Logo

ब्याजदर बढ्दा भन्सार मूल्यांकनमा समस्या बढ्यो : उद्योगी

उद्योगी व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडासामु बैंकहरूले जथाभावी रूपमा ब्याजदर बढाएकोदेखि भन्सार मूल्यांकनको समस्याले उद्योग व्यवसाय चलाउन समस्या भएको गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं साधारणसभामा सहभागी उद्योगी व्यवसायीहरूले बिहीबार अर्थमन्त्री खतिवडासँग गुनासो गरेका हुन् ।
कतिपय व्यवसायीले बैंकहरूलाई आफू खुसी ब्याजदर बढाउन नदिन आग्रह गरे भने कतिपयले भन्सार विन्दुमा सामान बोकेका गाडी पास गर्न एक साताभन्दा बढी समय लाग्ने स्थिति अन्त्य गर्न माग गरेका छन् । साधारणसभामा सहभागी कतिपय उद्योगी व्यवसायीले भन्सार मूल्यांकनबारे गुनासो गरे भने केहीले निर्यात बढाउने नीति के हो भनेर प्रश्न पनि गरेका छन् । झन्डै तीन दर्जनभन्दा बढी उद्योगी व्यावसायीका प्रश्नपछि अर्थमन्त्री खतिवडाले भन्सार विन्दुमा रहेका समस्या समाधान हुनेमा निश्चिन्त हुन उद्योगी व्यावसायीसँग आग्रह गरेका छन् ।
उनले भन्सार विन्दुमा राजस्व प्रशासनका कर्मचारीको कामलाई हरेक घण्टा नियालिरहेको भन्दै आफूले मुहान सफा गर्नेमा शंका नगर्न आग्रह गरे । उनले कम परिणाम घोषणा गर्ने र न्यून बिजकीकरण गर्ने काम नगर्न पनि आग्रह गरेका छन् । न्यूनविजकीरणको समस्या उद्योगी व्यवसायीमा देखिँदै आएको पुरानो समस्याका रूपमा छ । अर्थमन्त्री खतिवडाले मुलुकभित्रको बचतले मात्र कर्जाको माग धान्न नसक्ने भएकाले विदेशबाट पुँजी भिœयाउनुको विकल्प नरहेको भन्दै यस विषयमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । उनले निजी क्षेत्रले भिœयाउने विदेशी लगानीलाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले आवश्यक वातावरण तयार गरिदिए लगानी विस्तार र विदेशी लगानी भिœयाउन निजी क्षेत्र तयार रहेको बताएकी छन् । विभिन्न वहानामा उद्यमी व्यवसायीहरू माथि मुद्दा मामिला लगाउने कार्य यथावत रूपमा नै छ । करको मुद्दामा ५० प्रतिशतसम्म धरौटी राख्नुपर्ने व्यवस्थाबाट उद्यमी व्यवसायीहरूमाथि ठूलो अन्याय भएको छ । ५० प्रतिशतसम्म धरौटी राख्नुपर्ने व्यवस्था अन्त्य हुनु नै पर्छ । अहिले उद्योग व्यवसाय क्षेत्रमा अनुगमनको नाममा एक दर्जन भन्दा बढी निकायहरूले अनुगमन गर्दै आएको महासंघले जनाएको छ । “अनुगमन हुनु हुँदैन भनी हामी उद्योगी व्यवसायीहरूले कदापी भनेका छैन तर सीमित निकायहरूबाट मर्यादित किसिमले अनुगमन गर्ने व्यवस्था हुनुपर्छ,” अध्यक्ष राणाले भनिन् । उद्यमी व्यवसायीहरूको मान मर्यादा छविमा आँच नपुग्ने गरी मर्यादित ढंगबाट अनुगमन हुनुपर्नेतर्पm महासंघले सरकारको ध्यानआर्कषण गराएको छ । समयानुकूल औद्योगिक व्यावसायिक क्षेत्रको लागत मूल्य अत्यधिक मात्रामा वृद्धि हुन हुँदै आएको छ । हाल बैंकिङ प्रणालीमा भएको तरलताको अभावका साथै अत्यधिक मात्रामा वृद्धि भएको ब्याजदरबाट उद्योग व्यवसाय क्षेत्रमा अत्यन्त ठूलो असर पर्न गएको छ । छोटो अवधिमा नै ५ प्रतिशतसम्म बैंकले व्याजदर बढाउँदा पनि उद्यमी व्यवसायीहरू सहेरनै बस्नुपर्ने स्थिति रहेको दाबी महासंघको छ ।

 

प्रतिक्रिया दिनुहोस्