साल्ट ट्रेडिङले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय कर्पोरेसनले गरेको हो ।
कर्पाेरेसनको मंगलबार भएको ५१ औं साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साल्ट ट्रेडिङले गत आर्थिक वर्ष ८ अर्ब ५८ करोडको कारोबार गर्दै ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७५ करोड रुपैयाँ बढी हो । कारोबार कम भएका कारण साल्ट ट्रेडिङको मुनाफा आर्थिक वर्ष ०७२-७३ मा ६१ करोड २४ लाखमा सीमित थियो । साल्ट ट्रेडिङले उपभोक्तालाई सर्वसुलभ रूपमा खाद्य पदार्थ र नुनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको छ ।
यसैगरी कर्पोरेसनले पेट्रोल पम्पसमेत सञ्चालन गर्ने भएको छ । काठमाडौंलगायत मुख्य सहरमा पेट्रोलियम पदार्थको कारोबारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्नेसमेत कर्पोरेसनले जानकारी दिएको छ । कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले कर्पोरेसनको पुँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार सुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिइन । पम्प सञ्चालन गर्ने तयारी गरे पनि निगमबाट अनुमति दिन ढिलाइ हुँदा काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।
कर्पोरेसनले आयोडिनयुक्त नुनको शतप्रतिशत पहुँचलाई उच्चप्राथमिता दिएको जनाएको छ । पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नुनको प्रयोग गर्छन् ।
उपभोक्ताहरु विस्तारै विद्युतीय सवारीसाधनतिर आकर्षित भएको र सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिएका कारण चार्जिङ स्टेसन निर्माणको काम अगाडि बढाउन लागेको भन्दै श्रेष्ठले चार्जिङ स्टेसन निर्माण गर्न अध्ययन गरिरहेको बताइन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पोरेसनले चालू आवको माघ मसान्तसम्म ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । गत वर्षको सोही अवधिमा ५ अर्ब ४१ करोडको कारोबार भएको थियो । चालू आवमा कर्पोरेसनले १० अर्ब रुपैयाँ बराबरको करोवार गर्ने लक्ष्य राखेको छ । कर्पोरेसनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कृषि विकास मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ । उपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरणको कामलाई विस्तार गदै जाने कर्पाेरेसनले जनाएको छ ।