बर्दियाका नदी व्यवस्थापन गर्न बृहत् परियोजना «

बर्दियाका नदी व्यवस्थापन गर्न बृहत् परियोजना

हरेक वर्ष नदी कटान र बाढीबाट ठूलो क्षति व्यर्होनु परेपछि बर्दियाका तीन नदी व्यवस्थापनको काम एकैपटक अगाडि बढाइएको छ । जिल्लाभित्र भएर बग्ने बबई, भादा र औरही नदी व्यवस्थापन तथा प्रकोप न्यूनीकरण गर्ने कार्य बृहत् परियोजनाको रूपमा अगाडि बढाइएको हो ।यसअघि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगन्जमार्फत काम हुँदै आएकोमा गत असोज ९ गते परियोजना स्वीकृत भएर गुलरियामा बबई, भादा र औरही नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको थियो ।
आयोजनाअन्तर्गत तीनवटै नदी नियन्त्रणका लागि करिब १७ अर्ब रुपैयाँ लगानीमा नदी नियन्त्रणका कामहरू हुने बबई, भादा र औरही नदी व्यवस्थापन आयोजनाका आयोजना प्रमुख नारायण सुवेदीले बताए । “नदी व्यवस्थापन तथा प्रकोप न्यूनीकरणका काम सँगसँगै हुनेछन्,” उनले भने, “अब पहिलाजस्तो टुक्रे काम हुने छैनन् ।”
आयोजनाअन्तर्गत बबई नदी व्यवस्थापन गर्न १३ अर्ब २१ करोड ८ लाख खर्च हुने गरी प्रस्तावित गुरुयोजना बनाएर काम अगाडि बढाएको छ । यसअघि ३ अर्ब ९२ करोड १७ लाख १० हजार लागत अनुमान रहेको डीपीआर जलउत्पन्न प्रकोप विभागवाट स्वीकृत भई गुलरिया नगरपालिकाका विभिन्न स्थानमा नदी तटबन्ध तथा व्यवस्थापन गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए । स्वीकृत डीपीआरले बबई नदीको व्यवस्थापन कार्य पूर्ण नहुने भएपछि बबई पुलदेखि नेपाल भारत सीमासम्म समेटने गरी विस्तृत आयोजना प्रतिवेदनलाई परिमार्जन गरिएको हो । परिमार्जित प्रतिवेदनअनुसार बबई नदीको दायाँ ४८ किमि र बायाँ किनारा ४६ किमि तटबन्ध निर्माण गरिने छ । उक्त प्रतिवेदन विभागमा स्वीकृतिको चरणमा रहेको आयोजनाले जनाएको छ ।
 त्यस्तै भादा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि २ अर्बको लागतमा करिब १७ किमि तटबन्ध निर्माणको काम हुनेछ  । हाल भादाको अध्ययन कार्य भइरहेको र प्रतिवेदनको मस्यौदा र प्रारुप तयार भई जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा पेश भएको बताइएको छ ।त्यसैगरी औराही नदी नियन्त्रण तथा ब्यवस्थापनका लागि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवपुर हुँदै गेरुवा औरही दोभानसम्म पौने दुई अर्बको लागतमा २६ किमि नदी नियन्त्रणको काम हुने प्रमुख सुवेदीको भनाइ छ । 
आयोजना सञ्चालनका लागि बजेट अभाव
तीनवटै नदीका लागि प्रस्तावित योजनाअनुसार काम गर्न बढी प्रभावित ६ वटा प्याकेजमा टेण्डर प्रक्रिया अगाडि बढाइएको छ । गुलरिया नगरपालिका अन्तर्र्गत अतिजोखिम मानिने प्रयागपुर, पशुहाटबजार र लटकनियामा पहिलो चरणमा काम अगाडि बढाइएको हो । तर ती योजना सञ्चालनका लागि यसवर्ष न्यूनमात्र बजेट निकासा हुँदा आयोजना सञ्चालनमा समस्या हुने देखिएको आयोजनाले जनाएको छ । “यस आवमा डेढ अर्बको सम्झौता भएको छ,” प्रमुख सुवेदीले भने, “तर हामीसँग हालसम्म २९ करोडमात्र बजेट निकासा भएको छ ।” समयमै बजेट निकासा भएन भने आयोजनाको समग्र काम प्रवाभित हुने उनको भनाइ छ । 
लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्