका लागि निर्माण गरिएका अस्थायी शिविरका करोडौं मूल्यका संरचना नष्ट हुन थालेका हुन् ।
माओवादी लडाकुको प्रथम डिभिजनअन्तर्गत निर्मित शिविरका संरचना प्रयोगविहीन छन् । ततकालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण गरिएका ६० वटा संरचना संरक्षणको अभावमा जीर्ण बनेका छन् । शान्ति प्रक्रियाका क्रममा सेना समायोजनपछि माओवादी लडाकुले छाडेका ती संरचना संरक्षण, सम्वद्र्धन र व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन ।
अधिकांश संरचना ढलेका छन् भने केहीको आधा भाग ढलेको छ । भवनको छानो भुँइमा बसेको छ । माटोमा बसेका संरचना काम नलाग्ने अवस्थामा छन् । भवनका काठ, जस्तापाता र फलामे ट्रस्टहरू भने काम लाग्ने अवस्थामा रहे पनि संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।
३४ हेक्टर क्षेत्रफलमा फैलिएको शिविरमा झाडी ढाकेको छ । सशस्त्र प्रहरी वेस क्याम्प बसेको केही भागबाहेक सबै क्षेत्र झाडीमा परिणत भएको छ । नेपाली सेनाको नामको जमिनको केही भाग सशस्त्र प्रहरी बलले उपयोग गरिरहेको छ । सशस्त्र प्रहरीले प्रयोग गरेका ४ वटा भवनमा लडाकुले मेडिकल चलाएको एक भवनबाहेक सबै जीर्ण बनेको सशस्त्र प्रहरी बल दानाबारीका प्रहरी निरीक्षक चेतन बाराकोटीले बताए । ०६८ सालदेखि सो क्षेत्रको रेखदेखको जिम्मा सशस्त्र प्रहरीले पाएको छ । सशस्त्रले त्यहाँको संरचनाको विस्तृत विवरण तयार गरी माई नगरपालिकासहित सम्बन्धित निकायमा पठाए पनि संरक्षणका लागि कुनै पहल नथालिएको बराकोटीले बताए ।
नगरपालिकाले भने त्यहाँको संरचनाको व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको जनाएको छ । “जीर्ण संरचना व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको नगर प्रमुख दिपककुमार थेवेले बताए । उनले चाँडै व्यवस्थापनको काम सुरु गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्