एनालग टेलिभिजन भोलिदेखि बन्द

सरकारले मंगलबार (भोलि)देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो ।
गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि स्तरोन्नती गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि स्तरोन्नतीमा ध्यान दिन पनि आग्रह गरेको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि स्तरोन्नती नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने बताए । “निर्धारित समयसीमा काटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराउँछ,” उनले भने, “अब अनुगमन टोलीले सेवा बन्द गराउँदा किन बन्द गरियो भन्ने प्रश्न कुनै सेवा प्रदायकले गर्न पाउनेछैन ।”
केवल टेलिभिजन महासंघमा आवद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ । महानगरपालिकामा गएको वैसाख १५, उपहानगरपालिकामा र नगरपालिकामा यही कात्तिक १५ तथा गाउँपालिकालाई आउने वैशाख १५ सम्मको समयसीमा दिइएको छ । गाउँपालिका बाहेक सबैको सीमा सकिएको छ ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा गुर्नपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो । सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरूलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको छ । “एनालग भन्दा डिजिटलमा पिक्चर सफा वा क्वालिटी आउँछ । त्यतिमात्रै नभएर एकै ठाउँमा बसेर सबै प्रकारको इन्कोडिङ र डिकोडिङ मिलाउन सकिन्छ,” प्रवक्ता ढकालले भने । डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्यांक आउन गाह्रो भएको छ भने सरकारले पाउनुपर्ने राजश्व पनि पाएको छैन । एनालगबाट डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजारदेखि ४ हजार ५ सयसम्म पर्छ । एनालग टेलिभिजन बन्द भएपछि ग्राहकले आफ्नो घरमा अनिवार्य रुपमा सेटअप बक्स राख्नैपर्छ । सेवामा गुणस्तरीयता हुने भएपनि सेटअप बक्सका कारण ग्राहकलाई आर्थिक भार भने पर्नेछ ।
एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरूले हटाइसकेका छन् । छिमेकी देश चीन र भारतले समेत एनालग प्रविधि हटाइसकेका छन् । नेपालमा अहिले डिस मिडिया नेटवर्कको डिसहोम, सुविसु केवल नेटवर्कको क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कको सिमटिभीलगायतले डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका छन् ।