बयालपाटामा राबा बैंक पुनःस्थापना «

बयालपाटामा राबा बैंक पुनःस्थापना

अछामको बयालपाटामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । द्वन्द्वकालमा २०५७ सालदेखि विस्थपित भएको र ३ वर्षदेखि शाखारहित बैंकिङ कारोबार भइरहेको बयालपाटामा औपचारिक रूपमा शाखा पुनःस्थापना भएको हो ।
बिगतमा बिभिन्न कारणले बिस्थापित भएको बैंक शाखामार्फत अछाम क्षेत्रनम्बर १ का नागरिकलाई सेवाका लागि पुनःस्थापन गरिएको राष्ट्रिय वाणिज्य बैंक मंगलसेन शाखाका सहायक प्रमुख गणेश बिष्टले जानकारी दिए । “सशस्त्र द्वन्द्वमा चौरपार्टीमा रहेको वाणिज्य बैंकको शाखासमेत बयालपाटा शाखामा गाभिएको थियो ।” सूचना अधिकारी बिष्टले भने, “पछि सुरक्षाका कारण सदरमुकाम मंगलसेनमा नै गाभियो ।”
०३७ सालमा सदरमुकाम मंगलसेनमा वाणिज्य बैंकको शाखा स्थापना भएको थियो भने बयालपाटामा त्यसको २÷३ वर्ष पहिले नै बयालपाटामा शाखा रहेको बिष्टको भनाइ छ । विस्थापीत भएको जिल्लाकै पुरानो शाखा फेरि पुनःस्थापना भएपछि त्यस क्षेत्रका जनताले सहज सेवा पाउने उनले बताए ।
वाणिज्य बैंकको शाखा विस्तार भएपछि नगरवासीलाई सहज सेवा उपलब्ध हुने साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले बताए । वाणिज्य बैंकमा कामका लागि सदरमुकाम जानुपर्ने यस क्षेत्रका कर्मचारी लगायतलाई फाइदा पुग्नेछ । नगरप्रमुख कुँवरले भने, “बैंकले गर्ने लगानीबाट पनि जनताले फाइदा लिन सक्नेछन् ।”
योसँगै साँफेबगर नगरपालिकामा बैंकको संख्या ४ पुगेको छ । यसअघि साँफेबगरमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक र मेघा बैंक सञ्चालनमा छन् । साँफेबगरमा अब सिटिजन्स बैंक र एनआईसी बैंकले समेत आफ्नो शाखा विस्तार गर्ने तयारीमा रहेको बताइएको छ । राष्ट्रिय वाणिज्य बैंकको भने बयालपाटामा शाखा विस्तार भएसँग अछाममा २ वटा शाखा भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्