आशा बढाउँदै माथिल्लो तामाकोसी

ठाडो सुरुङमा एक सय मिटरमात्र पाइप जडान बाँकी |
दोलखा-राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्ट ( ठाडो सुरुङ) मा पाइप जडानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको पेनस्टक पाइप जडानको काम सकिन लागेपछि आयोजनाबाट चाँडै विद्युत् उत्पादन हुनेमा आशा जगाएको छ ।
आयोजनामा दुईवटा भर्टिकल साफ्ट छन् । जसमा जम्मा ६८३ मिटर पेनस्टक जडान गर्नुपर्नेमा हालसम्म १०७ मिटरमात्र जडान गर्न बाँकी रहेको हो । आयोजनाको कठिन मानिएका दुई भर्टिल साफ्टमध्ये माथिल्लोमा ९० मिटर तथा तल्लोमा १७ मिटर मात्र पेनस्टक जडान गर्न बाँकी छ ।
आयोजनाको ३७३ मिटर तल्लो भर्टिकल साफ्टको काम बढीमा २ हप्ता भित्र पूरा हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । अहिले तल्लो साफ्टको ३५६ मिटर खण्डमा कंक्रिटको काम भइरहेको छ । यो सकिनेवित्तिकै १० मिटर पाइप झारेर वेल्डिङ गरिन्छ ।
त्यसैगरी माथिल्लो भर्टिकल साफ्टको ३१० मिटर मध्ये २२० मिटर पेनस्टक जडान गरी कंक्रिटिङ भइरहेको छ । यस खण्डमा हरेक ५ दिनमा १० मिटर पाइप जोडिन्छ । माथिल्लो खण्डको पाइप जडानको काम बढीमा डेढ महिनामा पूरा हुने उनले बताए । अहिले पाइप जडानका लागि ८० जना भारतीय वेल्डरहरुले दैनिक काम गर्दै आएका छन् ।
आयोजनाको माथिलो भर्टिकल साफ्टमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ तथा तल्लो भर्टिकल साफ्टमा अष्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक जडानको काम गर्दै आएका छन् । दुवैको पाइप जडानको काम गत असार पहिलो हप्ताबाट सुरु भएको हो । एन्द्रिजको तुलनामा टेक्सम्याकोको काम सुस्त छ ।
दुई वटा ठाडो सुरुङको बीचमा एक सय मिटर तेस्रो सुरुङमा पनि पेनस्टक पाइप जडान गर्नु पर्छ । यहाँ गेट पनि हाल्नु छ । तर ठाडो सुरुङभन्दा बाहेकको पाइप र गेट कतिपय लकडाउन अघिदेखि वीरगंज भन्सारमा रोकिएका छन् भने कतिपय टेक्सम्याकोको फ्याक्ट्री कोलकोत्तामै रहेका छन् । भारतमा समेत लकडाउन भएकाले ढुवानीमा समस्या भएको छ ।
कोलकातामा रहेका पाइप र गेड ढुवानीका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, आयोजना प्रमुख र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निरन्तर लागिरहेको प्रवक्ता न्यौपानेले बताए । आयोजनाको काममा अब यही गेट र पाइप ढुवानीमा नै निर्भर रहने उनको भनाई छ ।
लकडाउनका कारण आयोजनाको स्थगित भएको हेडवक्सको परीक्षण भने लकडाउन पछि पुनः सुचारु गरिने आयोजनाको भनाई छ । हेडवक्सको परीक्षण अन्तरगत बाँधको परीक्षण भई सकेको छ भने डिस्यान्डरको परीक्षण बाँकी छ ।
आयोजनाको प्रसारणलाइनको काम सम्पन्न भइसकेको छ । रामेछाप जिल्लाको फुलासीमा निर्माणाधीन सब स्टेशनको सिभिल संरचनाको काम पनि करिब सकिएको छ भने सब स्टेशनमा उपकरण जडानको काम बाँकी रहेको छ । तर सब स्टेशनमा उपकरण जडानमा ढिलाइ भए तापनि आयोजनाबाट उत्पादित विद्युत् सोझै खिम्ती ढल्केबर प्रसारण लाइनमा जोड्न सकिने आयोजनाका उपप्रबन्धक पूर्णगोपाल रञ्जितकारले बताए ।
लकडाउनमा पनि स्वास्थ्य उच्च सतर्कता अपनाउँदै आयोजनाले कामलाई जारी राखेको छ । तर स्थानीयको बेलाबेलाको अवरोध र मजदुरहरु घर जान खोज्दा काममा अबरोध हुँदै आएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनामा जडित ६ वटा युनिट मध्ये एउटाबाट आसार मसान्त सम्ममा परीक्षण उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ । तर भारतीय कम्पनी टेक्सम्याकोको कामको सुस्तताका कारण यो लक्ष्यमा पुनः ठेस लाग्ने पक्का छ ।