Logo

म्याग्दीमा यान्त्रिकरण प्रयोग गरेर धान रोपाइँ सुरु

म्याग्दी-मानो खाएर मुरी उब्जाउने समयमा हिमाली जिल्ला म्याग्दीमा धान र कोदो रोपाइँमा कृषकहरु खेतबारीमा व्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि जिल्लाका ग्रामिण बस्तीमा छिमेकीहरुसँग मिलेर अर्मपर्म गरेर रोपाइँं सुरु गरेका हुन् ।
पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ । परम्परागत रुपमा गोरुको सहायताले खेत जोत्ने गरिएको खेतमा हाते ट्याक्टरको प्रयोगले छिटो, छरितो र थोरै पाानी, कम बाउसे, धेरै रोपार आवश्यक हुने भएपछि हाते ट्याक्टर हलोप्रति कृषकको आकर्षण बढेको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा गाउँमा सबै मिलेर पालैपालो सबै खेत अर्मपर्ममा रोप्दै आएका छन् ।
ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्याक्टर र मिनिटिलर प्रयोग गरेका छन् । ग्रामिण भेगका धेरै बस्तीमा हल गोरुको सहायतामा धेरै कृषकले धान रोपाइँमा गरिरहेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बेनी नगरपालिका– १० पात्लेखेतका कृषक भविन्द्र पाइजाले बताए ।
कृषिलाई व्यावसायीक बनाउने उद्देश्यले जिल्लाको रघुगंगा, मंगला, धौलागिरि र मालिका गाउँपालिकाले समेत यस वर्ष कृषकहरुलाई अनुदानमा यान्त्रिक हलो लगायतका औजारका सामान यस वर्ष वितरण गरेका छन् ।
तीन हजार ८९७ हेक्टरमा खेती हुने धानबालीबाट म्याग्दीमा वार्षिक १२ हजार ९८ मेट्रिकटन धान उत्पादन हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पँहेलो, मार्सी, ताकमारे, भट्टे दरमाली, ठूलो, सानो धान लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।
कोरना भाइरस त्रास र लगडाउनका कारण अध्ययन, रोजगारी र व्यापार व्यवसायका गर्ने शहरी क्षेत्रका मानिसहरु गाउँ फर्किएपछि खेतबारीमा खेती लगाउन गाउँमा सहज भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्