धितोपत्रको सेमी अनलाइन कारोबारको शुभारम्भ

सम्पूर्ण लगानीकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै घर एवं कार्यालयमै बसेर इन्टरनेटको माध्यमबाट ब्रोकर कम्पनीलाई धितोपत्र खरिद बिक्रीको आदेश दिन सकिने सेमी अनलाइन कारोबारको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेबतबहादुर कार्कीले आइतबार उद्घाटन गरे । ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंगाबाट उक्त सेवाको शुभारम्भ भएको हो ।
अनलाइन खरिद आदेश कुनै पनि ठाउँबाट लगानीकर्ताहरूले आप्mनो मोबाइल, एसएमएस र इमेलबाट गर्न सक्नेछन् भने खरिद बिक्रीको विवरणसमेत सोही प्रणालीबाट हेर्ने सुविधा छ । लगानीकर्ताहरूले हालसम्म टेलिफोनबाट वा ब्रोकरको कार्यलयमा नै पुगेर खरिद बिक्रीका लागि फाराम बुझाउनुपर्ने प्रावधान थियो ।
सेवाको सुभारम्भ गर्दै बोर्डका अध्यक्ष कार्कीले सेमी अनलाइनमार्फत धितोपत्र बजारमा लगानी गर्दा इन्साइडर ट्रेडिङ रोक्नसमेत सहज हुने बताए । त्यसैगरी ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले धितोपत्र बोर्डले चालेको कदमलाई सधै साथ दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, सीडीएस एन्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता सहभागी थिए ।