अलैंचीको बजार खोज्दै व्यवसायी «

अलैंचीको बजार खोज्दै व्यवसायी

प्रदेश नं. १ का किसानको प्रमुख आम्दानीको स्रोतका रुपमा रहेको नगदेवाली अलैंची बिक्रीमा समस्या हुन थालेपछि नयाँ बजार खोज्न सुरु भएको छ । अलैंचीको व्यापारमा सहजता ल्याउन अलैंची कृषक र व्यवसायी छलफलमा जुटेका छन् ।
प्रदेश नम्बर १ का संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, झापा, इलाममा व्यावसायिक अलैंची खेती गरिँदै आएको छ । पछिल्लो समय अलैंचीको मूल्यमा आएको गिरावट र बजारको समस्याले कृषक चिन्तित बन्दै आएका छन् । अलैंचीमा देखिएका समस्या समाधान गर्न पूर्वका ७ जिल्लामा कृषक र अलैंची व्यवसायी छलफलमा जुट्न थालेका छन् । नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यालय बिर्तामोड र अलैंची व्यवसायी संघ संखुवासभाको आयोजनामा चैनपुरमा भएको छलफलमा कृषक तथा व्यवसायीहरूले समस्याको समाधानका लागि गम्भीर रूपमा लाग्नुपर्ने बताए ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले नेपालमा उत्पादित अलैंची विश्वबजारमा चर्चित रहेकाले गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । उनले आम्दानीको राम्रो सम्भावना बोकेको अलैंचीको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनमा सबै पक्षको ध्यान जान आवश्यक रहेको बताए । नेपालमा उत्पादित अलैंची अरू नै देशले आफ्नो नामबाट विश्वबजारमा पु¥याइरहेकाले नेपालले आफ्नै ब्रान्डिङमा विदेशमा निर्यात गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले अलैंचीको गुणस्तर सुधार गरेर किसानको जीवनस्तर सुधार्न सकिने बताए । उनले गुणस्तरीय अलैंचीलाई विश्वबजारमा पु¥याउन नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले युवाहरूलाई स्वरोजगार बनाउन कृषिमा संलग्न भए ३० प्रतिशत अनुदानको व्यवस्था गरेको जानकारी दिए ।
नेपाल अलैंची व्यवसायी महासंघका उपाध्यक्ष सुमन श्रेष्ठले संखुवासमामा उत्पादित अलैंची गुणस्तरीय भएकाले कृषकलाई थप प्रोत्साहन दिनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली अलैंचीलाई भारत, बंगलादेशलगायत तेस्रो मुलुकमा समेत पु¥याउन सरकारले नै पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले अलैंचीको मूल्यमा आएको गिरावटका कारण गुणस्तरसँग मात्र सम्बन्धित नभई भारतीय व्यापारीले गरेको अघोषित नाकाबन्दी प्रमुख कारक भएको बताए । उनले नेपालमा वार्षिक करिब १६ हजार हेक्टरमा अलैंची खेती गरी ५ हजार मेट्रिकटनभन्दा बढी अलैंची उत्पादन भए पनि स्वदेशमा २ प्रतिशत मात्र खपत हुने गरेको जानकारी दिए । बाँकी ९८ प्रतिशत अलैंची भारतलगायत तेस्रो मुलुकमा निर्यात भइरहेकाले आन्तरिक बजारीकरणमा समेत ध्यान पु¥याउन आवश्यक रहेको उनको भनाइ थियो ।
अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष छत्रमणि काफ्लेले अलैंची कृषकलाई तालम र सचेतना आवश्यक रहेको बताए ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्