Logo

मह शिकार संकटमा

विश्वमा नै विरलै हुने मह शिकार लमजुङमा हुँदै आएको छ । कहालीलाग्दो भीर तथा पहराहरूमा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरूले भीरमहको शिकार गर्दै आएका छन् । भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय बिनातयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ । विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीर मह काढिँदा माहुरी मासिने खतरा त्यतिकै बढेको छ ।
देख्दै आङ जिरिङ हुने चट्टानी भीर । चरो पनि बस्न नसक्ने कहालीलाग्दो पहरा । त्यसैमा तुर्लुंङ डोरी झुन्ड्याएर लहरिनु । सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा परको हुन सक्छ । पत्याउन गाह्रो भए पनि सत्य यही हो, भीर मह काढ्दा थोरै गल्ती भएमा ज्यान पनि जान सक्छ ।
लमजुङमा भने मह शिकारले वर्षैपिच्छे स्थान पाउँदै आएको छ । यहाँका अधिकांश भीर पहराहरूमा भीर मह पाइन्छ । जाँगरिला मह शिकारीहरूले वर्षैपिच्छे मह शिकार गर्दै आएका छन् । अधिकांश स्थानका शिकारीले त यसलाई पुर्खौली परम्परा ठान्छन् । भीरमह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीहरूका लागि अचुक औषधिको रुपमा लिने भएकाले पनि गाउँलेहरू मह शिकार गर्न नछाड्ने मस्र्याङ्दी गाउँपालिका – ६ नाइचेका स्थानीय महशिकारी आसलाल गुरुङले बताए ।
भीर मह जस्तोसुकै भीरमा भने हुँदैन । भीरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँ कतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा शिकार गर्नका लागि चोयाको डोरीलाई साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखी भ¥याङजस्तो बनाएर डोरीलाई भीरको शिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर भीरमा मह काढ्ने गरिन्छ । विशेषगरी कार्तिक, मंसिर र वैशाख महिनामा भीर मौरीको मह काढ्न उपयुक्त मानिने मस्र्याङ्दी गाउँपालिका–६ नाइचेका अर्काे स्थानीय महशिकारी गंगा बहादुर गुरुङ बताए ।
कोलाहल र मानव वस्ती नरुचाउने भीर माहुरीहरू अहिले मानविय क्रियाकलापसँगै लोप हुन थालेको स्थानीय बताउँछन् । लमजुङका प्रायः गुरुङ बस्ती रहेको ठाउँहरूमा भीरमौरी रहेका छन् । भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दूधपोखरी, बन्सार, नाईचेलगायतका भीर पहराहरूमा भीरमौरीहरू प्रशस्तै मात्रामा पाईन्छ । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहराहरूमा भीरमौरीले घार बनाउने गर्दछ । ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीरमह विस्तारै लोप हुँदै गएका हुन् । भीरमौरीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिए पनि यस सम्बन्धी सरकारले योजना र कार्यान्वयनका लागि नीति नियम बनाउन नसक्दा भीरमह भीरमा नै थन्कनु त छँदैछ, यसबाट फाइदासमेत लिन नसकेको स्थानीयको भनाइ छ । सरकारी निकायसँग यसलाई संरक्षण गर्ने कुनै योजना नहुनु र यसबारेको अनभिज्ञताले भीरमौरीको संरक्षण हुन सकेको छैन ।
आस गुरुङ

प्रतिक्रिया दिनुहोस्