Logo

भैरहवा र पोखराबाट उडान चासो

सरकारले ठूलो ऋण लिएर गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको केही वर्ष भएको छ । यी विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा आन्तरिक उडानमा सीमित बनेका छन् । गौतमबुद्धमा केही समय अन्तर्राष्ट्रिय हवाई उडानहरू भएका पनि थिए । तर, उडान नियमित हुन सकेका छैनन् । पोखराको अवस्था झनै दयनीय छ । यहाँबाट छिटफुट मात्र उडान भएका छन् ।

सरकारले ठूलो लगानी गरेर बनाएका विमानस्थल सञ्चालनमा आउन नसक्दा एकातिर लगानी खेर गइरहेको छ भने अर्कातर्फ विमानस्थल सञ्चालनबाट प्राप्त हुने अवसर र फाइदा पनि गुमेको अवस्था छ । यी दुवै विमानस्थल सञ्चालनमा ल्याउन नसकेर आलोचना खेपेको र दबाब महसुस गरेको सरकारले हालै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबारे कार्ययोजना बनाउन छलफल गरेको छ । अर्थमन्त्री, पर्यटनमन्त्री, उद्योग तथा आपूर्ति मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहभागी बैठकमा दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक कार्ययोजना बनाउने विषयमा छलफल भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच त्रिपक्षीय समन्वय गरेर उडान सञ्चालन गर्ने योजना बनाउनुपर्ने छलफलको निष्कर्ष छ । यसका लागि हवाई कम्पनीहरूलाई थप सेवासुविधा र सहुलियत दिने गरी नीतिगत सहजीकरण गर्ने, सरोकारवालासँग समन्वय गर्ने र यात्रुको सहजतामा जोड दिनुपर्छ भनिएको छ । त्रिभुवन विमानस्थलमा बढिरहेको यात्रु तथा उडान चापलाई भैरहवा र पोखरामा डाइभर्ट गर्ने र नियमित अन्तर्राष्ट्रिय उडान भर्नका लागि विकल्पका बारेमा योजना बनाउनुपर्नेमा छलफलको निष्कर्ष छ ।

पोखरा विमानस्थल सञ्चालनमा ल्याउन कुन–कुन मुलुकहरूबाट पर्यटक धेरै आउँछन्, ती मुलुकमा उडान भर्ने वायुयानलाई जोड दिनुपर्ने भनिएको छ । यस्तै गौतमबुद्ध विमानस्थलका लागि धार्मिक तथा श्रम बजारमा उडान भर्ने कम्पनीसँग समन्वय गर्नुपर्नेमा छलफलको जोड छ । गौतमबुद्ध र पोखरा विमानस्थल निर्माण भएपछि कसरी सञ्चालनमा ल्याउने भन्दै यसअघि पनि उच्चपदस्थ सरकारी अधिकारीहरू छलफलमा जुट्दै आएका थिए ।

यसअघि पर्यटन मन्त्रालयले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरेको छ । कार्ययोजनाले यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई इन्धनको मूल्यमा सहुलियत दिने, सहज पारवहन सुविधाको व्यवस्था गर्ने, अध्यागमन कार्यालय स्थापना गर्ने, श्रम स्वीकृतिसम्बन्धी व्यवस्थालाई सहज बनाउने, वैदेशिक रोजगार शाखा कार्यालय स्थापना गर्ने, सामाजिक सुरक्षा, बीमा र श्रमिक कल्याणसँग सम्बन्धित निकायसँग समन्वय गरी सेवा प्रदान गर्ने भनेको छ ।

यसबाहेक हवाई यात्रुको टिकटमा लगाइने ३ हजार यात्रु शुल्क पूर्ण रूपमा छुट गर्ने, पार्किङ र ल्यान्डिङमा पूर्ण रूपमा छुट दिनेलगायतका व्यवस्था गर्नुपर्ने कार्ययोजनामा समेटिएको छ । सरकारका यस्ता सबै प्रयासका बाबजुद पनि दुवै विमानस्थलबाट नियमित व्यावसायिक उडान हुन सकिरहेको छैन । खासमा अर्बौं रुपैयाँ ऋण लगानी गरेर बनाएका यी विमानस्थल लामो समयसम्म सञ्चालनमा नआउँदा सरकारमा बस्नेलाई लाज लाग्नुपर्ने हो ।

यी विमानस्थल बनाउँदा ६० अर्बभन्दा बढी लगानी परेको छ । पोखरा विमानस्थल बनाउन सरकारले चीनसँग चर्को ब्याजदरमा ऋण लिएको छ । यसको आलोचनासमेत हुँदै आएको छ । यी अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न छलफल गर्ने र कार्ययोजना बनाएको भनिए पनि खासमा सरकार गम्भीर देखिँदैन । सरकारले यी विमानस्थल सञ्चालनका लागि गतिलो रणनीति नै बनाउन सकेको छैन । यी विमानस्थल सञ्चालनमा ल्याउन सबैभन्दा पहिले नेपाल एयरलाइन्सबाट सुरुवात गर्नुपर्छ । नेपाल एयरलाइन्स सरकारी कम्पनी हो ।

यी नयाँ गन्तव्यमा जान सरकारले यसलाई बाध्य बनाउन सक्छ । नयाँ विमानस्थलमा जाँदा घाटा भयो भने सरकारले बजेट दिन सक्छ । नेपाल एयरलाइन्सबाट सेवा सुरु गर्न लगाए अरू विदेशी कम्पनीहरूलाई दबाब पर्छ । अर्कातिर स्वदेशी र विदेशी हवाईजहाज कम्पनीहरूलाई यी विमानस्थलमा जान प्रेरित गर्ने, सुविधा दिने र नभए अन्त्यमा बाध्य बनाउन सक्नुपर्छ । अर्कातिर नेपालमा आउने अधिकांश वायुसेवाका यात्रु कामका लागि विदेश जाने युवा हुन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई भिसालगायतका कागजात बनाउन काठमाडौं आउन नपर्ने व्यवस्था गरिसकेको छ । श्रमस्वीकृतिलगायतका अन्य विषय छन् भने पनि ती भैरहवा र पोखराबाट दिने व्यवस्था मिलाउनुपर्छ । यसपछि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि उडान भैरहवा र पोखरा विमानस्थललाई तोक्न सक्छ । अथवा यी विमानस्थल प्रयोग गर्ने युवालाई विशेष सुविधा उपलब्ध गराउन सक्छ । यस्तो भए भैरहवा र पोखरा विमानस्थलमा विदेशी हवाई कम्पनी जान बाध्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्