साताभरमा सेयर बजार ३५ अंकले ओरालोतिर «

साताभरमा सेयर बजार ३५ अंकले ओरालोतिर

 गएको साता पनि सेयर बजार ओरालो लाग्दै गएको छ । साताको सुरुमा १४ सय ९६ मा सुरु भएको भए पनि लगातार ओरालो लाग्दै साताको अन्तिम दिनसम्म ३५ अंकले घटेर १४ सय ६० मा बन्द भएको थियो । 
आउँदै गरेको पहिलो त्रैमासिक रिपोर्टको असर पनि सेयर बजारमा प्रस्टै देखिन्छ । समूहगत रुपमा हेर्ने हो भने उत्पादनमूलक वाहेक कुनै पनि समूह उकालो लागेका छैनन् । विमा समूह एक्लै २६१ अंकले घटेको छ ।  सेयर बजारमा सबैभन्दा धेरै प्रभाव राख्ने वाणिज्य बैंक समूह ३० अंकले ओरालो लागेको छ । आगामी साता समेत सेयर बजारमा ठूलो परिवर्तनको आशा गर्न सक्ने देखिँदैन ।    
यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २९ हजार ०१३ कारोबारबाट दुई अर्ब ५२ करोड ६४ लाख ९० हजार रुपैयाँ बराबरका ६० लाख ५९ हजार ५ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १२.४७ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २२ हजार ८८२ कारोबारबाट दुई अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरका ६२ लाख ६६ हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३५.७३ अंकले घटेर अन्तिम दिन १४६०.७३ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७.४१ अंकले घटेर ३०६.७९ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकम (११ करोड ५६ लाख रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७७ हजार कित्ता) को आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२७९५ वटा) को आधारमा नेपाल ग्रामिण विकास बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस     साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  

प्रतिक्रिया दिनुहोस्