६० कामदार ल्याउन जापानी कम्पनी तयार

टोकियो – जापानी भाषा र सीप परीक्षा उत्तिर्ण गरेर बसेका ६० जना नेपाली युवालाई ल्याउन जापानी कम्पनीले प्रक्रिया अघि बढाएको छ । जापानको सोसियल वेलफेयर कम्पनीले केयर गिभरमा जापान आउन नियमानुसारको परीक्षा उत्तिर्ण गरेकालाई ल्याउन लागेको हो ।
यसअघि फिलिपिन्स लगायत देशबाट केयरगिभरमा कामदार ल्याइसकेको जापानको तोचिगिमा कार्यालय रहेको उक्त कम्पनीले ६० जना नेपाली केयर गिभर ल्याउन अनुमति मागेको नेपाली राजदूतावास जापानले पुष्टि गरेको छ ।
जापानी कामदारले पाउने समान सेवा सुविधा दिने गरी ६० जना केयरगिभर ल्याउन प्रस्ताव पेश गरेको र प्रमाणिकरणको प्रक्रियामा अघि बढेको नेपाली राजदूतावास जापानका उपनियोगप्रमुख कृष्णचन्द्र अर्यालले कारोबार दैनिकलाई जानकारी दिए । “कम्पनीले राजदूतावासमा मागपत्र बुझाएको छ,” उपनियोग प्रमुख अर्यालले भने, “जापानी नियमानुसारको केही कागजपत्र अपुग भएकाले मागेका छौं । प्राप्त भएपछि छिट्टै प्रमाणिकरण गरेर नेपाल स्थित वैदेशिक रोजगार विभागमा पठाउनेछौं ।”
नेपाली राजदूतावसले मागपत्र विभागमा पठाएपछि विभागमा रहेको जापान रोजगार हेर्ने जापान युनिटले त्यसलाई प्रमाणिकरण गर्नुपर्ने छ । जापान रोजगारको विषय एक वर्षदेखी चर्चामा रहेपनि आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकारले तदारुकता नदेखाएको तथा प्रशासनिक झन्झट धेरै हुने गरेको जापानी कम्पनीहरुले गुनासो गर्दै आएका छन् । यस्तो अवस्थामा जापानी कम्पनीले मागपत्र पेश गरेर नेपाली कादार लैजान तयार रहँदा विभाग र जापान युनिटबाट सहयोग नपाए भाषा र सीप परीक्षा पास गरेर जापान जाने पर्खाइमा रहेका नेपालीहरुको सपना खेर जाने छ ।
साथै थप कामदारको माग र नेपाली युवा जापान आउने विषय समेत यसमै निर्भर हुने देखिएको छ ।
वैदेशिक रोजगारमा आकर्षक कमाइ हुने देशमा रहेको जापान आउन गत वर्षमात्र नेपालमा करिव १ लाख युवाले जापानी भाषा अध्ययन गर्न थालेको बताईएको थियो । तर जापान रोजगार तत्काल अघि नबढ्दा भाषा अध्ययन गरिरहेकाहरुमा निरासा बढ्दै गएको पाइन्छ । नेपालबाट केयर गिभरमा कामदार ल्याउने कम्पनीले जापान ल्याएपछि उनीहरु बस्नको लागि आवश्यक सेवा सुविधाको व्यवस्था कम्पनी आफैंले वा सहयोगी कम्पनीमार्फत गर्नेछन् । सन् २०१९ को तथ्यांक अनुसार जापानमा केयरगिभरको न्यूनतम आम्दानी १ लाख ८० हजार देखी ३ लाख जापानी येनसम्म हुने गरेको छ ।
नेपाली राजदूतावास जापानका अनुसार अन्य आधा दर्जन जापानी कम्पनीहरुले पनि नेपाली कामदार ल्याउन आवश्यक कागजात बुझाउन जानकारी लिईरहेका छन् । जापानस्थित सरकारी निकाय र रोजगारदाताहरुले नेपालमा अनुमति र प्रमाणित नगरिएका भाषा कक्षा पढाउने इन्स्टिच्युट, सिप परिक्षण केन्द्रहरुमा अदक्ष व्यक्तिबाट जापान आउन ईच्छुक युवाहरुलाई भ्रममा पारेर शोषण गर्नेकाम भईरहेको टिप्पणी गर्ने गरेका छन् । यसको नियन्त्रणको लागि नेपालस्थित सरकारी निकायले प्रभावकारी अनुगमन र कारवाही नगरेकोमा जापानी पक्ष असन्तुष्ट रहँदै आएको छ ।
जापानले सन् २०१९ मा नयाँ भिषा प्रणाली अन्र्तगत ७ देशबाट ३ लाख ४५ हजार कामदार ल्याउने घोषणा गरेको थियो । हाल देशहरुको संख्या बढेर ११ पुगेको छ भने नेपाल, पाकिस्तान, चीन, फिलिपिन्स, कम्बोडिया लगायत देशबाट केयरगिभर, कृषि, निर्माण, होटल रेष्टुरेण्ट लगायत १४ क्षेत्रमा ५ वर्षभित्रमा यि कामदार ल्याइनेछ ।
गोकर्ण अधिकारी