पानी सुनिश्चित गर्न सहरी जलाधार व्यवस्थापन प्राथमिकतामा

सरकारले पानीको उपलब्धता सुनिश्चित गर्न सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको छ । पछिल्लो समय सहरी क्षेत्रमा बढ्दै गइरहेको जनसंख्यासँगै पानीको समस्या बढ्दै गइरहेको भन्दै दिगो समस्या समाधान खोज्दै सरकारले सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
काठमाडौं उपत्यका, धरान, रामेछापको मन्थली, डडेल्धुरालगायतका सहरी क्षेत्रमा बढ्दो पानीको समस्याको दिगो समाधान खोज्दै सरकारले चालू आवबाट सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको हो । उपत्यकामा पछिल्लो समय बढेको पानीको समस्या समाधान गर्न मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढिरहेको छ । तर जलाधार संरक्षण हुन नसके पानीको मुहान नै सुक्न सक्ने र केही वर्षपछि मेलम्चीको पानी उपत्यकावासीले उपभोग गर्न नपाउने जलाधारविद्हरूले बताएका छन् । दिगो रूपमा पानीको समस्या समाधान गर्न जलाधार व्यवस्थापन कार्यक्रमअन्तर्गत, पानीको मुहान संरक्षण, वृक्षारोपणलगायतका कार्यक्रम गर्न आवश्यक रहेको भू–तथा जलाधार विभागले बताएको छ । विभागले चालू आवबाट सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।
खानेपानीको बढ्दो समस्या समाधानको भावी रणनीतिसहित सहरी जलाधार व्यवस्थापनको कार्यक्रमलाई प्राथमिकता दिइएको बताउँछन्, विभागका महानिर्देशक डा. अखिलेश्वर कर्ण । “जलाधार व्यवस्थापनको महत्वलाई बुझ्न नसक्दा, आज कयौं पानीका मुहान सुके, जलस्रोतमा धनी भएर पनि हामी दिन प्रतिदिन, पानीको समस्याबाट गुज्रिरहेका छांै, आज उपत्यकालगायत कयौं सहरमा पानी किनेर खानुपरेको छ, घण्टौं लाइनमा बसेर पानी ल्याउनु परेको छ,” उनले भने, “यस्ता समस्या समाधानका लागि जलाधार संरक्षणका काम अनिवार्य छ, तर जलाधार संरक्षणका कार्यक्रमले प्राथमिकता पाउन सकेनन् ।”
कर्णले स्थानीय सरकारले जलाधार संरक्षणको कार्यक्रमलाई महत्व नदिएकाले भावी दिनमा जलाधार संरक्षणमा चुनौती आउने बताए ।
विभागका उपसचिव प्रकाशसिंह थापाले सहरी क्षेत्रमा पानीको निरन्तर उपलब्धतालाई सुनिश्चित गर्न सकेमात्रै भावी दिनमा आउन सक्ने पानीको हाहाकारका समस्या समाधान गर्न जलाधार व्यवस्थापन कार्यक्रम आवश्यक रहेको बताए । “पछिल्लो समय ग्रामीण भू–भागमा भन्दा पनि सहरी क्षेत्रमा बढी पानीको समस्या बढ्दै गइरहेको छ, समस्या समाधान गर्न मेलम्चीजस्तै अरु पनि खानेपानीका आयोजना सञ्चालन गर्न त सकिएला तर मुहान संरक्षण छैन र मुहान नै सुक्दै गए भने आयोजना सञ्चालन हुँदैमा खानेपानीको निरन्तर उपलब्धता नहुन सक्छ,” उनले भने, “यस्ता समस्याको दीर्घकालीन समाधान खोज्दै सहरी जलाधारका कार्यक्रम लागू गरिएको छ, आगामी दिनमा अझै पनि यस्ता कार्यक्रमले प्राथमिकता पाउन आवश्यक छ ।”
पानीको मुहानको स्रोत आयुसम्बन्धी अध्ययन, मुहान पहिचान, वातावरणमैत्री विकास, पोखरी निर्माण, दिगो आपूर्तिको एकीकृत जलाधार व्यवस्थापन, कम खर्चिलो भू–प्रविधि, वृक्षारोपण, ड्याम बनाउन आवश्यक छ, वर्षात्को पानी संरक्षण, वृक्षारोपण तथा कम खर्चिलो भू–प्रविधि प्रयोग गर्दै जलाधार संरक्षण गर्नुपर्ने उनको भनाइ छ । “पछिल्लो समय निर्माण भइरहेका कच्ची सडकका कारण पनि पानीका मुहान सुक्दै गइरहेका छन्, यसमा सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी छ,” थापाले भने ।