रानी तलाउलाई बोटिङ विहारमा परिणत गरिने «

रानी तलाउलाई बोटिङ विहारमा परिणत गरिने

नेपालगन्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउलाई ‘रानी तलाउ बोटिङ विहारका’ रूपमा रमणीय स्थान बनाई पर्यटक आकर्षित गर्न सो तलाउ पुनर्निर्माण सुरु गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको २२ लाख ७८ हजारको लागतमा पन्त कन्सट्रक्सनमार्फत असार १५ सम्म निर्माण कार्य सकिसक्ने गरी पुनर्निर्माण सुरु गरिएको उपमहानगरले जनाएको छ ।
बर्षौदेखि जीर्ण अवस्थामा रहेको सो ऐतिहासिक रानी तलाउको पुनर्निर्माण कार्य सुरु गरिएको जनाउँदै रानी तलाउ जीर्ण हुँदा डेढ दशकदेखि उपयोगविहीन रहेको उपमहानगरपमुख धवल शमसेर राणाले बताए । नगरप्रमुख राणाका अनुसार तलाउको पर्खालका लागि सिमेन्ट, इटा राखेर पुनर्निर्माण कार्य शुभारम्भ गरिएको छ । तलाउको माटो सम्याउने, पर्खाल, क्यान्टिन निर्माण-मर्मत गरिने, दक्षिणतर्फ ३ वटा कटेज बनाइनुका साथै डिपबोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगामार्फत बोटिङ व्यवस्था गरिने तयारी छ ।
खानेपानी संस्थानको प्राविधिक सहयोगमा डिपबोरिङमार्फत नियमित पानीको व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ । पूर्व र पश्चिमतर्फ रमणीय पार्क बनाई बालबालिकाका लागि चिप्लेटी, ढिकी च्याउ आदिको व्यवस्था गरिने उपमहानगरपालिकाका प्राविधिक तथा योजना शाखाका प्रमुख एवं इन्जिनियर सुरज गुप्ताले जानकारी दिए ।
निर्माण कार्य शुभारम्भका अवसरमा उपमहानगरप्रमुख राणाले जिर्णोद्धार र व्यवस्थापनका लागि तदारुकताका साथ काम गर्न ठकेदार कम्पनीलाई निर्देशन समेत दिएका छन् । रानी तलाउ पुनर्निर्माणसँगै रानी तलाउको रौनकता फेरिने र आयस्रोतको भरपर्दो माध्यम बन्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्