बलेवामा भोलिरदेखि नियमित उडान «

बलेवामा भोलिरदेखि नियमित उडान

परीक्षण उडान सफल भएपछि साढे दुई दशक अघिदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको । जिल्लाको नारायणस्थानमा रहेको विमानस्थलमा सोमबार तारा एयरले गरेको परीक्षण उडान सफल भएपछि अब विमानस्थल नियमित सञ्चालनमा अउने भएको हो ।
तारा एयरको ९ एन ए के एल विमानले सोमवार मध्यान्न पोखराबाट उडान भरेको थियो । नागरिक उडड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलाइन्सका प्रतिनिधि, बागलुङ नगरपालिका पूर्वसांसदबीच दुई साताअधि भएको निर्णयअनुसार शुक्रबार परीक्षण उडान गरिएको हो । विमानस्थलको धावनमार्ग तथा अन्य प्राविधिक अवस्था परीक्षणका लागि नेपाल एयरलाइन्स तथा यती एयरलाइन्सका ३ पाइटल तथा नागरिक उड्डयान प्राधिकरणका ९ जना प्रविधिक सहितको टोली बलेवा उत्रिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज शर्माले बताए ।
शर्माका अनुसार शुक्रबारदेखि सातामा दुई दिन नियमित उडान हुनेछ । चैतको १५ गते ताराको दोस्रो उडान हुनेछ । चैतको १८ पछि प्रत्येक साताको आइतबार काठमाडौं–बलेवा–काठमाडांै ताराको उडान हुनेछ । यस्तै प्रत्येक साताको बिहीबार नेपाल एयरले उडान भर्ने यस अगाडिनै सम्झौता भइसकेको तारा एयरको बजार विभागका निर्देशक सरल राणाले बताए ।
विमानस्थल तत्कालित द्वन्द्वको कारण देखाउँदै ०४८ सालदेखि बन्द अवस्थामा थियो । यस अगाडि पटक–पटक विमास्थल पुनः सञ्चालनमा ल्याउने चर्चा चलेपनी सार्थक भने हुन सकेको थिएन । विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधारका काम, विमानस्थल वरिपरिका रूखहरू काट्नुपर्ने प्राविधिक टोलीको सुझावसहित रूख काट्ने, विमानस्थल सम्याउने, चट्टान तथा ढुंगाहरू हटाउने काम सम्पन्न भएपछि परीक्षण उडान सुरु गरिएको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । “एयरलाइन्सको प्राविधिक टोलिले अध्ययन गरेपश्चात् नगरपालिकासँगको सहकार्यमा विमानस्थल वर परको संरचना मर्मत गर्ने कार्य सम्पन्न गरेका छौं,” खत्रीले भने “नियमित उडान हुने भएपछि विमास्थललाई स्थायी रूपमा नै विकसित गरिँदै लगिनेछ ।”
सम्झौताअनुसार, नगरपालिकाले काठमाडौं–बलेवा र बलेवा काठमाडौं दुवै रुटका लागि कम्तीमा १२-१२ जना यात्रु उपलब्ध गराउनुपर्ने र उक्त संख्यामा यात्रु नभएको खण्डमा यात्रुको खुद भाडा कम्पनीलाई उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । दुई वर्ष पहिले नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माको पहलमा विमानस्थल सञ्चालन गर्ने भनी परीक्षण उडान गरे पनि विमानस्थल सञ्चालनमा आउन सकेको थिएन । त्यतिबेला बागलुङ नगरपालिकाले सम्झौता नगरेका कारण सञ्चालनमा आउन नसकेको स्थानीयले आरोप लगाएका छन् । परीक्षण उडानपश्चात् सञ्चालनमा आउने भएपछि बलेवा क्षेत्रमा चहलपहल बढ्दै जान थालेको छ । विमानस्थल सञ्चालनमा आएपछि समग्र जिल्लाको पर्यटन र आर्थिक समृद्धिमा टेवा पुग्ने उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । “विमानस्थल सञ्चालन भएपछि जिल्लाम पर्यटकको अवगमन उल्लेख्य वृद्धि हुने अपेक्षा राखेका छौं,” भारीले भने ।

-त्रिलोचन रिजाल 

प्रतिक्रिया दिनुहोस्