डेढ महिनापछि सडक निर्माण लयमा «

डेढ महिनापछि सडक निर्माण लयमा

खाडीचौर–जिरी सडक विस्तार

दोलखा-विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सुरक्षाका लागि गरिएको बन्दाबन्दीका कारण रोकिएको खाडीचौर–जिरी सडक विस्तारको कामले एक महिनापछि लय लिएको छ । सरकारले सडक, जलविद्युत् आयोजनाजस्ता विकास निर्माणको काम गर्न केही खुकुलो नीति अख्तियार गरेसँगै सडक विस्तारको काम पुरानै लयमा फर्कन थालेको हो ।
सडक विस्तारको पहिलो प्याकेजको कालोपत्रे पुनः सुचारु भएको छ भने दोस्रो प्याकेजको कामको कालोपत्रे तयारी थालेको छ । सडक विस्तार आयोजना प्रमुख दीप बराईका अनुसार सबै काम पुरानै लयअनुसार सुरु भएको छ ।
आफ्नो र मजदुरको स्वास्थ्य सुरक्षात्मक उपाय अपनाएर काम सुरु गराउन निर्माण व्यवसायीलाई निर्देशन दिएको आयोजना प्रमुख बराईले बताए । आयोजनाको कामका लागि निर्माण सामग्री ढुवानी, व्यवस्थापनसहित व्यवसायीले एक सातादेखि काम सुरु गरेको उनले बताए ।
पहिलो प्याकेजको रोकिएकै स्थानबाट पुनः कालोपत्रे सुरु गरेको उनले बताए । अहिले पहिलो प्याकेजको २० किलोमिटर कालोपत्रे भइसकेको छ भने २२ किलोमिटरसम्म बेस बिछ्याएको छ । उनको पुरानो डिजाइनअनुसारको परिमाणको काम सकिन लागेकाले भेरियसनका लागि मन्त्रालयमा छलफलको क्रममा रहेको बताए । पहिलो प्याकेज २५ किलोमिटर हो ।
एक वर्षयता समस्याको रुपमा रहेको दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडकको पनि कालोपत्रे तयारी भइरहेको छ । उपलब्ध मजदुरबाट बेस र सब बेस क्षति भएका ठाउँमा काम जारी छ । दोस्रो प्याकेजमा लकडाउनको समयमा समेत काम जारी थियो ।
दोस्रो प्याकेजको ठेक्का पाएको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीका आधिकारिक प्रतिनिधि दिपक सापकोटाले कालोपत्रेका लागि इक्युप्मेन्ट व्यवस्थापन गरी केही दिनमै कालोपत्रे सुरु गर्ने बताए । कालोपत्रेका लागि एक वर्षदेखि नै विटुमिन साइटमै पु-याएको छ । लकडाउनमा आफू साइटमै बसेर काम गरे तापनि सामान व्यवस्थापन र ढुवानीका लागि अहिले आफू काठमाडौं रहेको उनले बताए ।

चरिकोट–जिरी कालोपत्रे सुरु
एक वर्षअघि सुरु भएको चरिकोट जिरी सडक विस्तार र तथा स्तरोन्नतिमा कालोपत्रे सुरु भएको छ । चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक स्तरोन्नति र विस्ताका लागि ठेकेदारले एक वर्षअघि मात्र काम सुरु गरेको हो ।
८।९ महिनासम्म वनको रुख कटान र विद्युत्को पोल हटाउन ढिलाइका वावजुद पनि निर्माण व्यवसायीले काम गरेर कालोपत्रे नै हालेको हो । बिहीबारदेखि किराँतीछापदेखि कालोपत्रे विछ््याउन सुरु गरेको आयोजना प्रमुख बराईले बताए । एकै दिन ९ सय मिटरमा विटुमिन छरेको छ ।
एक महिनाअघि नै कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको बेला एक्कासि लकडाउनका कारण रोकिएको काम पुनः सुरु गरेको उडहिल-लामा जेभीका व्यवस्थापक रवीन्द्र श्रेष्ठले बताए । निरन्तर कालोपत्रे गर्ने योजना भए तापनि बेलाबेलामा पानी परिरहेकाले काममा अवरोध भएको बताए ।
“सुख्खा मौसममा मात्र गर्न मिल्ने कालोपत्रे हो, धुलो उड्नु पर्नेमा उल्टो पानी परेर हिलो भएको छ,” उनले भने, “मौसम सुधार हुने बित्तिकै मौका छोपेर कालोपत्रे हाल्ने छौं ।” पुरानो योजनाअनुसार वर्षात् अघि चरिकोटदेखि तामाकोसीसम्म कालोपत्रे हाल्ने योजना हो । तर लकडाउनका कारण लक्ष्य भेट्न चुनौती भएको बताए ।
व्यवस्थापक श्रेष्ठका अनुसार चरिकोटदेखि तामाकोसी १७ किलोमिटरमध्ये ८ किलोमिटर सबबेस र ३ किलोमिटरमा बेस हालिसकिएको छ । तामाकोसीदेखि जिरीसम्म स्टक्चरको काम भइरहेको बताए । लकडाउन अघि ६ सय मजदुरबाट काम भइरहेकोमा आधाभन्दा बढी मजदुर घर गएको बताए । एक सातादेखि स्थानीय मजदुरमार्फत काम सुरु उनले बताए ।
२०१८ डिसेम्बर ३ मा ठेक्का सम्झौता भएको सडकको निर्माण अवधि ३० महिना रहेको छ । लामोसाँघुदेखि जिरीसम्मको ११० किलोमिटर सडकमध्ये तेस्रो प्याकेजको काम अहिले चरिकोटदेखि जिरीसम्मको रहेको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माणाधीन सडकमा उडहिल-लामा जेभीले ठेक्का पाएको छ । ऋण दाताको सर्तअनुसार ठेक्कामा भारतीय कम्पनी उडहिलको ५१ प्रतिशत र नेपाली कम्पनी लामा कन्ट्रक्सनको ४९ प्रतिशत सेयरमा ठेक्का सम्झौता भएको हो । २ अर्ब २८ करोड लागतमा ठेक्का सम्झौता भएकोमा साइटमा लामा कम्पनीले नै काम गर्छ ।
सडकको परामर्शदाता सिमत–इआरएमसी जेभी रहेका छन् । सडकका परामर्शदाता प्रमुख राजेन्द्र पौडेलले पहिलो दिन प्राइम कोर्ट गरेको बताए ।
४३ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सो सडकमा केन्द्रदेखि दायाँ बायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्