जापान र अमेरिकाबीचको व्यापार युद्ध

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका र चौथो ठूलो अर्थतन्त्र भएको जापानको बीचमा विगत केही समयअगाडिदेखि व्यापार युद्ध चल्दै आएको पाइन्छ । ट्रम्पले १ सय ८५ देशका लागि अप्रिलमा घोषणा गरेको महसुल दरमा जापानलाई २४ प्रतिशत महसुल लगाउने घोषणा गरेका थिए र पछि यसलाई तीन महिनाका लागि स्थगित गरिएको र अहिले व्यापार वार्ता सफल भएकाले जापानिज कार र अन्य वस्तुमा १५ प्रतिशत भन्सार महसुल लाग्ने भएको छ । ट्रम्पले यही वर्षको जुन महिनाको ४ तारिखबाट नै विदेशबाट आयात हुने स्टिलमा ५० प्रतिशत महसुल लगाउने घोषणा गरेका थिए । अप्रिलमा ट्रम्पको महसुल घोषणा भएलगत्तै जापानले अमेरिकासँग व्यापार सम्झौता वार्ता प्रारम्भ गरेको थियो ।
अमेरिका र जापान दुवै आ–आफ्नो देशमा औद्योगीकरणका लागि संरक्षणवादी नीति अपनाउँदै आएका देशहरू हुन् । सन् १९५० को दशकमा जापान सिल्क कपडा उत्पादनमा विश्वमै नाम कहलिएको देश थियो । जापानले अमेरिका र युरोपमा रहेका स्टिल, जहाज बनाउने, सवारी साधन, रसायन र इलेक्ट्रोनिक्सजस्ता वस्तुहरूको उद्योग विकास गर्न विदेशबाट आयात गरिने यस्ता उद्योगको वस्तुमा बढी भन्सार मात्रै लगाएन कि यस्ता उद्योगलाई सरकारले कर छुट दिने र सरल ऋण उपलब्ध गराउनेजस्ता उपायहरू अपनाएर संरक्षण प्रदान गरेको थियो । जापानीहरूले राम्रो मेसिनमा कामदारको दक्षता र क्षमता विकास गर्ने र प्राविधिक अनुसन्धानमा जुन खर्च गरे, जसबाट जापानीहरूले दुई दशकको अवधिमा नै माथि उल्लिखित धेरै उद्योगमा सफलता प्राप्त गरे । अहिले ट्रम्प प्रशासन यसरी अमेरिकाले त्यतिबेला गुमाएका उद्योगलाई आफ्नो देशमा पुनरागमन गराउन चाहन्छ र यसका लागि एकसूत्रीय उपाय भनेर महसुल नीतिलाई अगाडि सारिरहेको पाइन्छ ।
जापान र अमेरिकाबीचको यो व्यापार युद्ध नयाँचाहिँ अवश्य पनि होइन । पूर्वराष्ट्रपतिहरू आइजनहावर र केनेडीले सन् १९६० को दशकमा नै जापानबाट आयात हुने कपडामा रोक लगाएका थिए भने रेगनले सन् १९८० को दशकमा जापानबाट आयात हुने सवारी साधनमा रोक लगाएका थिए । विगतमा पनि अमेरिकी अटो कारखानाहरूले जापानिज अटो कारखानाहरूसँग तीव्र प्रतिस्पर्धाको सामना गरेका थिए । यसको उदाहरणका रूपमा सन् १९८२ तिर मिचिगनमा अटो उद्योगहरू बन्द भएर बेरोजगारीको दर १५ प्रतिशत पुगेको थियो । अमेरिकाको सवारी साधनको बजारमा जापानमा निर्मित र जापानिज कम्पनीहरूले अमेरिकामा निर्माण गरेको सवारी साधनको हिस्सा सन् २००९ मै ३५ प्रतिशत पुगेको थियो ।
जापानबाट अमेरिकामा सवारी साधन निर्यात बढी भएपछि अमेरिकी सवारी साधन निर्माण गर्ने उद्योगहरू बन्द भए । सन् १९८१ देखि १९८३ सम्मका लागि जापान र अमेरिकाको बीचमा जापानी कारहरूको निर्यात सीमित गर्ने सम्झौता नै भएको थियो । सन् २०१२ मा नै अमेरिका र जापानबीचको व्यापारमा जापानको व्यापार बचत ६० अर्ब अमेरिकी डलर रहेको थियो । गत वर्ष पनि अमेरिकाको जापानसँगको व्यापार घाटा ६३ अर्ब अमेरिकी डलर रहेको थियो । गत वर्ष मात्रै अमेरिकामा १३ लाख जापानिज सवारी साधनको बिक्री भएको थियो । जापानका कार कम्पनीहरूले अमेरिकामा कम्पनीहरू खोलिसकेका छन्, जसले करिब १ लाख अमेरिकी मजदुरलाई रोजगारी उपलब्ध गराएको छ । जापान र अमेरिकाको बीचमा जापानको पक्षमा व्यापार बचत भएको देखिन्छ त्यसकारण जापान पनि ट्रम्पको फोहोरी १५ को सूचीमा पर्ने देखिन्छ ।
ट्रम्पको पहिलो कार्यकालमा पनि जापान र अमेरिकाको बीचमा समझदारी भएको थियो । जापानले अमेरिकाबाट आयात हुने गहुँ, सुँगुरको मासु र चीज तथा अन्य वस्तुहरूमा व्यापार अवरोध नगर्ने र अमेरिकाले जापानबाट आयात हुने टर्बाइन, मेसनरी औजार, साइकल र फूलमा महसुल घटाउने समझदारी भएको थियो ।
राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेपछि जापानले अमेरिकी चामल आयात गरिदेओस्, जापानी बजारमा अमेरिकी सवारी साधनहरू बढी चलून्, रक्षासम्बन्धी सामग्री र उपकरण तथा इन्धन बढी किनिदेओस् भन्ने अमेरिकाको चाहना रहिआएको छ । अमेरिकाले जापानीहरूले सवारी साधनको जुन सुरक्षा मापदण्ड अपनाएका छन्, त्यसमा पनि परिवर्तन हुनुपर्ने कुरामा जोड दिँदै आएको छ । जापानको बजारमा अमेरिकी सवारी साधन हजारको संख्यामा बिक्री हुने गर्छ, तर अमेरिकाको बजारमा जापानी सवारी साधन लाखौँमा बिक्री भएकोमा अमेरिकी अधिकारीहरू असन्तुष्ट देखिएका छन् ।
जापानको पक्षबाट दुईवटा कुरामा परिवर्तन गर्न नचाहेको देखिन्छ । पहिलो हो, उसले आफ्नो धान उत्पादनलाई दिँदै आएको संरक्षणलाई परिवर्तन गर्न नचाहेको र दोस्रो भनेको जापानीहरूले सानो र जापानमै बनेको कार चलाउन मन पराउने हुनाले अमेरिकामा बनेको सवारी साधन उनीहरूले त्यति रुचाउने गरेको देखिँदैन । जापानले आफ्नो धान उत्पादनलाई संरक्षण गर्न विदेशबाट आयात हुने चामलमा प्रतिकेजी २.३८ डलरको भन्सार महसुल लगाउँदै आएको छ । युरोप र अमेरिकामा जस्तै जापानमा पनि धान कृषकहरू राजनीतिक रूपले शक्तिशाली मानिन्छन् । सन् १९९२ मा पनि क्यालिफोर्नियाबाट धान आयात गर्ने सम्बन्धमा जापानको कृषि मन्त्रालय र परराष्ट्र मन्त्रालयको बीचमा विवाद भएको थियो । न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार जापानले ७ लाख ७० हजार टन चामललाई महसुलबिना आयात गर्न पाउने चामलको श्रेणीमा रोखेको थियो र त्यसमध्ये सन् २०२४ मा अमेरिकाबाट मात्र जापानले आधाजस्तो चामल आयात गरेको थियो ।
अमेरिकाले जापानमा कृषिजन्य वस्तु र हातहतियार निर्यात गरेको देखिन्छ भने जापानले अमेरिकामा सवारी साधन, त्यसका पार्टपुर्जा, मेसिनरी औजार उपकरण र स्टिल निर्यात गरेको देखिन्छ । सन् २०२२ को तुलनामा अहिले आएर हातहतियारको आयातमा कमी आएको छ, जसले गर्दा अमेरिकी पक्ष असन्तुष्ट रहेको देखिन्छ । ट्रम्पको महसुल नीतिले सवारी साधन, त्यसका पार्टपुर्जा र स्टिल उद्योग बढी प्रभावित भएका छन् र यही वर्षको जुन महिनामा स्टिल र आल्मुनियममा गरेको महसुल वृद्धिले सवारी साधन र स्टिल कारखानाहरू बढी प्रभावित भएका छन् । ट्रम्पको महसुल नीतिले गर्दा जापान र अमेरिकाको वैदेशिक व्यापारको आयतन नै घटेको पाइन्छ ।
ट्रम्पले तोकेको अर्को अन्तिम मिति अगस्ट १ भन्दा अगाडि नै जापान र अमेरिकाको बीचमा समझदारी भएकाले अब जापानले अप्रिलमा घोषणा भएको महसुल सामना गर्नु नपर्ने भएको छ । यो समझदारीअनुसार अमेरिकाले जापानी कारको आयातमा कुनै सीमा तोक्नेछैन र कारको आयातमा लाग्ने महसुललाई २५ प्रतिशतबाट १५ मा झारिएको छ र यसको बदलास्वरूप जापानीहरूले अमेरिकामा ५ सय ५० अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने, अमेरिकी कृषि वस्तु र कारलार्ई जापानी बजारमा सहज पहुँच दिनुपर्ने उल्लेख गरिएको छ । यो समझदारीमा डिजिटल ट्रेडको सम्बन्धमा समझदारी भएको छ, जसअन्तर्गत अमेरिका र जापानले डिटिल डाटाहरू एक–आपसमा आदानप्रदान गर्न सक्नेछन् । यसले करलगायत अन्य धेरै विषयलाई प्रभाव पार्ने देखिन्छ ।
दुई ठूला अर्थतन्त्रबीच भएको यो समझदारीले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव एकातिर पर्छ भने अर्कातिर यसले उम्लिन लागेको जापान र अमेरिकाबीचका व्यापार युद्ध केही हदसम्म मत्थर हुने आशा गर्न सकिन्छ ।