Logo

निर्माण व्यवसायीले गरे पूर्वाधार विकास कार्यालयमा तालाबन्दी

भोजपुरका निर्माण व्यवसायीले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् ।
निर्माण व्यवसायीहरूले काम सम्पन्न गरी बिल पेस गरेको लामो समयसम्म रकम निकासा नदिएको भन्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारको कानुन र निर्देशनलाई पालना गर्दै कोभिड १९ जस्तो महामारी र अविरल वर्षाका बावजुत पनि तोकिएको समयमा काम सम्पन्न गरी बिल पेस गर्दा पनि प्रदेश सरकारले रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै प्रदेशअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय भोजपुरमा तालाबन्दी गरेको निर्माण व्यवसायी श्याम श्रेष्ठले जानकारी दिए ।
काम सम्पन्न गरी बिल पेस गर्दा पनि भुक्तानी नपाएपछि निर्माण व्यवसायी समस्यामा परेको व्यवसायीहरू बताउँछन् । भुक्तानी नहुँदा व्यवसायीसँग सम्बद्ध श्रमिक, व्यापारी र आम मजदुरसमेत मारमा गरेको अर्का निर्माण व्यवसायी उत्तम खड्काले बताए । निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने काम प्रदेश सरकारले गरेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरी रकम भुक्तानी नभएसम्म दैनिक कामकाज ठप्प पार्ने व्यवसायीहरूले बताएका छन् ।
ठेकेदार कम्पनीले काम नसक्दा कालोसूचीमा राखी कारबाही गर्ने सरकार अहिले काम समयमा नै सम्पन्न गर्दासमेत भुक्तानी नदिँदा निर्माण व्यवसायी आक्रोसित भएका छन् । काम सम्पन्न गरी भुक्तानी पाउनु पर्ने करिब १५ करोड रहेको व्यवसायीले बताएका छन् ।
यता पूर्वाधार विकास कार्यालय भोजपुरले भने गत २५ गतेसम्म भुक्तानी सहजै भए पनि प्रदेशबाट हाललाई भुक्तानी रोक्नु भन्ने निर्देशन आएका कारण रोक्न बाध्य भएको पूर्वाधार विकास कार्यालय भोजपुरका कार्यालय प्रमुख ई. राजनराज रेडीले बताए । केही भुक्तानी कोलेनिका पठाएको र कोलेनिकाले पनि भुक्तानी नपठाउनु भनेका कारण भुक्तानी हुन नसकेको रेडीको दाबी छ । कार्यालय प्रमुख रेडीका अनुसार यो समय आर्थिक वर्ष अन्त्यको समय भएका कारण अन्य धेरै कार्य गर्नुपर्ने भएकाले र प्रदेश सरकारसँग समन्वय गरी रकम भुक्तानीको कार्य अगाडि बढाउनु पर्ने भएकाले कार्यालयमा तालाबन्दी गरेर समस्याको समाधान गर्नुको साटो समस्या थपिएको बताए । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत भोजपुरमा ३० र धनकुटामा २५ योजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्