वीरगन्जमा सडक खाना महोत्सव «

वीरगन्जमा सडक खाना महोत्सव

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार वीरगन्जमा आयोजना गरिएको एकदिने ‘सडक खाना महोत्सव’ करिब २० हजार दर्शकले अवलोकन गरेका छन् । वीरगन्जको आदर्शनगरको लक्ष्मी बैंक चौकदेखि नेपाल राष्ट्र बैंक चौकसम्म साँझ ५ः०० बजेदेखि राति ११ः३० बजेसम्म भएको सडक खाना महोत्सवमा साढे चार लाखको खानाको कुपन मात्रै बिक्री भएको ग्रिन सिटी आदर्शनगरका सदस्य एवं मेला समितिका अध्यक्ष मुरली जालानले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सवमा २ लाख ४० हजारको कुपन बिक्री भएको थियो । यसपटक पाँचलाखको कुपन छपाइ भएको मध्य साढे ४ लाखको कुपन बिक्री भएको हो । महोत्सवमा खानेकुराहरू थकाली, मारवाडीलगायतका विभिन्न परिकारहरू, घोडचढी सवार तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि प्रस्तुति थियो । नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा महोत्सवको आयोजना गरेको महोत्सवमा ठेला, साइकल, रिक्सा, स्कुटर, टावर सेल्फी स्ट्याण्डका रूपमा निर्माण गरी सेल्फी स्ट्यान्डले दर्शकहरूको ध्यानकार्षण गराएको थियो । हरेक वर्ष वैशाख १ गते नेपाली नयाँ वर्ष भए पनि अधिकांश नेपालीहरू पछिल्लो समयमा अंग्रेजी नयाँ वर्ष इस्वी सन्लाई बढी महत्व दिन थालेपछि नेपालीको ‘नयाँ वर्ष वैशाख १ गते हो’ भन्ने बोध गराउनका लागि र वीरगन्जमा आन्तरिक रूपमा पर्यटन प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिएको ग्रिनसिटीका सदस्य जालानले बताए ।
उनले भने, “हरेक वैशाख १ गते नयाँ वर्ष हाम्रो हो तर हामी सधैं अंग्रेजी नयाँ बर्षमा बाहिर घुम्न जाने गरेका छौं । वीरगन्जमै हामी वैशाख १ गतेको नयाँ वर्ष मनाउन किन नसक्ने ? त्यसैले यसको विशेष महत्व दर्शाउनका लागि महोत्सवको आयोजना गरिएको हो ।” जनवरी १ तारिकमा भारतीय तथा नेपाली नागरिकहरू नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानमा जाने गरेका छन् । उनीहरूलाई वैशाख १ को नयाँ वर्षको महत्व बुझाउन र वीरगन्जलाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी वीरगन्जलाई वाह्य पर्यटकहरूको लागि पनि गन्तव्य बनाउने उद्देश्य रहेको उनको भनाइ छ ।
वीरगन्ज आर्थिक तथा औद्योगिक सहर भनिए पनि विभिन्न मेला तथा महोत्सवहरूमा खासै आकर्षण घट्दै गएकाले पर्यटन प्रवद्र्धनका लागि पनि यस्ता महोत्सवहरू आवश्यक रहेको ग्रिनसिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको भनाइ छ । उनी भन्छन्, “सबैजना नयाँ बर्ष मनाउन वीरगन्जभन्दा बाहिर जाने गरेका छन् । वीरगन्जमै हामी किन यस्ता महोत्सवको आयोजना गर्न सक्दैनौं ? गर्न चाहेमा वीरगन्जमा सबै प्रकारका मेला महोत्सवमार्फत विकास गर्न सकिन्छ । हामीलाई वीरगन्जवासीको साथ र सहयोग भए पुग्छ ।” साढे पाँच महिनाको भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण थलिएको वीरगन्जको आर्थिक विकासका लागि पनि यस्ता महोत्सवहरूको आवश्यकता रहेको व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्