भीमेश्वर नगरपालिकाको दर्जन विधेयक पास

भीमेश्वर नगरपालिकाको हिउँदे अधिवेशन एक दर्जन विधेयक स्वीकृत गर्दै सकिएको छ । अधिवेशनले नगरपालिकालाई आवश्यक आधा दर्जन ऐन तयार गरेको छ । नगरपालिकालाई अति आवश्यक ऐन बनाएको नगरप्रमुख भरत केसीले बताए ।
नगर अधिवेशनबाट पारित भएका ऐनमा आधारभूत तथा माध्यमिक ऐन २०७४, आधारभूत सरसफाइ तथा फोहर व्यवस्थापन २०७४, कृषि तथा पशुपालन ऐन २०७४, प्रशासकीय कार्यविधि ऐन २०७४, सहकारी ऐन २०७४ सडक तथा सार्वजनिक मापदण्ड निर्धारण ऐन २०७४ लगाययका ऐन तयार गरेको हो ।
जेठ मसान्तसम्म योजना सक्ने
नगरपालिकाले जेष्ठ मसान्तसम्म चालू योजनाको कार्यक्रम सक्ने भएको छ । १५५ योजना रहेकोमा ४१ वटा योजना सम्पन्न भएका छन । त्यसैगरी अन्य योजना सम्झौता भई काम तीव्र गतिमा भइराखेको नगरप्रमुख मेयर केसीले जानकारी दिए । “असारमा काम गर्ने प्रवृत्तिलाई निरुसाहित गर्न जेष्ठ मसान्तमा योजना सक्ने लक्ष्य लिएको हौं,” मेयर केसी भने ।
नगरपालिकामा एउटै पोसाक
सदरमुकाम चरिकोटसमेत रहेको दोलखाको भीमेश्वर नगरपालिकाभित्रका विद्यार्थीलाई चालू शैक्षिक सत्रबाट एकै रङको पोशाक अनिवार्य गरिएको छ । अब निजी विद्यालय र सामुदायिक विद्यालयबीचको विभेद अन्त गर्नका लागि सबैलाई शिक्षक र विद्यार्थीहरूलाई एउटै प्रकारको पोशाकको व्यवस्था गरेको हो ।
वैशाख १ देखि सुरु भएको चालू शैक्षिक सत्रबाट भीमेश्वर नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १२ हजार विद्यार्थीलाई एउटै रङको पोशाक अनिवार्य गरिएको हो । सरकारी र बोर्डिङ स्कुलमा एउटै रङको ड्रेस अनिवार्य गर्दा बालमनोविज्ञानलाई ठूलो सकारात्मक प्रभाव पार्ने देखेर एउटै पोशाक अनिवार्य गर्ने अभियान चलाएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिए ।
यसअघि विद्यालयअनुसार फरक–फरक रङको पोशाक रहेकोमा सबै विद्यार्थी समान हुन् भन्ने धारणाको विकास गर्न यस्तो कार्यको थालनी गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तोकेको पोशाकमा आफ्नै विद्यालयको लोगो भने प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । एकै रङको पोशाक प्रयोगमा ल्याउँदा गरिबका बालबच्चा पढ्ने विद्यालय र धनीका बालबच्चा पढ्ने विद्यालय भन्ने भेदभावमा कमी आउने नगरपालिकाको विश्वास छ ।
भीमेश्वर नगरक्षेत्रभित्रका निजी १२ र सामुदायिक ४६ गरी कुल ५८ विद्यालयमा वैशाख दोस्रो साताबाट सुरु हुने कक्षामा एकै रङको पोशाक देखिने गरी अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । अभियानको सुरुवातमा भीमेश्वर नगरपालिका–७, मकैबारीस्थित कुटिडाँडा माध्यमिक विद्यालयको कक्षा १–५ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क ट्रयाक सुट वितरण गरिएको मेयर केसीले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाभित्र सामुदायिक विद्यालयमा शिक्षक घट्दो अवस्थामा र निजी विद्यालयमा बढ्दो अवस्थाप्रति चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयमा शिक्षकहरूकै कारण विद्यार्थी घटेको बताए । तालिम प्राप्त क्षमतावान शिक्षक र सुविधा सम्पन्न भवन हुँदाहुँदै पनि सामुदायिक विद्यालयप्रति अभिभावकको समेत विश्वास घट्दो अवस्थामा छ । यसलाई शिक्षकले नसुधारे विकल्प खोजिने समेत मेयर केसीले बताए । अब सरकारी विद्यालयमा पनि कक्षा एकसम्म अंगे्रजी माध्यमबाट शिक्षा दिने व्यवस्था गरिको मेयर केसीले जानाकारी दिए ।
नगर क्षेत्रभित्रको सामुदायिक विद्यालयको कक्षा १–५ मा अध्ययन गर्ने कुल ३ हजार विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गर्नका लागि करिब २० लाख लागतमा टेन्डर प्रक्रिया गरी ट्रयाक सुट खरिद गरिएको मेयर केसीले जनाए । भीमेश्वर नगरपालिका–७ को वडा कार्यालयले सिफारिस गरेको विपन्न कृष्णबहादुर सुवेदीको ४ वर्षीय छोरा सुमित सुवेदीलाई शिशु कक्षामा भर्ना गरी उक्त बालकको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने घोषणा गर्दै मेयर केसीले अभियानको सुरुवात गरेका थिए । विद्यार्थीहरूका लागि नगरभित्र एउटै लब्धांक पत्र तयार पार्न लागेको उनले बताए ।
केही साताभित्र शिक्षकहरूलाई पनि एउटै रङको पोशाक अनिवार्य गर्न छलफल भइरहेको जनाइएको छ । चालू शैक्षिक सत्रमा जिल्लाभर करिब ३ हजार नयाँ विद्यार्थी थपिने शिक्षा विकास तथा समन्वय इकाई दोलखाको प्रक्षेपण छ ।
–दिलबहादुर केसी