दक्षिण एशियाको समृद्धि क्षेत्रीय व्यापारमा निर्भर «

दक्षिण एशियाको समृद्धि क्षेत्रीय व्यापारमा निर्भर

दक्षिण एसियाली मुलुकको समृद्धि तथा दिगो विकासका लागि अन्तरक्षेत्रीय व्यापार तथा विकास साझेदारी गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सार्क राष्ट्रबीच अन्तरक्षेत्रीय व्यापार हाल कुल वैदेशिक व्यापारको ५ प्रतिशतभन्दा कम रहेको अवस्थामा क्षेत्रीय व्यापार वृद्धिमा राजनीतिक नेतृत्व, निजी क्षेत्र र विज्ञहरूले एकसाथ जोड दिएका हुन् ।
काठमाडौंमा आठै देशका अग्रणी उद्योगी व्यवसायी तथा विज्ञ र सरोकारवाला सहभागी रहेको ‘सार्क बिजनेस लिडर्स कन्क्लेभ’मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सार्क मुलुकका व्यवसायीबीचको सहकार्य र अन्तक्र्रियाले यस क्षेत्रमा राजनीतिक स्थायित्वसमेत हासिल हुने बताए । यस क्षेत्रमा प्रचुर आर्थिक सम्भावना रहेको उल्लेख गर्दै उनले साधन स्रोत र बजारका दृष्टिले दक्षिण एसियाले सम्पूर्ण विश्वकै आर्थिक नेतृत्व गर्नसक्ने बताए ।
सार्क उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा राजधानीमा जारी ‘सार्क विजनेस लिडर्स कनक्लेभ’ मा सरोकारवालाहरूले सार्क क्षेत्रमै आर्थिक समृद्धिको मुख्य सम्भावना रहेको बताएका हुन् । यस क्षेत्रमा आठ देशमा हुने व्यापार बढाउन आपसी एकता र सामूहिक प्रयासलाई प्रगाढ बनाउन सम्मेलन महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।
आठ देशमै आफ्नो प्रतिष्ठा र अनुभवले खारिएका उद्योग व्यवसायीहरू सम्मेलनमा सहभागी छन् । सम्मेलनको दोस्रो दिनको सेसनमा पूर्वप्रधानमन्त्री दाहालले विश्व मानचित्रमा सार्कको सम्मानजनक स्थान बनाउन सबै राष्ट्रले पहल गर्नुपर्ने बताए । दक्षिण एसियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपिल गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरूको आत्मसमीक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने भन्दै परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा दाहालले जोड दिए । दाहालले सार्कले अपेक्षित विकास गर्न नसकेको टिप्पणी गर्दै सार्कले शान्ति, स्थायित्व र समृद्धिको आशा भने अझै पूरा गर्न नसकेको बताएका छन् । नेपालले राजनीतिक संक्रमणको कालखण्ड पूरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेकोले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेकाले नेपालको समृद्धि र विकासको अभियानमा सबैको सहयोगको अपेक्षा बताएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताएका छन् । शान्ति प्रक्रियामार्फत सबै द्वन्द्व निष्कर्षमा पुगेको भन्दै उनले आगामी दिनमा सार्क मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा प्रधानमन्त्री ओलीको थियो ।
सार्कका महासचिव अम्जाद बि. सेयलले सार्क क्षेत्र विश्वकै ठूलो आर्थिक क्षेत्र भएको उल्लेख गर्दै सार्क सदस्य मुलुकले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन । विश्वमा सबैभन्दा बढी अवसर भएको यस क्षेत्रको विकास गरेर अगाडि बढ्नुपर्ने उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरक्ष वैद्यले सार्क क्षेत्रमा रहेको अपार सम्भावनालाई सदुपयोग गरेर विकासको बाटोमा आगडि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्