तेस्रो ठूलो अर्थतन्त्रमा भारतले जापानलाई उछिन्ने «

तेस्रो ठूलो अर्थतन्त्रमा भारतले जापानलाई उछिन्ने

आगामी १० वर्षको अवधिमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्रमा भारतले जापानलाई उछिन्ने बैंक अफ अमेरिका मेरिल लिन्चले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । ओरालो लागेको निर्भरताको अनुपात, वित्तीय परिपक्वता र बढ्दो आम्दानी तथा खर्च गर्न सक्ने क्षमताले देशको वृद्धिको नेतृत्व गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
“हामीले २०२८ देखि न्यूनतम जीडीपीको आधारमा भारतले जर्मनी र जापानलाई पछाडि पार्ने देखेका छौं । आगामी दशकमा भारतीय अर्थतन्त्र १० प्रतिशतका दरले वृद्धि हुने अवस्थालाई आधार मानेर यो निष्कर्षमा पुगिएको हो । यो जापानको १.६ प्रतिशतको तुलनामा ठूलो अन्तरले बढी हो,” प्रतिवेदनमा उल्लेख छ ।
‘इन्डिया २०२८ ः द लास्ट ब्रिक इन द वाल’ शीर्षकको प्रतिवेदनले देशको वास्तविक जीडीपी ७ प्रतिशतका दरले वृद्धि हुने र आगामी २०१९ मा भारत विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हुने जनाएको छ ।
“पहिलो त घट्दै गरेको निर्भरताको अनुपातले बचत र लगानीको दरलाई बढाउनेछ । दोस्रो भनेको वित्तीय परिपक्वता हो । अन्त्यमा बढ्दो आम्दानी र खर्च गर्न सक्ने क्षमताले ७ प्रतिशतको वृद्धि हासिल गर्नका लागि सहयोग गर्नेछ,” प्रतिवेदनले भनेको छ ।
निर्भरताको अनुपात ४६.२ प्रतिशतको हाराहारीमा हुने र यसले बचत दरमा जीडीपीको ३२ प्रतिशत कायम गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्