खोरुंगा खोलाको झोलुंगे पुल जीर्ण «

खोरुंगा खोलाको झोलुंगे पुल जीर्ण

खोरुंगा खोलामा रहेको झोलुंगे पुल जीर्ण भएको छ । म्याङलुङ, फेदाप र आठराई गाउँपालिका जोड्ने झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।
म्याङलुङको शाब्ला र फेदापको ओयाक्जुङ जोडिएको झोलुंगे पुलबाट साना सवारी साधन मोटरसाइकलसमेत आवतजावत गर्ने गरेका छन् । वर्षायाममा मात्र हैन बाह्रै महिना यो झोलुंगे पुलबाट स्थानीयवासीले जोखिम मोलेरै मोटरसाइकल तार्ने गरेको म्याङलुङ नगरपालिका आठका वडाध्यक्ष देउनारायण सम्बाहाङ्फेले बताए । “खोलाको बाटो जाँदा पुरै डुबिन्छ,” उनले भने, “आँट गरेर पुलबाटै तार्ने गरेको छु।”
पानीको बहाबले खोलाबाट मोटरसाइकल तार्न समस्या हुने भएकाले पुलबाटै दैनिक दुई दर्जन बढी मोटरसाइकल वारपार गर्ने गरेको स्थानीय होटल व्यावसायी बमबहादुर लिम्बुले बताए । “सकुसल तर्ने कममात्र भेटिन्छन्,” लिम्बु भन्छन्, “कहीं न कहीं त ठूलो सानो चोट लागेकै हुन्छ ।”
चारदशक अगाडि बनेको झोलुंगे पुल र दुवै छेउको गोरेटो बाटो साँगुरो भएपछि केही मोटरसाइकल अड्किएर सवारी चालक घाइते हुने गरेको फेदाप गाउँपालिका जलजलेका ईन्द्र नेपालीले बताए । उनका अनुसार पुलमा राखिएको काठको तक्तासमेत मक्किएको र कुनै भाँचिएकाले मोटरसाइकल तार्न झनै कठिन हुन थालेको छ । पुलको छेउ छेउमा राखिएको जालीसमेत च्यातिएकोले यहाँ हिँड्ने बटुवालाई समस्या भएको छ ।
तत्कालीन जिल्ला विकास समिति तेह्रथुमले पुल हेरालुको ब्यवस्था गरेर रेखदेख गर्दै आए पनि अहिले पुल हेरालुको बारेमा स्थानीय सरकारले चासो नदिँदा पुल दिन प्रतिदिन पुरानो र जीर्ण बन्दै गएको स्थानीय बताउँछन् । साविकका १२ वटा गाविसका नागरिक सदरमुकाम म्याङलुङ आउँदा हिँड्ने गरेको यस झोलुंगे पुल करिब चारदशक अघि निर्माण गरिएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोरुंगा खोलामा अहिलेसम्म पक्की पुल बन्ने सुरसारसमेत नहुँदा खोलामा पानीको बहाब बढेसँगै नौ महिनामात्र सवारी साधन चल्ने गरेको यातायात ब्यवसायी डिल्ली रेम्मीले बताए ।
अहिले सुख्खा मौसममा म्याङलुङदेखि आठराईको संक्रान्ति हुँदै फिदिमसम्म सवारी साधन चल्ने गरे पनि खोलामा पानीको बहाब बढेपछि सवारी साधन बन्द हुने गरेको ट्याक्सी ब्यवसायी संघ तेह्रथुमका इन्चार्ज सन्तोष निङ्लेखुले बताए । उनले भने, “खोलामा पक्की पुल नहुँदा बर्खा लागेपछि कुनै गाडी पनि खोला तर्दैनन् ।”
झोलुंगे पुल रेखदेखको जिम्मा म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकालाई भएकाले दुवै स्थानीय तहसँग समन्वय गरेर चाँडै पुलको मर्मत गरिने जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताए । “जोखिमबारे दुवै स्थानीय तहका प्रमुखसँग छलफल गरिसकेकाले समस्या समाधानका लागि चाँडै पहल हुनेछ,” ढुंगानाले भने ।
प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्