गण्डकीमा कृषकलाई धान रोप्न चटारो

कास्कीमा २०, पोखरा ३०, स्याङजामा भने १५% रोपाई सकियो
पोखरा-यति बेला कृषकलाई धान रोप्नको चटारो भएको छ । मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिइने असार महिनामा मौसमले पनि साथ दिँदा बाँझो खेतमा हाल कृषकहरुले वर्ष दिनलाई खाने अन्न धान रोप्न व्यस्त भएका छन् ।
ढावा खेत तथा बाँझो खेतमा तराईदेखि पहाडी क्षेत्रमा यति वबला किसानहरु धान रोप्न सुरु गरेका छन् । असार महिना लागेसँगै पानी पनि लगातार जस्तै पर्दै आएकोले गर्दा यसपाली किसानहरुले बाँझो खेतमा समयमै धान रोप्न लागेका हुन् ।
तीन बाली उत्पादन हुने अधिकांश ठाउँमा मकै लगाइएकाले असारको तेश्रो सातादेखि मात्र धान रोप्न सुरु हुने किसानहरु बताउँछन् ।
यस वर्षको वर्षायाम सुरु भएसँगै समयमै पानी पर्न थालेकाले बाँझो खेतका धेरै ठाउँमा यति बला धान रोप्न किसानलाई भ्याई नभ्याई भएको कृषि ज्ञान केन्द्र कास्की–स्याङजा कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए । उनका अनुसार कास्कीमा करिब २० र स्याङजामा १५ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । कास्कीमा करिब १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यसपाली समयमै पानी परेकोले धान उत्पादन समेत वृद्धि हुने र करिब सतप्रतिशत जसो धान रोपाई हुने अपेक्षा गरेको उनले जनाए । पोखरेली जेठोबुढो, रामधान, कोमल खुमल ४, हाइब्रिड र स्याङजामा भने रामधान, हाइब्रिड लगायतका जातको धान रोपाइँ हुने गरेको प्रमुख अधिकारीले जनाए ।
त्यसैगरि पोखरामा हालसम्म करिब ३० प्रतिशत धान रोपाइँ भएको पोखरा महानगरपालिकाका कृषि शाखा प्रमुख मनोहर कडरियाले बताए । उनका अनुसार पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । असार सुरु भएसँगै पानी समेत निरन्तर परेकाले र धेरैलाई फुर्सदको समय भएकाले पनि पोखरा क्षेत्रमा धान खेतीमा बढी केन्द्रित हुने स्थानमा धान रोपाइँ भएको उनले बताए । महानगरले यस वर्ष करिब १० टन धानको बीउ समेत किसानलाई वितरण गरेको प्रमुख कडरियाले जनाए ।