मेलम्ची सुरुङ पूरा «

मेलम्ची सुरुङ पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण पूरा भएको छ । २६ किलोमिटरको सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने तयारी छ ।
बिहीबार खानेपानीमन्त्री बिना मगर र एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया महानिर्देशक हुन किम सुरुङ छिचोलिएको अवसरमा आयोजित समारोहमा सहभागी भएका थिए । कार्यक्रममा किमले भने, “सुरुङ खन्ने काम पूरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वको कोसेढुङ्गा हो र यो वास्तवमै आयोजनाको अग्रगमनका लागि ठूलो छलाङ पनि हो, जसले चाँडै नै काठमाडौं उपत्यकाका बासिन्दाले बेहोरिरहेको खानेपानीको समस्या कम गर्न सहयोग गर्नेछ ।”
किमले सरकारको दृढ प्रतिबद्धताले मेलम्ची खानेपानी आयोजनालाई २०७२ को भूकम्प र त्यसैको नतिजास्वरुप सामग्रीको अभावलगायत विगतका असङ्ख्य चुनौती पार लगाउन र यो उल्लेख्य चरणमा आउन समर्थ बनाएकोमा प्रशंसा पनि गरे । मेलम्ची खानेपानी आयोजनाले १ लाख ५८ हजार ५ सय ४९ परिवारका करिब १३ लाख सहरी बासिन्दालाई उच्च गुणस्तरीय खानेपानी आपूर्ति गर्ने लक्ष्य राखेको एडीबीले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अहिलेको खानेपानी आपूर्ति सरदरमा प्रतिदिन करिब १० करोड लिटर छ, जसमा करिब ४० प्रतिशत चुहावटबाट खेर जाने गरेको अनुमान गरिएको छ । सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपभोक्तासमक्ष वितरणका लागि प्रतिदिन थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ । नयाँ प्रणाली सञ्चालनमा आएपछि केयूकेएलका उपभोक्ताका लागि दैनिक कम्तीमा २÷४ घण्टा खानेपानी आपूर्ति हुनेछ ।
“यस्तो राष्ट्रिय महत्वको आयोजनाको हिस्सेदार बन्न पाउँदा एडीबी गौरवान्वित छ,” नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर हामुद्खानोभले भने । उनले नेपालको सहरी खानेपानी क्षेत्रमा सरकारले गरेको सुधारको प्रशंशा पनि गर्दै सन् २०१८ मा काठमाडौंबासीले सुधारिएको खानेपानी सेवाको उपभोग गर्न सकुन् भनेर बाँकी काम पूरा गर्न ध्यान दिनका लागि संलग्न सबैलाई आग्रह गरे ।
३५ करोड ५४ लाख अमेरिकी डलरको मेलम्ची खानेपानी आयोजनाका लागि एडीबीले १४ करोड ५० हजार डलर ऋण उपलब्ध गराएको छ । सुरुङका साथै २९ किलोमिटर पहुँचमार्ग निर्माणका लागि सन् २००० देखि सरकारका साथ एडीबीले काम गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलको खानेपानी प्रशोधन प्लान्टको केही हिस्सामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को लगानी छ ।
यसैसँग सम्बन्धित अर्को आयोजनामा एडिबीले सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टको विस्तार गर्न, वितरण प्रणालीको आधुनिकीकरण गर्न, विद्यमान पूर्वाधारको पुनस्र्थापना गर्न र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सुदृढीकरण गर्न काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजनामार्फत नेपाललाई १७ करोड डलर प्रदान गरेको छ । यस्तै, एडीबीबाट ८ करोड अमेरिकी डलर ऋण लगानी गरिएको काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजना मार्फत ढल प्रशोधन प्लान्ट निर्माण गर्ने र ढलको सञ्जालको सुधार गर्ने लक्ष्य राखिएको छ ।
सरकारले जुलाईको सुरुसम्म सबै काम सम्पन्न गर्ने र सुरुङको परीक्षण गर्ने योजना बनाएको छ । यसले मेलम्ची नदीको पानी सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टमा जुलाइमा पठाउन र काठमाडौं उपत्यकामा नयाँ प्रसारण र वितरण प्रणालीको परीक्षण अगस्टमा सुरु गर्न सम्भव बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्