स्वास्थ्य केन्द्रको भवन निर्माण नसक्दै भत्कियो «

स्वास्थ्य केन्द्रको भवन निर्माण नसक्दै भत्कियो

झापाको कनकाई नगरपालिका–३ सुरुंगा बजारमा निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाको भवन निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।
दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले पाँच करोड ५२ लाख ५८ हजार २३९ रुपैयाँको लागतमा भवन निर्माण सुरु गरे पनि उक्त निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गर्दा निर्माण नसक्दै भवन भत्किएको हो । नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६४५ रुपैयाँको अनुमानित लागतमा भवन निर्माणका लागि टेण्डर आव्हान गरेको थियो भने दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले पाँच करोड ५२ लाख ५८ हजार २३९ रुपैयाँको लागतमा भवन निर्माणको टेन्डर पारेर भवन निर्माण सुरु गरेको थियो ।
२०७२ साल चैत १० गतेबाट निर्माण प्रारम्भ भएको भवनको २०७४ चैत १० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको र भवन निर्माण सम्पन्नसँगै १५ शै्याको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । २०७२ साल चैत १० गतेबाट निर्माण प्रारम्भ भएको भवनको निर्माण कम्पनी दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले कमसल सामग्री प्रयोग गर्दा निर्माणाधीन भवनको भित्ता फुस्फुसी खस्ने र ढलान गरिएको भुइँको पनिङ पनि पक्पकी उप्किन थालेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाका अध्यक्ष रुद्रप्रसाद चिमरियाले बताए ।
स्थानीयवासीले निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्रको भवन गुणस्तरहीन भएको भन्दै चर्काे विरोध जनाएका छन् । यसमा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता नदेखिएता पनि यसको रेखदेखको जिम्मा र गुणस्तरहीन काम भए खबरदारी गर्ने काम व्यवस्थापन समितिको हुने स्थानीय समाजसेवी हरिभक्त संग्रौलाले बताए । उनले स्थानीयको अनुगमन नभएमा सरकारी कामको गुणस्तरीयता कमजोर हुने निर्माणाधीन भवनले प्रमाणित गरेको बताए । स्थानीयको विरोध बढ्दै गएपछि र सामाजिक सञ्जालमा यसको विपक्षमा आवाज उठेपछि कनकाई नगरपालिकाले भवन निर्माणको काम तत्काल रोक्न निर्देशन दिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । निर्माण व्यवसायीलाई भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न निर्देशन दिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
नगरप्रमुखका नाताले प्राथमिक स्वास्थ्य केन्द्रको संरक्षक आफू भए पनि भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरिएका कारण भवन निर्माणका विषयमा आफूहरूले सम्बन्धित निकायलाई जानकारी गराएको र निर्माण भइरहेको भवन रोक्न निर्देशन दिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्दा गुणस्तरीय सामानको प्रयोग नगरेकाले यो काम आफैंमा दण्डनीय भएकाले यसले कनकाई नगरकै गरिमामा आँच पु¥याएको कनकाई नगरपालिकाका नगरप्रमुख पोखरेलले बताए ।
तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्