असिनाले अन्नबालीमा क्षति

डोटीमा असिनाले अन्नबाली तथा फलफूलमा व्यापक क्षति पुराएको छ । बिहीबार साँझ र आइतबार परेको असिनापानीले डोटीको आर्दश गाउँपालिका, सायल गाँउपालिका, के आइसिंह गाउँपालिकामा ब्यापक क्षति भएको छ । गहुँबाली, फलफूल तथा तरकारी खेतीमा क्षति पुराएको छ । जिल्ला कृषि विकास कार्यालय डोटीले जनाएको छ ।
असिनाले भित्रयाउन तयार भएको गहुँबालीलाई पूर्णरूपमा क्षति पुराएपछि कृषक चिन्तित बनेका छन् । सो क्षेत्रमा गत वर्ष पनि यसैगरी असिना पानी पर्दा लाखौंको अन्नबाली नष्ट भएको कृषक के आइसिं गाउँपालिकाकी स्थानीय निर्मला अवस्थीले बताइन् । अवस्थीले भनिन्, “अरु वर्षको भन्दा यस वर्ष राम्रो अन्न फलेको थियो । यो वर्ष सबैको घरमा खुसी पनि छाएको थियो । बीचमा अन्न किन्नु नपर्ने आशा बोकेकालाई यसपटकको असिनाले निकै चिन्तित बनाएको छ ।”
डोटीमा यस वर्ष बीचमा पानी नपरेर ३५ प्रतिशत खाद्यान्नमा समस्या हुने देखिएको थियो । त्यसैमा असिनाले गर्दा ८० प्रतिशत नै अभाव हुने देखिएको जिल्ला कृषि विकास कार्यालय डोटीका प्राविधिक सहायक मदन खड्काले बताए । उनले भने, “यो वर्ष अघिल्लो वर्षको भन्दा अतिकम उत्पादन देखिएको थियो त्यसैमा असिनापानीले गर्दा झनै उत्पादन घटेको छ ।”
“असिना पानीले कति मूल्य बराबरको क्षति पुरायो भन्ने विषयमा एकिन विवरण आइसकेको छैन्,” जिल्ला कृषि विकास कार्यालय डोटीका वरिष्ठ कृषि विकास अधिकृत डा. तपेन्द्र शाहले भने, “क्षतिको विवरण लिन इलाका प्रहरी कार्यालय र गाउँपालिका, हाम्रा कर्मचारी साथी मिलेर स्थलगत अध्ययन नै सुरु गरेका छन ।” उहाँहरूले डाटा ल्याएपछि नै सबै विवरण प्राप्त हुने उनले बताए ।