Logo

लिखु–४ जलविद्युत्को ठेक्का रद्ध

५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडले ठेकेदार कम्पनीसँगको सम्झौता रद्ध गरेको छ । रामेछापमा निर्माण गर्न लागेको आयोजनाले इटाली ठेकेदार कम्पनी कोपेरेटिभा मुराटोरी एण्ड सिमेष्टिटी सीएमसीडी रभेनासँगको सम्झौता रद्ध गरेको हो । २४ नोभेम्बर २०१७ अर्थात् करिब साढे ३ महिनाअघि मात्र ग्रिन भेन्चर्सले इटाली कम्पनीसँग सुरुङ मार्ग, विद्युत्गृह लगायतका सिभिल र हाइड्रो मेकानिकलको ठेक्का इटाली कम्पनीलाई दिएको थियो ।
कार्यतालिका अनुसार काम नगरेपछि आयोजनाले इटाली कम्पनीसँगको सम्झौता रद्ध गरेको परियोजना विकास प्रबन्धक बद्री रिजालले जानकारी दिए । “कार्यतालिका अनुसार समयभित्र काम नगरेपछि ३० महिनाका लागि गरिएको सम्झौता रद्ध गरिएको हो, अब नयाँ प्रक्रियाअनुसार ठेकेदार चयन हुन्छ,” उनले भने । सन् २०२० को जुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ९ अर्ब ५४ करोड बराबर छ । ठेकेदार कम्पनीले आयोजना निर्माणमा ढिलाइ गरेपछि आयोजना समयमै सम्पन्न हुन कठिनाइ देखिएपछि आयोजनाले ठेक्का रद्ध गरेको हो । सम्झौताअनुसार काममा अतिसुस्तता देखिएपछि र यसले निर्माणमा समेत असर पर्ने देखिएकाले सम्झौता रद्ध गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्