ग्रिसले आप्रवासीको आवेदन नलिने, टर्की हुँदै ग्रिस प्रवेश गर्न रोक

एथेन्स-ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।
प्राप्त समाचारमा यसअघि करिब १० हजार जना आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो, जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् ।
ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले ग्रिसको सीमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी गराएका छन् । उनले भने, “हाम्रो सीमातर्फ अनावश्यक रूपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ ।”
टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो । टर्कीले सिरियामा विगतका वर्षहरूदेखि जारी युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेको आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले वहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरू तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताएका थिए । गत शुक्रबार उनले ग्रिस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गरेका थिए ।
उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भीषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए । त्यसपछि उनले सो घोषणा गरेका थिए ।
टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेको बताइएको छ । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरू बस्ने गरेका बताइन्छ ।
उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रूपमा त्यहाँ पुगेका बताइएको छ ।
ग्रिस हुँदै अन्य युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई ग्रिसले रोक्ने गरेको छ । प्रधानमन्त्री मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरूको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका छन् ।
प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रिस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन् । ग्रिसको सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रिस प्रवेश गर्नबाट रोकिएको जनाएको छ ।
त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रिस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरू पनि भएका छन् । यस विषयमा भने ग्रिस सरकारले केही बताएको छैन । ग्रिसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।
त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार ग्रिसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि ग्रिसका केही भूभाग तथा विशेष गरी टापुहरूमा आप्रवासीहरू पुगेको बताइएको छ ।