दुई वर्षे बालकको दुवै मृगौला फेल, आर्थिक अभावले उपचारमा समस्या

गुल्मीमा २ वर्षीय बालकका दुवै मृगौलाले काम गर्न छोडेपनि आर्थिक अभावका कारण घरमै बस्न बाध्य भएका छन् । जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेका २ वर्षीय जक्सन गिरीको दुवै मृगौला फेल भएर काम गर्न छोडेपछि परिवारले उपचारका लागि सहयोगको याचना गरिरहेका छन् ।
“आर्थिक अभावमा २ वर्षको छोरालाई घरमै राखेकी छु,” बालककी आमा हिमा गिरी भन्छिन्, “उपचार गर्नको लागि पाल्पाको मिसन अस्पतालमा लगेकोे थिएँ, धेरै रकम लाग्ने भएपछि घरमै ल्याएर राखेकी छु ।” उपचारमा अहिलेसम्म ३ लाख रुपैयाँ खर्च भइसकेको र अब कति रकम लाग्ने भन्ने पनि यकिन नभएको गिरीको भनाइ छ ।
आर्थिक अभावका कारण साँझ विहान हातमुख जोड्न दिउँसोभर मेलापात पुग्नुपर्ने गिरी परिवारमा परेको यो बज्रपातले रातमा निदाउन पाएको छैन । “छोरो मर्छ कि भन्ने पीरले मृगौलाले काम गर्न छोडेको कुरा थाहा पाएपछि राम्रोसँग निदाएकी छैन,” बालककी आमा गिरीले भनिन्, “सहयोग गरिदिएर छोरा बाँच्यो भने त मलाई अरु केही चाहिँदैन ।”
छोराको उपचारका लागि थप रकम बन्दोबस्त गर्न नसकेपछि घरै ल्याएको हिमाले हिमाको भनाइ छ । हिमाका श्रीमान् सामान्य कृषक हुन् । दिउँसोभर मेलापात गरेर साँझ परिवारमा हातमुख जोड्न पनि मुस्किल पर्ने गरेकोे छ । छिमेकबाट ऋण गरेर उपचार गरे पनि अब त्यो सम्भावना पनि नभएको परिवारको भनाइ छ । आर्थिक अभावका कारण विहान साँझ हातमुख जोड्न दिउँसोभर मेलामा पुग्नुपर्ने अवस्था रहेको गिरी परिवार २ वर्षीय छोराका दुवै मृगौला फेल हुदाँँ विचल्लीमा परेका छन् ।
“मृगौला पीडितको सहयोगको लागि मालिका गाउँपालिका ५ छापहिल वडाले सबैसँग अनुरोध गरेको छ । हामी पनि सहयोगको लागि निरन्तर खटिरहेका छौँ,” वडाध्यक्ष श्यामलाल गिरीले भने । त्यस्तै छापहिले स्थायी घर भई हाल कतारमा रहेका सामाजिक अभियन्ता लोकेन्द्र खड्काले पनि पीडितलाई सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् । सहयोगका लागि हिमा गिरीको बैंक अफ काठमाडौंमा रहेको २१८४०००००२६६५२४ खाता नं. मा जम्मा गर्न सकिने छ ।
सन्तोष महतारा