Logo

नेपालको पूर्वी सिमा पनि भारतिय सिमा बलको दादागिरी

पाँचथर-नेपालमा पर्ने दार्चुला जिल्लामा रहेको लिपुलेकमा भारतीय पक्षले सडक बनाएपछि नेपाल र भारतको केहि दिनयता सीमा विवाद सुरु भएको छ । देशमा सामाजिक सञ्जालदेखि सडकसम्म नेपाली भूमि कुनै हालतमा फिर्ता हुनपर्ने माग उठिरहेको बेला पूर्वी पाँचथर र भारतका पश्चिम बङ्गालको सीमामा पनि सीमा विवाद सुरु भएको छ ।
नेपाली भूमिमा नेपाली पक्षले भवन निर्माणको काम सुरु गरेपछि सो भवनको निर्माण कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको छ । पाँचथरको उत्तरी फालेलुङ गाँउपालिका–६ मा पर्ने आहाल भन्ने ठाउँमा संग्रहालय भवन निर्माण कार्य सुरु गर्दा एसएसबीले रोकेको हो ।
वन डिभिजन कार्यालय पाँचथरको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको भवन भारतीय सीमा सुरक्षा बलले रोकेको हो । निर्माण कार्य नरोके भवन भत्काइदिने भनि भारतीय सीमा सुरक्षा बलले धम्की समेत दिएको स्थानियहरु बताउँछन् । स्थानीय कवुलियत वन उपभोक्ता समितिले भवन बनाउने काम अघि बढाउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेका हुन् । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेको भन्नेसुनेपछि फालेलुङ गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अनुगमन गरेका छन् ।
फालेलुङ गाउँपालिकका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार भवन नेपाली भूमिमा निर्माण गरिँदै गरेको भए पनि भारतीय पक्षले रोक लगाएको बताए । “हामीले आफ्नै भूमिमा भवन निर्माण गरेको हो तर उनीहरु आएर रोकेका छन् । यो दुःखद् हो,” केरुङले भने । भारतीय पक्षले निर्माण कार्य रोक लगाएपछि सो क्षेत्रमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली गएर स्थलगत रुपमा हेर्दा भारतीय पक्षले हस्तक्षेप गरेको केरुङले बताए । भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुसँग कुरा गर्दा माथिको आदेश अनुसार निर्माण कार्य रोकेको भारतीय अधिकारीहरुले बताएका केरुङले बताए ।
वन डिभिजन कार्यालयले उक्त स्थानमा दश लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको थियो । पाँचथरबाट करिब ४५ किलोमिटर सीमा क्षेत्र भारतसँग सीमा जोडिएको छ । सन्दकपुरबाट तिम्बुपोरीसम्म भारतका सिक्किम र पश्चिम बंगालसँग नेपालको सीमा क्षेत्र रहेको छ । सदरमुकाम फिदिमबाट टाढा र भैगौलिक रुपमा पनि विकट रहेको सीमा क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको छ । यहाँ सरकारको कुनै संयन्त्रको उपस्थिति रहेको छैन ।
४५ किलोमिटर लामो सीमा क्षेत्रमा भारतले आफ्नो भूमिलाई राम्रोसँग सुरक्षित गरेको छ । उसले प्रत्येक ६ किलोमिटरमा सीमा सुरक्षा बल राखेको छ । तर नेपालबाट सरकारले सीमा सुरक्षामा कति पनि नजर राखेको पाइँदैन । नेपाल सरकारी उपस्थिति शून्य छ । सुरक्षा निकायको मात्र हैन, स्थानीय सरकार को उपस्थिती समेत छैन ।
याङबरको च्याङ्थापुमा सीमा प्रशासन कार्यालय त छ । तर सीमा प्रशासन कार्यालयबाट सीमा क्षेत्र चिँवा भञ्जाङ पुग्न सवारी साधनमै करिब चार, पाँच घण्टा लाग्ने गरेको छ । सीमा क्षेत्र बस्तिहरुबाट टाढा रहेको छ । गाउँहरु टाढा टाढामात्र छन् । सीमाको सुरक्षाको लागि बसेको नेपाल प्रहरी सीमा क्षेत्रबाट धेरै टाढा बसेका छन् । सरकारी उपस्थिती नहुँदा बेलाबेला सीमा सुरक्षामा समस्या आउने गरेको च्याङथापुका रमेश राईले बताए ।
नेपाल तर्फबाट सरकारको उपस्थिती नहुँदा भारतीय सीमा सुरक्षा बलले बेला बेला नेपाल तर्फको भूमिमा दुःख दिने गरेको स्थानिय बताउँछन् ।
४५ किलोमिटर सीमाक्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ । भारततर्फ सिक्किममा कञ्चजंघा नेसनल पार्क र वेस्ट–बंगालमा सिंहलीला नेसनल पार्कको रूपमा संरक्षित छ । सीमाक्षेत्रमा भारतीय वन कार्यालय पर्याप्त भेटिन्छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई वर्षअघि तीन चरणमा सीमाक्षेत्रको अवलोकन गर्दा १६ सीमास्तम्भ हराएको पाएको थियो । अवलोकन गर्दा एक सय १३ मध्ये ९७ वटामात्र सीमा स्तम्भ पाइएको तथ्य सार्वजनिक भएको थियो । हराएका १६ सीमा स्तम्भमध्ये चारवटाको मात्र डोब भेटिएको छ । बाँकी १२ वटाको नाम–निसान केही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ । सोे क्षेत्रमा ठाउँठाउँमा सीमा स्तम्भहरू भत्किएको भेटिन्छन् ।
मेमेङमा रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी सीमानामा पुग्न एक दिन लाग्छ । याङवरकको च्याङ्थापुमा सीमा प्रशासन कार्यालय छ तर पुग्न एक दिन लाग्छ । प्राङबुङमा रहेको प्रहरी चौकीबाट पुग्न पनि एक दिन नै लाग्ने अवस्था छ । खुला सीमाना भएका कारण अपराधी भाग्न सक्ने खतरा पनि उत्तिकै छ । नेपालतर्फको भूभाग पुग्नलाई पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्