जनकपुर–जटही सडक निर्माणमा अनियमितता

धनुषाको दक्षिणवर्ती क्षेत्रमा निर्माणाधीन जनकपुर–जटही ६ लेन सडक खण्डको मुआब्जा वितरणमा विवाद देखिएको छ ।
जनकपुर–जटही ६ लेन सडक निर्माणका लागि गरिएको जग्गा अधिग्रहणको मुआब्जा वितरणमा असमानता देखिएको भन्दै स्थानीयवासी असन्तुष्ट देखिएपछि विवाद चुलिएको हो । यस सडक खण्डअन्तर्गत देवपुरा–रुपैठा, गंगुली, नगराइन तथा जटहीमा जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा विवाद देखिएको हो ।
कुल ७११ घरमध्ये २ सय ५ घरको मात्र मुआब्जा वितरण भएको छ । ६ लेन सडकखण्ड निर्माणका लागि जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायतमा असमानता देखिएको भन्दै स्थानीयवासी आक्रोशित देखिएका छन् । नगराइन नगरपालिका–५ बस्ने हृदयकान्तलाल कर्णले सडकको एकापट्टि बढी जग्गा अधिग्रहण गरिएको र अर्कोपट्टि थोरै जग्गा अधिग्रहण गरिएको र मुआब्जा वितरणमा समेत व्यापक अनियमितता भएको आरोप लगाएका छन् । उनले वडा र स्थानीय तहका प्रतिनिधिको समेत मिलिभगतमा सडक विस्तारका लागि जग्गा अधिग्रहण गरिएका कारण यस्तो असमानता देखिएको कर्णको भनाइ छ ।
स्थानीय राजेन्द्र मुखिया बिनले आफूहरू आवाज उठाउन नसक्ने सोचेर वडाध्यक्ष झाले आफ्नो मान्छेको जग्गा बचाउनका लागि एकापट्टि बढी जग्गा अधिग्रहण गरिएको र अर्कोपट्टि थोरै जग्गा अधिग्रहण गरिएको आरोप लगाए । उनले भने, “कति जनालाई बढी जग्गा अधिग्रहण गरिएको भन्दा थोरै जग्गा अधिग्रहण गरिएकोलाई बढी मुआब्जा गरिएकोप्रति रोष प्रकट गरेका छन ।” यता मुआब्जा अधिग्रहण तथा जग्गा अधिग्रहणलाई लिएर विवाद बढेको समयमा जनकपुर परिक्रमा व्यापारिक मार्ग विस्तार योजना जटही–जनकपुर सडक खण्डका प्रमुख दीपेन्द्र पाण्डेले मुआब्जा वितरण तथा जग्गा अधिग्रहणमा विवाद नरहेको दाबी गरेका छन् । पाण्डेका अनुसार साविकको सडकलाई केन्द्र बिन्दु मानेर सडकको दुवैपट्टि १५ मिटर जग्गा अधिग्रहण गरिएको छ । गाउँ ब्लकमा रहेको लालपूर्जावाला जग्गालाई प्रतिकठ्ठा ५ लाख ७० हजार र गाउँ ब्लकभन्दा बाहिरको जग्गालाई प्रतिकठ्ठा १ लाख ७५ हजारको दरले मुआब्जा वितरण गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा, नापी कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला प्राविधिक कार्यालय, योजना प्रमुख तथा वडाध्यक्ष वा नगरपालिका वा गाउँपालिकाको प्रमुखको उपस्थितिमा मुआब्जा वितरण तथा जग्गा अधिग्रहण गरिएकाले त्यसमा विवाद हुने कुरै भएन प्रमुख पाण्डे बताउँछन् ।
प्रमुख पाण्डेले नापी भइसकेको ९० प्रतिशत जग्गाको मुआब्जा वितरण भई सके पनि नापी नभएका जग्गाको मुआब्जा वितरण १५ प्रतिशतमात्रै भएको जानकारी दिए ।
जनकपुर परिक्रमा व्यापारिक मार्ग विस्तार योजना जटही जनकपुर सडकखण्ड निर्माणको क्रममा २ हजार ३५ घर पर्दछ जसमध्ये १ हजार ४ घर महोत्तरी जिल्लामा पर्छ भने १ हजार ३१ घर धनुषामा पर्छ । कुल १३.७८१ किलोमिटर सडकखण्ड निर्माणका लागि तीनवटा ठेकेदार कम्पनीले काम गरिरहेको छ । लामा डाँफे गुड, लामा डाँफे ढुकुच्छु र नागार्जुन कम्पनीले सो सडकखण्डको निर्माण गर्ने ठेक्का लिएको छ । जटही जनकपुर ६ लेन सडकखण्ड निर्माण कार्य पूरा गर्ने समयावधि २०७५ मंसिर मसान्तसम्म राखिएको छ ।
–किरण कर्ण