कोरोना महामारी र महिलाको अवस्था

अहिले हामी जे काम गर्छौं त्यसले भावी दिनमा आउने महामारीमा करोडौं महिला तथा किशोरीको भविष्य निर्धारण हुन्छ । |
लकडाउनको अवधिमा धेरै मानिस रातारात हिँडेर आफ्नो थातथलो लागेका तस्बिरहरू सामाजिक सञ्जाल, पत्रपत्रिका र टिभी स्क्रिनमा देखिए । ती तस्बिर हेरेर धेरैले यो महसुस गरेको हुनुपर्छ कि त्यहाँ महिलालाई परेको संकटका बारेमा कसैले नजरअन्दाज गरेको देखिन्न । एउटी महिला जो दुई जीउको छिन् उनी आफ्नो घर जान भनेर महिला साथीसँगै हिँडेकी थिइन् । उनी कति दिनमा कुन हालतमा घर पुगिन् थाहा भएन, तर मलाई त्यो क्षणले मुटुमा भक्कानो पारेर आयो । महिला राष्ट्रपति भएको यो देशमा महिलाको यो अवस्था देख्दा साह्रै खेद पनि लाग्यो । उनीसँगै अर्की महिला पनि आफ्नो नाबालक बच्चासहित झोला बोकेर गाउँ फर्किएको कारुणिक दृश्य एउटी महिला पत्रकारले प्रस्तुत गरिरहेकी थिइन् । कहाँ बस्ने, के खाने, पानी पर्दैछ, दुवै थरी महिलाको यो हृदयस्पर्शी भनाइ र त्यो दृश्यले मलाई जस्तै धेरैलाई सोच्न विवश बनाएको हुनुपर्छ । कोरोना कहरमा बाँच्न महिलाले गरेका प्रयास थुप्रै छन्, यी माथिका उदाहरण त एकाध हुन् ।
यस्ता घटना विश्वभरि नै घटे घटिरहेका छन् । तर, तिनीहरूको प्रकृति भिन्न–भिन्न स्वरूपका छन्, किनभने विश्वभरि नै कोरोना महमारीले आतङ्क मच्चाइरहेको छ । महामारीका कारण मानिसहरू सामाजिक दूरी कायम गर्दै घरभित्रै काममा व्यस्त छन् । कतिले घरभित्रबाट नै गर्ने काम गरिरहेका छन् । लकडाउनका कारण जनजीवन पूरा बदलिएको छ । तर, विश्वमा विभिन्न समयमा आउने महामारीमा महिला नै बढी जिम्मेवार र तनावपूर्ण हुन्छन् भन्ने कुरा विगतको इतिहासले पुष्टि गरेको छ । घरधन्दा, बालबच्चाको हेरचाहदेखि अफिसियल जिम्मेवारी वहन गर्नुपर्दा महिलाहरू यसबेला बढी तनावमा छन् । त्यसैले विश्वमा जे–जस्ता महामारी आए पनि त्यसबाट बढी प्रभावित हुने महिला नै हुन् भन्दा अत्युक्ति नहोला ।
यो महामारीले विश्वभरकै नारी स्वतन्त्रतामाथि सबैभन्दा ठूलो धावा बोल्नेछ । हुन त अहिलेसम्म शारीरिक बिरामको हिसाबमा कोरोना भाइरसले महिलालाई कम असर पु¥याएको छ । तर, त्यसको दूरगामी असर महिलामाथि नै थपिने देखिन्छ । कोरानापछि जनजीवन सामान्य लयमा जहिले फर्कन्छ त्यसपछि महिलामाथि नै बढी चाप बढ्न पुग्छ । चाहे त्यो घरायसी काम होस् वा कुनै अफिसियल । कामका लागि दबाब विभिन्न रूपमा प्रस्तुत हुनेछ, त्यो घरायसी पनि हुुन सक्छ अनि कति महिलाको जागिर गुम्न पनि सक्छ, जसका कारण महिला दबाब हिंसा वा अन्य प्रकारका शोषण पनि क्रमशः बढ्दै जानेछन् । विश्वमा विभिन्न महामारीबाट महिलाहरूमाथि भेदभावपूर्ण व्यवहार भएको पनि देखिन्छ । जसबाट विश्वका समृद्ध भन्ने देशले पनि कुनै शिक्षा लिएको देखिन्न । त्यसैले यस्ता महामारीसँगै धेरै किसिमका आक्रोशहरू पनि पोखिएको पाइन्छ । विज्ञहरूका अनुसार महामारीले लामो समयसम्म लैङ्गिक विभेदको वातावरण सिर्जना गर्ने र त्यसले जनजीवनका विभिन्न क्षेत्रमा असर पु¥याउने निष्कर्ष छ । महामारीले महिलाको आर्थिक हैसियत पनि खस्कने र त्यसले उनीहरूको आम्दानीलाई नराम्रोसँग प्रभाव पार्ने अर्थविद्हरूको विश्लेषण छ । यसको ज्वलन्त उदाहरणका रूपमा पश्चिम अफ्रिकामा इबोला प्रभावित महिलाहरूले आफ्नो आम्दानी पुरुषसरह पु¥याउन लामो समय लागेको थियो, तर पुरुषहरूले तुरुन्त आफ्नो अवस्थामा सुधार गरे, महिलाहरूले सकेनन् । यसमा उनीहरूमाथि थपिएको विविध बोझ र जिम्मेवारी नै थियो । महामारीको असर लामो समयसम्म रहन्छ । लन्डन स्कुल अफ इकोनोमिक्स ग्लोबल हेल्थ पोलिसीकी सह–प्राध्यापक क्लारे वेनहामका अनुसार इबोलाको समयमा कतिपय बालबालिकाले खोप पाउन सकेनन् । पछि त्यस्ता बालबालिका खोपले रोकथाम गर्न सकिने रोगबाट संक्रमित हुँदा तिनको स्याहार–सुसारका लागि आमाले नोकरी नै छोड्नुपरेको थियो । यस्ता प्रशस्त उदाहरण छन् जसका कारण महिलाहरू पुरुषका तुलनामा पछाडि परेका छन् ।
लकडाउनका अवधिमा विद्यालयहरू बन्द भइसकेका छन्, वालबच्चा घरमा थन्किएका छन् । घरमा वृद्धवृद्धा पनि छन् । यी सबैको हेरचाहको सामाजिक प्रचलन महिलामा नै रहेका कारण पनि महिलाहरू पछाडि परेका हुन् र उनीहरूको जीवन चुनौतीपूर्ण बनेको हो । उनीहरूलाई परिवारका पुरुषहरूले पनि घरायसी काममा सघाउलान् तर सबैका हकमा भने यो लागू हुँदैन । आधा आकाशका रूपमा रहे पनि वा ठूलो सार्वजनिक श्रमशक्ति भए पनि महिलालाई दोस्रो दर्जाका रूपमा लिएको पाइन्छ । २० औं शताब्दीमा महिलाको एउटा ठूलो हिस्सा सार्वजनिक श्रम शक्ति भएर निस्किएको भए पनि तिनलाई दोस्रो दर्जाका रूपमा लिनु पक्कै उचित हुँदैन । माइली, कान्छी र साहिँलीजस्तै थुप्रै महिला हाम्रै वरपरका महिला हुन्, जो आफ्ना कृषिउपज बेच्न र घरायसी सरसामान किन्न बिहानै नजिकैको बजारमा पुग्छन् । त्यतिबेला पुरुषहरू घरमा सुतेर टिभी हेरेका हुन्छन् वा नजिकैको चियापसलमा गएर चियागफमा भुलेका हुन्छन् । यसप्रकारका घटनाले महिलाहरूले कृषि उत्पादन आफैँ बेच्नुपर्छ वा घरायसी सामान आफैँले किन्नुपर्छ भन्ने तथ्यलाई उजागर गरेको छ । यसप्रकार कुनै पनि महामारीमा महिलाहरू सुरक्षित छैनन् भन्ने तथ्य सबैका सामु प्रकट हुन्छ । तर कति महिलाहरू पुरुषको आम्दानीले घर चलाउन बाध्य भएका छन् । त्यसले महिलामाथि थप चुनौती र जिम्मेवारी पनि थपिदिएको छ, जसका कारण श्रमबजारमा महिलाको श्रमको उचित मूल्याङ्कन भएको देखिन्न ।
जबकि इबोला महामारीका बेला विद्यालय बन्द हुँदा बालिका शिक्षामा ठूलो असर पारेको थियो । त्यतिबेला धेरै बालिकाले पढाइ छोडेका थिए । किशोरावस्थामा नै गर्भाधारण हुन पुगेका थिए । घरेलु तथा यौनजन्य हिंसा पनि बढेको थियो । साधनस्रोत अन्यत्र खर्च हुँदा धेरै महिला सुत्केरी व्यथाले मर्नुपरेको थियो । सबै शक्ति महामारीमा खर्चनुपर्दा अन्य स्वास्थ्य सेवामा ठूलो असर परेको थियो, त्यसको प्रत्यक्ष असर महिलाको स्वास्थ्यमा परेको थियो । जब सेरा लियोन सन् २०१३ देखि १६ सम्म इबोला महामारीको संकटबाट गुज्रिएको थियो त्यतिबेला इबोला संक्रमणले भन्दा अधिक महिलाको ज्यान प्रजनन् स्वास्थ्य जटिलताले गएको थियो । उक्त समयको मातृमृत्युदरले कसैको ध्यान खिच्न सकेन भने त्यतिबेला भएको भयावह मृत्युको कुनै लेखाजोखा नै भएन । क्यारोलिन क्रियाडो पेरेजको पुस्तकइनभिजिवल ओमेनमा उल्लेख भएअनुसार जिका र इबोल संकटको बारेमा १५ हजार रिभ्यु शीर्षकमा २९ मिलियन पेपरहरू लेखिए । तर, १ प्रतिशतले पनि महामारीले महिलाहरू कसरी थप पीडित भइरहेका छन् भन्ने बारेमा उल्लेख गरेनन् ।
अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस संक्रमण फैलिरहँदा पनि लैङ्गिक तहमा पार्ने असरका बारेमा कुनै खोज वा बहस भएको पाइन्न । त्यसैले अब इबोला र जिका संक्रमणका समयका तथ्याङ्कका आधारमा अहिलेको कोरोना संक्रमणको समयलाई सम्बोधन गर्नु आवश्यक देखिन्छ । लकडाउनको समयमा विकसित वा अल्पविकसित सबै मुलुकमा घरेलु हिंसा बढ्ने गर्छन् । तनाव, रक्सी सेवन र आर्थिक सङ्कटलाई घरेलु हिंसाका कारण मान्न सकिन्छ । विश्वभरि क्वारेन्टाइको समय तनाव, मदिरा सेवन र आर्थिक सङ्कट बढ्न पुग्छ । सामाजिक दूरी र सेल्फ आइसोलेसनको समयमा पनि महिला पीडकहरू सक्रिय हुन पुगेको देखिन्छ, जसका कारण महिलाहरूको सुरक्षामा पनि बाधा व्यवधान आएको देखिन्छ ।
त्यसैले यस्ता महामारीहरू समयसमयमा आइरहन्छन् । त्यसैले महामारीमा लैङ्गिक विषय गौण कुरो हो भनेर पन्छने वातावरणको अन्त्य गरिनुपर्छ । अहिले हामी जे काम गर्छौं त्यसले भावी दिनमा आउने महामारीमा करोडौं महिला तथा किशोरीको भविष्य निर्धारण हुन्छ । कोरोना भाइरसले विश्वको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई गहिरो प्रभाव पार्नेछ । यो महामारीले महिला र पुरुषलाई कसरी भिन्न–भिन्न तरिकाले प्रभावित बनाउँछ भन्ने रहस्यलाई खोतल्नेछ । यसमा आगामी दिनमा थुप्रै अनुसन्धान हुने नै देखिन्छ । यस महामारीमा हाम्रो देशमा पीडित महिलाहरूको वास्तविक अवस्था कस्तो रह्यो, साथै विश्वव्यापी रूपमा पनि त्यसको स्थिति के–कस्तो रह्यो, पछि नै थाहा हुनेछ । जुन दिन यो महामारी समाप्त हुनेछ र जनजीवन आफ्नै लयमा फर्कनेछ तबमात्र यथेष्ट तथ्याङ्क हामी पाउनेछौँ ।