Logo

पञ्चकन्या समूहका डिलरको सहयोग

भैरहवा- औद्योगिक समूह पञ्चकन्याको प्लाष्टिक सेक्सन अन्र्तगत उत्पादित विभिन्न प्लास्टिकका सामान बिक्री वितरण गर्दै आएका डिलरहरुको अग्रसरतामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा स्थापित खाद्य बैंकलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
दैनिक ज्यालादारी मजदुर, गरीब तथा विपन्न वर्गका व्यक्तिलाई लकडाउनको अवधिमा जीविकोपार्जन गर्न कष्टकर भएको अवस्थालाई मध्यनजर गर्दै गरिब विपन्न परिवारलाई खाद्य बैंकमार्फत राहत प्रदान होस भन्दै हस्तान्तरण गरेको खाद्यान्न राहत संयोजक तथा किसान ट्रेडिङ बुटवलका प्रोप्राइटर बलराम भट्टराईले बताए ।
समूहसँग आवद्ध प्लाष्टिक सामग्रीका यस क्षेत्रका अधिकृत विक्रेताहरुबाट संकलित सामग्रीहरु तिलोत्तमा नगरपालिकाले स्थापना गरेको खाद्य बैंकलाई डिलर व्यवसायीहरुको उपस्थितिमा हस्तान्तरण गरीएकोे पञ्कन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका–१५ का वडाअध्यक्ष खेमराज गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको समूहले जनाएको छ । उपलब्ध गराइएको सामग्रीहरुमा चामल २५ सय किलो, दाल ५ सय किलो, तेल २ सय ५० लिटर र सोयाबीन ५० किलो रहेको छ ।
यसअघि पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले तिलोत्तमा नगरपालिका विपद् व्यवस्थापन कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका थिए । पञ्चकन्या समूहमा कार्यरत मजदुर तथा तिलोत्तमा–१५ का विपन्न परिवारलाई २ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्